Advertisement

टिकटक बन्द भएर के भो ? एआईको कमाल!

0 59

Advertisement

१९ मंसिर, काठमाडौं । टिकटक बन्द भएर के भो ? फेसबुक त बन्द भएको छैन नि । फेसबुक हुँदासम्म समय कटाउन गाह्रो छैन । फेसबुकमा त कसैकसैले सिर्जनशील काम पनि गर्छन् । उनीहरूको सिर्जनाले धेरैलाई लोभ्याउँछ । कल्पना गरेर बनाएका सिर्जना पनि कसैकसैलाई साँच्चै हो कि जस्तो लाग्छ । हिजोआज फेसबुकमा यस्तै सिर्जना छताछुल्ल भएका छन् । एआई अर्थात कृत्रिम बुद्धि । मान्छेका मात्रै बुद्धिले यत्रो सन्सार धान्न सकेन । त्यसैले आफूभन्दा पनि धेरै बुद्धि भएको कुरा खोज्ने भाउँतो मान्छेलाई आइलाग्यो । मान्छेको बोली बुझ्ने, अनुहार चिन्ने र मालिकको अह्रन खटन मानेर भनेको काम गर्ने कृत्रिम बुद्धि भएको एआई अहिले सर्वाधिक चर्चामा छ ।

कृत्रिम बुद्धि अर्थात् एआई आएपछि काम र प्रविधिमा उथलपुथल आएको छ । कसैलाई हुनसम्म सजिलो बनाएको छ, कसैलाई हदैसम्म अप्ठ्यारो । एआईकै कारण कतिपयको जागिर गुम्यो । विश्वका अरू ठाउँमा एआईले के के गर्‍याे र अझै के के गर्छ भन्ने लम्बेतान मेलोमा नपसौँ । हामीलाई कल्पनामा रम्ने बानी छ, त्यसैले हाम्रै देशमा देखिएका केही कुरा सम्झेर एआईले गर्न सक्ने कामको कल्पना गरेर अर्कै संसारमा पुगौँ है त ?

अलि पहिले टिकटकमा केपी ओलीको गीत सुनियो । त्यसपछि नरेन्द्र मोदी र प्रचण्डको स्वर मिसिएको गीत बज्यो । कति मिठो स्वर ! गायकको भन्दा पनि सुमधुर आवाज । भाषण र गफ गर्न जान्ने नेताले गीत पनि गाउन सक्ने भएपछि गीतसङ्गीतको आनन्द लिन कलाकारको मात्रै भर पर्नै परेन । यसै पनि हाँस्यव्यङ्ग्य कलाकारहरूले भन्दा बढी हँसाउन सक्ने क्षमता बनाएका नेताहरूले अब गीत पनि गाएर मनोरञ्जन दिने भए । गज्जब नै हुने भयो । नेताहरूको स्वर मिसिएको गीत सुन्न पाउने कल्पना गर्दागदै टिकटक बन्द भयो । त्यसपछि एआईका चमत्कार फेसबुकमा देखिन थाले । कोही मान्छेभन्दा ठूलो कित्लीमा भकभक उम्लेको चिया बोकेर उस्तै ठूलो गिलासमा खन्याइरहेका । कोही रक्सी पिएझैँ गरी चियाको चियर्समा रमाइरहेका । जिन्दगीका अरू सबै आवश्यकता पूरा भएर त्यही चियाको आनन्द मात्रै बाँकी भएजस्तो । कोही मःमको डल्ला बोकेर कुदिरहेका । कोही जहाजै बोकेर विदेशबाट फर्किएका । शहरभन्दा सुविधा सम्पन्न गाउँ । सुन फल्ने खेतबारी । हराभरा बालीनालीको बीचमा पनि घाँस मात्रै खान जानेका गाईभैँसी । अञ्जुलीले पानी उघाएर पिउन मिल्ने खोलानाला । सुन्दर गाउँबस्ती । जताततै सुख र समृद्धि । पुगिसरी आनन्दसँग बसेका मान्छे । एआईले त कमाल गर्दो रहेछ । जस्तो भन्यो त्यस्तै फोटो बनाउँदो रहेछ । एआईले फोटो त यति राम्रो बनाउँछ भने अरू काम झन् कस्तो गर्छ होला ?

यस्तो जाडोमा भात पकाउन मात्रै होइन, खान पनि अल्छी लाग्ने । एआईलाई मिठो भात पका र मलाई खान दे भन्ने अनि कोठाभित्र घाम नछिरेसम्म सुतिरहने ।

कामधन्दा र जागिर पनि कति गर्नु ? एआईलाई नै काम गर्न र जागिर खान जा भन्ने । काम गरेर कमाएको पैसा चाहिँ आफ्नो खल्तीमा हाल्न लगाउने । पैसा पनि किन थोरै माग्ने ? बिटाका बिटा नोट मगाउने, गन्न अल्छी लाग्यो भनेर एआईलाई नै गन्न लगाउने ।

एआईले जे भन्यो त्यही मान्ने भएपछि आफू दुःख र अभावमा किन बाँचिरहने ? एआईलाई भनेर मन परेको ठाउँमा भव्य महल बनाउने । आनन्दले बस्ने, रमाउने ।

जसो गर भन्यो उसै गर्ने एआई भएपछि नेताहरूलाई झनै सजिलो । मिसन ०८४ भनेर चार वर्षको तयारी अहिलेदेखि नै गर्नुपरेको छ । कहिले यता दौडनु परेको छ, कहिले उता भ्याउनु परेको छ । बेला न कुबेला मध्यावधि भन्दै बर्बराउनुपरेको छ । कसैलाई गठबन्धन भत्किएला कि भन्ने चिन्ता छ । बल्लतल्ल मिलेको कुर्सी हल्लने हो कि भन्ने डर छ । कसैलाई चाहिँ उसले मात्रै खाइरहने हो कि भन्ने छटपटी छ । एआईकाे जमानामा यस्तो चिन्ता र छटपटीमा कति बस्ने ? एआईलाई भनेर अहिले नै २०८४ अगाडि सार्न लगाउने । चुनाव पनि किन गरिरहन पर्‍याे र ? एआईलाई नै भनेर आफ्नै पक्षमा बहुमत जुटाउने । आफूले जे जे सोचेको छ, त्यही त्यही पूरा गर्ने ।

सरकार र दलहरूले केही गरेनन्, भूकम्प पीडितको व्यथा नै बुझेनन् भनेर सबै आलोचना मात्रै गर्छन् । यस्तो आलोचना कति सुन्ने ? कति सहने ? एआईलाई नै भूकम्प पीडितको घर बनाउन लगाउने । भविष्यमा भूकम्प आउन सक्ने जमिनका चिरा, प्वाल सबै टाल्न भन्ने । पूर्व–पश्चिम रेल पनि एआईले नै कुदाउँछ । नदी खोलादेखि बर्खे खहरामा ठूल्ठूला पानी जहाज पनि एआईले नै चलाउँछ । सडक चिल्ला र फराकिला एआईले नै बनाउँछ । मेलम्चीको पानी पनि एआईले नै ल्याउँछ । देश विकासका लागि जे जे गर्नुपर्ने हो, त्यो सबै एआईले नै गर्छ ।

सबैथोक एआईले नै गर्न सक्ने भएपछि यस्ता कल्पना गर्न चाहिँ तपाईँ र मैले किन टाउको दुखाउने ? बाँकी कल्पनामा रमाउने जिम्मा पनि एआईलाई नै छोड्दिउँ न !



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.