२४ भदाै, काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् ।
उनले सरकारले इथानोल मिश्रणको नियामवली समेत बनिसकेको जानकारी दिएका छन् । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ,’ मन्त्री भण्डारीले भने, ‘अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिनाभित्र टुंग्याउछौं ।’
उनले इथानोल मिश्रणका कामलाई अघि बढाउन सरकारले नेपाल आयल निगमलाई नीतिगत व्यवस्था मिलाउने निर्देशन दिइसकेको उनले बताए । इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने अवस्था रहेको उनको भनाइ छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । उनले यसअघि सरकारले २०६० सालमै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको योजना बने पनि विभिन्न कारणले कार्यान्वयनमा ढिलाइ भएको बताए ।
उनले इथानोल मिश्रणको कार्यविधि बनाउन उद्योग विभागले स्वीकृति दिइसकेको जानकारी दिए । ‘अब केही समयमै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइन्स होइन,’ उनले भने, ‘इथानोल प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धन खपत घटाउन सहयोग पुग्छ ।’
उनले अहिले धेरै उद्योगहरू इथानोल उत्पादन गर्न तयार रहेको बताए । २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लाण्ट निर्माण गर्न सकिने उनको भनाइ छ ।
नेपाल जस्तो पेट्रोलियम पदार्थ उत्पादन नहुने देशले इथानोल उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘राज्यले नीति बनाइसकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौं,’ उनले भने ।
‘लडहका भरमा इथानोल मिसाउनु हुँदैन’
कियान केमिकल विज्ञ दिनेश पौडेलले विस्तृत अध्ययन नगरी लडहका भरमा पेट्रोलियम पद्धार्थमा इथानोल मिसाउन नहुने बताए । उनले सरकारले २०६० सालमै पेट्रोलियम पद्धार्थमा इथानोल मिसाउन सकिने व्यवस्था गरे पनि कागजै सीमित भएको बताए ।
‘इथानोलको उत्पादन सम्भावना के हो ? यो नेपालमै उत्पादन गर्न सकिन्छ कि सकिँदैन ?, उनले प्रश्न गरे, ‘फेरि उत्पादन भएपछि पनि बजारको माग धान्न सक्छ कि सक्दैन ?’
+ There are no comments
Add yours