सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी सम्मेलनमा सिरियामाथि लगाइएका प्रतिबन्धहरू हटाउने घोषणा गरेका छन्।

ट्रम्पको यस निर्णयलाई सिरियाका परराष्ट्रमन्त्री असद हसन अल-शबानीले देशको पुनर्निर्माणतर्फको यात्रामा एक नयाँ सुरुआतको रूपमा व्याख्या गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘साउदी अरबको नेतृत्वमा हाम्रा दाजुभाइहरूको समर्थनप्रति आभार व्यक्त गर्छौं। हामी अहिले सिरियाली जनताको योग्य भविष्यतर्फ एक नयाँ अध्याय सुरु गर्दैछौं।’

बीबीसीका अनुसार ट्रम्पको घोषणापछि सिरियाको राजधानी दमास्कसमा उत्सवको माहोल बनेको छ।

राजधानी दमास्कसमा मानिसहरू उत्सव मनाइरहेका छन् र हवाई फायरिङको आवाज सुनिन्छ।

सिरियामा बशर अल-असदले लगभग २५ वर्षसम्म कठोरतापूर्वक शासन गरेका थिए, र पश्चिमी मुलुकहरू सहित धेरै देशहरूले उनको आलोचना गर्दै आएका थिए।

तर गत वर्ष नोभेम्बरमा हयात तहरीर अल-शामको नेतृत्वमा रहेका विद्रोहीहरूले असद सरकारलाई अपदस्थ गरे र देशको नियन्त्रण लिएका थिए।

बशर अल-असद सत्ताबाट हटाइएपछि अल-शामका प्रमुख अबु मोहम्मद अल जुलानी भनेर चिनिने अहमद अल-शराले देशको नेतृत्व सम्हालिरहेका छन्।

सिरियाको अर्थतन्त्र अझै पनि अत्यन्तै कमजोर अवस्थामा छ । सिरियाले अल-असद शासनअन्तर्गतको ५४ वर्ष लामो दमन र यातनापछि पुनः उभिन संघर्ष गरिरहेको छ। सत्तान्तरण अपेक्षाभन्दा शान्तिपूर्ण देखिएको भए तापनि केही कठिनाइहरू भने अझै रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आजै ट्रम्पले सिरियाली राष्ट्रपति अहमद अल-शराअसँग भेट गरेका छन्। यो अमेरिका र सिरियाबीचको २५ वर्षयताको पहिलो शीर्ष स्तरीय भेट हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours