Advertisement

सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह

0 11

Advertisement

०४ चैत्र, कठमाडौं । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरुले खानेपानीको संकट समाधानको लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरुले सन्ततिको भागको पानी जोगाउन सबैलाई आग्रह गरेका छन् ।

यही चैत्र ५ र ६ गते राजधानीमा हुन लागेको “बर्षातको पानी संकलन र व्यवस्थापन” विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खानेपानी विज्ञहरुले यस्तो आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा सम्मेलन आयोजक समितिको सल्लाहकार समितिका अध्यक्ष गणेश साहले भन्नुभयो,”हामीले त सन्ततिको भागको पानी पनि खाइसक्यौ । जमिनमुनिको पानी तानेर खाइसक्यौ । खोला नदी प्रदूषित गर्यौ । ताल पोखरी पुरिदैं गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अहिल पानीको किफायती उपयोग गरौं।  जो जहाँ छौ, पानीको संचितिका उपाय खोजौ ।”

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष तथा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष इञ्जिनियर रामदीप साहले बर्षातको पानीको पानीको महत्व, आसन्न सम्मेलनको उद्देश्य, सहभागिता र अपेक्षित उपलब्धि बारे जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार पानी जीवनको लागि अत्यावश्यक पदार्थ हो । जहाँ पानी प्रचुर मात्रामा उपलब्ध छ, त्यहाँ मानव सभ्यता फक्रदै गइरहेको छ । भौतिक र औद्योगिक विकास बढ्दै गइरहेका छन् । जहाँ पानीको अभाव छ, ती स्थानहरु भौतिक र मानवीय विकासको सूचकांकमा पछि परेका छन् । त्यहाँका बासिन्दाहरु बसाईँ सरिरहेका छन् ।

उहाँले मानिसका हरेक क्रियाकलाप र विकास गतिविधि पानीसंग अभिन्न रुपमा जोडिएको उल्लेख गर्दै भन्नुभयो,” पानी बहुउपयोगी पनि छ तर यस्तो अत्यावश्यक पानी संसारभर समान रुपमा उपलब्ध छैन् । जलवायु परिवर्तनका कारण बर्षाको प्रवृत्तिमा आएको परिवर्तनले भैरहेका पानीका स्रोतहरुमा पनि प्रतिकुल असर परिरहेको छ । पानीका मूलहरु सुक्दै गएका छन् । हिउँ पग्लने गति बढिरहेको छ । एक अनुमानमा सन २०५० सम्म विश्वका ५ अर्ब ७० करोड मानिसहरुले बर्षमा एक महिना खानेपानीको पनि अभावको सामना गर्नुपर्ने उल्लेख छ ।”

अध्यक्ष साहले जलवायु परिवर्तनका कारण संसारभर बर्षाको प्रवृत्ति परिवर्तन भएर अनावृष्टि छ त कतै अतिवृष्टि र कतै खण्डवृष्टिको अवस्था सिर्जना भएको बताउनुभयो । अतिवृष्टिका कारण पूर्वानुमान नगरिएका क्षेत्रमा आउने पहिरो र बाढीका कारण बर्षेनी जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकातिर पानीको अभाव हुन नदिन हामीले आफूलाई बर्षभरि चाहिने पानीको जोहो गर्न व्यक्तिगत र सामुहिक रुपमा सोच्नु परेको छ । पारिवारिक, सामूदायिक,  पालिकास्तरीय, प्रदेशस्तरीय र राष्ट्रिय योजना बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो छ । अर्कोतिर, अधिक बर्षाका कारण हुने प्रकोप नियन्त्रणका लागि त्यतिकै तदारुकता अपनाउन जरुरी पनि देखिएको छ ।”

बढ्दै गएको पानीको अभाव र अधिक बर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रा.लि.ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंगको सहयोग र समन्वयमा यही चैत्र ५ र ६ गते राजधानी काठमाडौंमा “बर्षातको पानी संकलन र व्यवस्थापनः सबल जलसुरक्षा र जलवायु उत्थानशीलताको लागि” विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

सम्मेलनमा यस क्षेत्रमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विज्ञ र वैज्ञानिकहरु, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्याथीहरु, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगीहरु, आम नागरिकलाई खानेपानी र सिंचाईका लागि पानी आपूर्ति गर्न अग्रसर जनप्रतिनिधिहरु, खानेपानी तथा सिंचाई उपभोक्ता समितिका प्रतिनिधिहरु र पानीको आपूर्तिका बारेमा आमनागरिकलाई सन्देश पु¥याउदै आउनुभएका सञ्चारकर्मीहरुको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा प्राविधिक समितिका अध्यक्ष  एवम्  नाष्टका पूर्व उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सम्मेलनको प्राविधिक पक्षमा प्रकाश पार्नुभएको थियो । यस सम्मेलनमा २ वटा प्लेनरी सेसन, ५ वटा प्राविधिक सेसन तथा २ वटा प्यानल डिस्कसन सेसन डिजाइन गरिएको छ । यस सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरुबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन अवधिमा यस क्षेत्रमा आएका नवीनतम् प्रविधिहरुको प्रदर्शनी पनि हुने छ ।

सम्मेलनमा बर्षातको पानी संकलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा बर्षाको पानीको उपयोगीता,बर्षाको पानी संकलनका क्षेत्रमा विकसित नयाँ प्रविधि र समाधानहरु, पानीको गुणस्तर र जनस्वास्थ्य, अनुसन्धान र विकास, साझेदारी समन्वय र लय निर्माण, बर्षाको पानी संकलन र कृषिका साथै बर्षाको पानी र पानीजन्य प्रकोपका सेरोफेरोमा रही विषय विज्ञहरुद्धारा अनुसन्धानमा आधारित कार्यपत्रहरु पेश गरिनेछन् । कार्यपत्रहरु आयोजक समितिलाई प्राप्त भैसकेका छन् । तिनको सारसंक्षेप प्रकाशित पनि भैसकेको छ । सम्मेलनका विभिन्न शत्रमा तिनमाथि छलफल गरेर परिष्कार गरिने छ । यस क्षेत्रका विभिन्न देशका विभिन्न क्षेत्रमा अपनाइएका उत्तम अभ्यासहरुको अनुभव आदानप्रदान हुने छ । चैत्र ६ गते समापन शत्रमा काठमाडौं घोषणा पत्र जारी गरिनेछ ।

पत्रकार सम्मेलनमा इन्टरनेशनल रेन वाटर हार्भेष्टिड. एलायन्सका अध्यक्ष हान हाइजनले बर्षातको पानीलाई उपयुक्त समयमा उपयुक्त स्थानमा संकलन गरेर मानवीय आवश्यकता पूरा गर्न सकिने बताउनुभएको थियो ।

यस क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पूर्वमन्त्री ई.गणेश साहको अध्यक्षतामा पाँच सदस्यीय सल्लाहकार समिति, स्मार्टवासका अध्यक्ष ई.रामदीप साहको अध्यक्षतामा आयोजक तथा व्यस्थापन समिति र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)का पूर्व उपकुलपति डा.सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा प्राविधिक समिति बनाएर व्यवस्थित रुपमा काम हुँदै आएको छ ।
स्मार्ट वास सोलुसन्स र नेदरल्याण्ड्स विकास सहयोग संस्था(एसएनभी)ले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा यो सम्मेलन गर्न लागिरहेका छन् । यस सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ  रहेका छन् भने युनिसेफ, विश्व स्वास्थ्य संगठन,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नगर विकास कोष, वायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भायरोमेन्ट, र बेष्ट पानीले सम्मेलनलाई सहयोग गरेका छन् । यस अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा शहरी विकास मन्त्रालयले संरक्षकत्व प्रदान गरेकोे छ ।

स्मार्ट वास सोलुसन्स प्रा.लि. खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्नका लागि यस क्षेत्रका विज्ञहरुद्धारा स्थापना गरिएको संस्था हो । यसले स्थापनाकालदेखि नै खानेपानी तथा सरसफाईका क्षेत्रमा देखिएका समस्याहरुलाई नवीनतम् प्रविधिमार्फत समाधान गर्न यस क्षेत्रमा कार्यरत संघ,संस्था र उपभोक्ता समितिहरुलाई सहजीकरण गर्दै आइरहेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग नेपालमा खानेपानी र ढल निकासको काम गर्ने सरकारको आधिकारिक विभाग हो । यो खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गत रहेको छ । नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्स भने बर्षाको पानी संकलन र व्यवस्थापनमा काम गर्न नेपालमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरुको समूह हो ।

बर्षातको पानीे संकलन र व्यवस्थापनका धेरै फाइदा छन् । यो सित्तैमा पाइन्छ । घरघरमा उपलब्ध हुन्छ । यसको सही उपयोग गर्न सके घरेलु आवश्यकता पूरा गर्न सकिन्छ । विद्यालय र अस्पताल एवम् स्वास्थ्य केन्द्रजस्ता खानेपानी र सरसफाईमा अधिक पानी चाहिने स्थानमा यो वरदान नै सावित भैरहेको छ । यसको समुचित उपयोगबाट जमिनमुनिको पानी पुनर्भरणमा गर्न सकिन्छ । सार्वजनिक क्षेत्रमा पोखरी वा बाँध बनाएर पानीका स्रोत पुनर्भरण, स्थानीय सौन्दर्यीकरण, कृषि उपयोगका अतिरिक्त पहिरो र बाढी जन्य प्राकृतिक प्रकोपबाट जोगाउन सकिन्छ    ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.