०६कार्तिक, चितवन । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ।
यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो।
एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो। उनले भने, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ।” असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरुमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको हो। सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन्।
सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो। उनीहरुलाई अहिले नियमित औषधि सेवन गराइएको उनले जानकारी दिए। क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ। क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उनले बताए।
फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन्। उनीहरुमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन्। सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले बताए। उनले भने, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो।”
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन्। नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उनले बताए। बाह्र जना सङ्क्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिए।
+ There are no comments
Add yours