२३ असार, काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, उच्च-पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
Advertisement
मनसुनी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा छ भने ठूला-साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


+ There are no comments
Add yours