Advertisement

अन्नपूर्ण क्षेत्रका व्यावसायी भन्छन्ः कोरोनापछि सबैभन्दा बढी पाहुना यो सिजनमा

0 37

Advertisement

०२ मंसिर, काठमाडौं । अन्नपूर्ण फेरो पदमार्गमा पर्ने मनाङका होटलको अकुपेन्सी अहिले पनि ७० प्रतिशत हाराहारीमा छ। केहीदिन अघिसम्म सतप्रतिशत रहेको अकुपेन्सी चिसो बढ्दै जान थालेसँगै बिस्तारै घट्न थालेको त्यहाँका व्यावसायीले बताएका छन्। तर, मूख्य सिजनमा विदेशी पाहुनाको आगमन भने उत्साहजनक रहेको त्यहाँका व्यावसायीले बताए।  

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र बिस्तारै गति लिने क्रममा छ। अहिलेको सिजनको पाहुना आगमनले पदयात्रा क्षेत्र उत्साही बनेको त्यहाँका व्यावसायीले बताएका छन्। अन्नपूर्ण फेरोको पदयात्रामा पर्ने मनाङका पर्यटन व्यावसायी बिनोद गुरुङका अनुसार अहिलेको अक्टोबर महिनाभर मनाङका होटलको अकुपेन्सी सतप्रशित थियो। अहिले ७० प्रतिशत हाराहारीमा झरेको छ।

‘कोरोना भाइरस संक्रमण अघिको जस्तै उत्साहजनक आगमन यो सिजनमा रह्यो। कोरोना संक्रमण सुरु भएपछिको यो सिजन नै सबैभन्दा बढी उत्साहजनक रह्यो,’ गुरुङले भने, ‘अब बिस्तारै अफसिजनको सुरुवात भएकोले पाहुना घट्न थालेका हुन्। नत्र आगमन उत्साहजनक थियो। यसले व्यावसायीलाई खुसी बनाएको छ।’ विदेशीसँगै आन्तरिक पाहुना पनि थपिँदा यो पटक फेरोको पर्यटन क्षेत्र निकै नै चम्किएको उनले बताए।  

उनका अनुसार पोहोर सिजनको बेलाको फेरोका होटलको अकुपेन्सी करिब ५० प्रतिशत थियो। तर, अहिले भने सतप्रशित पुगेको उनले बताए। ‘सन्तोषजनक सिजन रह्यो, अन्यत्र पाहुना कम भएको गुनासो थियो, तर, अन्नपूर्ण फेरोको पदयात्रामा भने योपटक पाहुना अभाव झेल्नुपरेन,’ उनले भने, ‘पदयात्रा क्षेत्र अघिल्लो महिनाभर चम्कियो।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्यांक अनुसार अन्नपूर्ण फेरोमा पर्ने मनाङमा पोहोरको तुलनामा यो पटक पाहुना बढी गएका छन्। सन् २०२२ को सेप्टेम्बरमा फेरोमा २ हजार ९१ जना विदेशी पाहुना गएका थिए। २०२२ को अक्टोबरमा ४ हजार ६ सय ५० जना विदेशी पुगेका थिए। तर २०२३ को सेप्टेम्बरमा २२ सय ५७ र अक्टोबरमा ५ हजार १ सय ९८ जना विदेशी पुगेको एक्याप मनाङले बताएको छ।  

‘पदयात्रा क्षेत्रमा विदेशी पर्यटक आगमन कोभिड पछिकै बढी भन्न मिल्ने गरि यो पटक पाहुना आएका हुन्,’ एक्याप मनाङका संरक्षण अधिकृत ढकबहादुर भुजेलले भने, ‘यो सिजन सन्तोषजनक रहेको व्यावसायीले पनि बताएका छन्। तथ्यांकले पनि त्यही पुुष्टि गर्छ।’ 

आन्तरिक पाहुनाको आगमन पनि उत्तिकै उत्साहजनक रहेको उनले बताए। आन्तरिक पाहुना र विदेशीको आगमन बढ्दा सिजनको बेला पदयात्रा क्षेत्र निकै नै व्यस्त बनेको उनले बताए। फेरोमा पुगेका पर्यटक कतिपय तिलिचो तालसम्म पुग्छन भने कतिपय थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लिने गर्छन। भञ्ज्याङ पार गर्न नसक्ने पर्यटकहरु मनाङ हुँदै फर्किने गर्छन।

अन्नपूर्ण फेरोमा मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा पनि विदेशीको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीले बताएका छन्। पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलिप गुरुङ भन्छन, ‘कोभिड–१९ सुरु भएपछिको सबैभन्दा राम्रो सिजन योपटक रह्यो। पर्यटन क्षेत्र यो सिजनसँग खुसी छन्। सबै व्यावसायीले योपटक राम्रो आम्दानी गरेका छन्।’ विदेशी पाहुनासँगै यो पटक आन्तरिक पनि आउँदा पदयात्रा क्षेत्र निकै नै चम्किएको उनले बताए।  

पोखराको लेकसाइडमा विदेशी पाहुना कम भएको यहाँका व्यावसायीले गुनासो गरिरहँदा पदयात्रा क्षेत्रमा भने पाहुनाको पर्याप्तता रहेको गुरुङले बताए। हवाई पहुँचका कारणले कतिपय विदेशी पर्यटक पोखरामा नबसी सिधै आधारशिविरसम्म आउने गरेको उनले बताए। ‘विदेशी पर्यटक त पोखरामा बासै नबसी सिधै आधारशिविरसम्म आउने र फर्किने गरेका छन्। अहिले हवाई पहुँचले गर्दा सहज भएको हो,’ उनले भने, ‘कतिपय आन्तरिक र बाह्य पाहुनाले पोखरालाई छाडेर गन्तव्य तय गर्दा सहरमा पाहुना अभाव देखिएको हो।’  

पदयात्रा व्यावसायीको छाता संंस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष धर्मराज पन्थीका अनुसार पदयात्राका लागि सबैभन्दा उत्तम समय अक्टोवर र नोभेम्बर महिना हुन्। नोभेम्बर मध्यपछि बिस्तारै पदयात्रा क्षेत्रमा पाहुना घट्दै जान्छन। ‘तथ्यांकले पनि पदयात्रा क्षेत्रमा विदेशी पाहुनाको आगमन उत्साहजनक देखिन्छ। तर, पोखरामा भने कम पाहुना छन्,’ अध्यक्ष पन्थीले भने, ‘विदेशी पाहुनाका लागि काठमाडौंदेखि सिधै मनाङ, एबिसी र मुस्ताङ पुग्नेगरि प्याकेज बन्ने र पर्यटक आउजाउ गर्ने भएकोले पोखराले कम पाहुना पाएको हो।’  

पदयात्रा सिजन अघिल्ला वर्षको तुलनामा योपटक निकै नै राम्रो रहेको उनले पनि बताए। ‘विदेशी मात्र नभई आन्तरिक पाहुना पनि पदयात्रामा जाने भएकोले पछिल्लो समय पदयात्रा क्षेत्र निकै नै चम्किन थालेका छन,’ पन्थीले भने, ‘पदयात्रामा जाने आन्तरिक पाहुनाको हिस्सा ठूलो हुने गरेको छ।’ छोटो र लामो दूरीका सबैखाले पदयात्रामा अहिले माथिल्लो भेगसम्म गाडी पुग्ने भएकोले आन्तरिक पाहुना पनि पर्याप्त पुग्ने गरेको उनले बताए।  



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.