Advertisement

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

0 9

Advertisement

१३ मंसिर, काठमाडौं । २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ ।

दुई वर्षअघिकोे मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो ।

पानी ल्याउन अझै पनि समय लाग्ने

सुरुङमार्ग सारेपछि मात्र स्थायी समाधान निस्किने जिकिर गरिए पनि सोको निर्माण गर्न चार वर्ष लाग्ने भएपछि यसपालि पनि अस्थायी रूपमा पानी ल्याउने तयारी मेलम्ची खानेपानी आयोजनाको रहेको छ ।

बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानीको मर्मत सक्न डेढ महिना लाग्ने भएपछि पानी आउन समय लाग्ने भएको हो । यद्यपि, खानेपानीमन्त्री महिन्द्र राय यादवले भने मर्मत सम्भार भई नै रहने र अस्थायी रूपमा भए पनि यसै महिनाभित्र पानी ल्याउने बताए ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले पनि अस्थायी रूपमा भए पनि पुनः पानी ल्याउने तयारी भइरहेको जनाएको छ ।

१५ चैत २०७८ मा पूरै काम नसकिँदै उद्घाटनको होडबाजी गर्दै पहिलोपटक काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो । तत्कालीन खानेपानीमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतले विभिन्न समयमा विभिन्न नाम दिई ताम्रपत्रमा नाम राख्ने होडका साथ पानी ल्याइएको थियो । सोही वर्षको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्दा काठमाडौंवासीको मेलम्ची खानेपानीको सपनामा ब्रेक लागेको थियो ।

तत्पश्चात् ११ वैशाख २०७९ मा अस्थायी रूपमा फेरि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । बाढीबाट क्षति हुन नदिन भन्दै १७ जेठ २०७९ मा बन्द गरिएको पानी वितरण २३ मंसिरदेखि पुनः सुरु गरिएको थियो ।

वर्षामा हुने क्षतिलाई दृष्टिगत गरी गत जेठदेखि बन्द गरिएको खानेपानी मंसिर महिनामा पनि आउने हो कि होइन भन्ने निक्र्योल हुन सकेको छैन । गत २७ र २८ साउनमा आएको बाढीले पुनः क्षति पुगेपछि अन्योलता बढेकोे हो ।

बहुचर्चित मेलम्चीमा आएको बाढीका कारण क्षतिग्रस्त ठाउँसम्म पुग्ने सडक पनि नभएकाले पानी आउनेमा अन्योलता थपिएको हो । यद्यपि, दुई सातादेखि अस्थायी सडक निर्माणको काम भने थालिएको छ । सडक बनाउन मात्रै पनि एक महिना लाग्ने भनाइ आयोजनाको रहेको छ ।

बाढीले यस वर्ष क्षति पुगेको सुरुङमार्गको माटो तथा बालुवा पन्छाउन मात्रै १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एसियाली विकास बैंक (एडीबी)ले गरेको अध्ययनअनुसार आयोजना सुरुङको मुहान करिब ५ सय मिटर सार्नुपर्ने औंल्याइएको छ । यसो गरे मात्रै स्थायी समाधान हुने तर्क एडीबीको छ । यसअघि अस्थायी रूपमा पानी ल्याउन बनाइएको २ सय १० मिटर लामो सुरुङमा ढुंगा र गेग्रानहरू भरिएपछि पुरिएको पुरानो मुहानबाट अझै माथि नयाँ मुहान बनाउन प्रस्ताव गरिएको हो ।

हेडवक्र्स र सुरुङ सार्ने विषयमा सरकारले निर्णय गरेपछि मात्र स्थायी समाधानका लागि काम हुने बताइएको छ । हेडवक्र्स सार्न तीन वर्ष लाग्ने भएकाले तत्काल केही नगर्ने पक्षमा सरकार रहेको छ । डीपीआर निर्माण गर्न परामर्शदाता चयन गरी टेन्डर गर्न समय लाग्ने भएकाले अहिलेका लागि अस्थायी समाधानले काम चलाउने तयारी सरकारले गरेको छ ।

खानेपानी मन्त्रालयले कात्तिक महिनादेखि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आउने जनाएको थियो । अहिले काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । हाल विभिन्न स्रोतबाट दैनिक १५ देखि १६ करोड लिटर पानी आपूर्ति गरिँदै आएको छ । पुसदेखि भने दैनिक १०–११ करोड लिटर मात्रै आपूर्ति हुन्छ ।

मेलम्चीको थुनिएको सुरुङमार्ग खोल्नका लागि १५ करोड बजेट विनियोजन गर्न खानेपानीमन्त्री महेन्द्र राय यादवले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका थिए ।

खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक भएको बताए ।

मेलम्ची खानेपानी आयोजनाका लागि करिब १ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । मुख्य आयोजनामा ६० अर्ब, सुरुङ, सडक र अन्य पूर्वाधार निर्माणका लागि ३० अर्ब ६५ करोड अनि काठमाडौं उपत्यकाभित्र वितरण सञ्जाल र पानी पोखरी निर्माणका लागि थप ३० अर्ब खर्च भएको बताइएको छ ।

गत वर्ष अस्थायी संरचना बनाउन पनि आयोजनाले ७ करोड रुपैयाँ खर्च गरेको थियो । यसपटक ढुंगा र गेग्रान पन्छाएर संरचना मर्मतका लागि करिब १५ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.