१६ असार, काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार उत्पादक टेस्लाले विश्वमै पहिलो पटक बिना ड्राइभर कार डेलिभरी गरेको छ ।
टेस्लाले मोडल वाई कार एक ग्राहकलाई चालक बिनै उनको घरसम्म डेलिभरी दिएको हो ।
टेस्लाले गत साता टेक्सासको अस्टिनमा सेल्फ डाइभिङ ट्याक्सी संचालनमा ल्याएको थियो । अहिले उक्त रोबो ट्याक्सी ग्राहकलाई डेलिभरी गरेको हो ।
टेस्लाका मालिक एलन मस्कको कम्पनी टेस्लाले अटोनोमस इन्डष्ट्रीमै पहिलो पटक यस्ता डेलिभरी दिएको दाबी गरेको हो ।
टेस्लाले यो अटोनामस डेलिभरीको भिडियो सामाजिक संजाल एक्समा पोष्ट गरेको छ । यो भिडियोमा टेस्लाको मोडल वाई चल्तीको सडकमा ट्राफिक लाइट, अन्य कारहरू र पैदल यात्रुको चालअनुसार आफैं निर्णय लिएको देखिएको छ । कार सिग्नलमा रोकिन्छ र बाटो खाली भएपछि आफैं गुडेको थियो ।
टेस्लाले यो डेलिभरी पनि अमेरिकाको टेक्सास सहरमा गरेको हो । टेस्लाको गिगा फ्याक्ट्रीबाट निस्किएको यो कार अधिकतम ११६ किलोमिटर प्रतिघण्टाको स्पीडसम्म गुडेको थियो । अटोपाइलट मोडमा चलेको यो कारले हाइवे, सहरी सडक, पार्किङ एरिया सफलतापूर्वक पार गरेको थियो ।
टेस्लाको अटोपायलट प्रमुख अशोक एलुस्वामीले दिएको जानकारी अनुसार यो यात्रा पूरा सुरक्षित र मानवीय हस्तक्षेप बिना भएको थियो ।
+ There are no comments
Add yours