Advertisement

नाडा अटो सो : प्रदर्शनमा राखिएका विद्युतीय गाडी, कुनको मूल्य कति ?

0 44

Advertisement

०६ असोज, काठमाडौं । नाडा अटो सोमा एमजी, बिवाइडी, टाटा, हुन्डाई, सेरेस, ग्रेटवाल, सिट्रोन, निटा, मेक्सस, विलिङ ब्रान्डका विद्युतीय कार प्रदर्शनीमा छन् । यस्तै, आधा दर्जनभन्दा बढी विद्युतीय भ्यान ब्रान्ड पनि अटो सोमा छन् । टेस्ला, अउडी, बिएमडब्लूलगायत ब्रान्डका विद्युतीय कार नेपाली बजारमा भित्रिसके पनि अटो सोमा भने छैनन् । हुन्डाई, महिन्द्रा, सुजुकी, फोर्ड, कियालगायत सीमित ब्रान्डका पेट्रोल, डिजेलबाट चल्ने कार प्रदर्शनीमा राखिएका छन् । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बिक्री नै घटेको छ ।

बिवाइडी : अटो थ्री, इसिक्स, डल्फिन, सिल

बिवाइडीको अटो सोमा चारवटा मोडल अटो थ्री, इसिक्स, डल्फिन र सिल प्रदर्शनमा राखिएको छ । डल्फिन सबैभन्दा सस्तो र सिल प्रिमियम कार हो । जसमध्ये अटो थ्री सर्वाधिक लोकप्रिय छ । अटो थ्री एडभान्समा ४९.९२ किलोवाटको ब्याट्री, १०० किलोवाटको मोटर रहेको छ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ । यस्तै, सुपेरियरमा ६०.४८ किलोवाटको ब्याट्री र १०० किलोवाट मोटरपावर छ । यस मोडलको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

बिवाइडीको अल न्यु इ–सिक्सको लङ रेन्जमा ७१.७ किलोवाटको ब्याट्री, ७० किलोवाटको मोटरपावर रहेको छ । फुलचार्जमा पाँच सय २२ किमि माइलेज दिने भनिएको यस मोडलको मूल्य ५९ लाख रुपैयाँ छ । हालै लन्च गरिएको डल्फिनमा ७० किलोवाटको मोटर र ४४.९ किलोवाट आवरको ब्याट्री प्याक छ, जसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ छ ।

टाटा : नेक्सन, टिगोर, एक्सप्रेस–टी र टियागो

टाटाका नेक्सन, टिगोर, एक्सप्रेस–टी र टियागो गरी चारवटा विद्युतीय कार बजारमा आइसकेका छन् । कम्प्याक्ट एसयुभी नेक्सन इभी सर्वाधिक रोजाइमा पर्छ । नेक्सन इभी म्याक्सको मूल्य ४९ लाख रुपैयाँ रहेको छ । यस्तै, टाटाकै २६ किलोवाट ब्याट्री र ५५ किलोवाट मोटर भएको टिगोरको मूल्य ३४ लाख रुपैयाँ छ । टाटाले नाडा अटो सोमा टियागो इभी सार्वजनिक गरेको छ, जसलाई हेर्न दर्शकको भिड छ । विभिन्न पाँच भेरियन्टमा उपलब्ध टियागो इभीको मूल्य २२ लाखदेखि २८ लाख रुपैयाँसम्म तोकिएको छ । सेडान एक्सप्रेस–टी विद्युतीय ट्याक्सीका रूपमा प्रयोग भइरहेको छ ।

एमजी : जेडएस, एमजी फोर र कोमेट

नाडामा एमजीको एमजी जेडएस, एमजी फोर, एमजी कोमेट प्रदर्शनीमा छन् । एमजी फोर र कोमेट हालै नाडालाई लक्षित गरेर सार्वजनिक गरिएको हो । अहिले एमजी जेडएस इभीमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको मोटर रहेको छ । जसको मूल्य ५३ लाख रुपैयाँ छ । एमजी जेडएसका अरू भेरियन्ट पनि छन् । एमजी लङ रेन्जको मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।

एमजी फोर कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्फर्टमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवटाको मोटरजडित छ । यसको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस्तै एमजी फोर लक्जरीमा ६४ किलोवाट आवरको ब्याट्री र एक सय ५० किलोवाटको मोटरपावर छ । यसको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । एमजीको मिनी इभी कोमेट पनि सार्वजनिक गर्ने बताइएको छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ । यो पनि प्ले र पेस गरी दुई भेरियन्टमा छ । नेपाली बजारमा कोमेटको सुरुवाती मूल्य १८ लाख रुपैयाँ तोकिएको छ ।

हुन्डाई : कोना, आयोनिक फाइभ

नाडा अटो सोमा हुन्डाईले कोना इभी प्रदर्शनीमा राखेको छ । र, अरू आइसी इन्जिन गाडी प्रदर्शनीमा देखिन्छन् । दुई भेरियन्टमा उपलब्ध सय किलोवाट मोटरपावर भएको कोनाको मूल्य ६२ लाख र ६५ लाख रुपैयाँ रहेको छ । एक सय २५ किलोवाट मोटरपावर भएको आयोनिक फाइभको मूल्य एक करोड दुई लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सिट्रोन : सी थ्री

नाडामा सिट्रोनको सी थ्री इभी प्रदर्शनीमा राखिएको छ । तुलनात्मक रूपमा कम मूल्यको गाडीले उपभोक्ताको पनि ध्यान तानेको छ । दुई भेरियन्टमा उपलब्ध सिट्रोनको मूल्य ३३ लाख र ३५ लाख रुपैयाँ रहेको छ ।

निटा : भी, एस, जिटी, यू

अटो सोमा निटाका चारवटा मोडल प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा सबैभन्दा बढी भिडभाड निटाको स्टलमा देखिन्छ । निटा भी, निटा एस, निटा जिटी र निटा यू गरी चारवटा भेरियन्ट प्रदर्शनीमा राखिएको छ । दर्शकको सबैभन्दा बढी चासो नेटा जिटी र नेटा एसमा देखिन्छ । प्रिमियम सेगमेन्टका यी दुवै मोडल मेलामा अहिले प्रदर्शनमा मात्र राखिएको हो । अहिले बजारमा निटा भी उपलब्ध छ । ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाटको मोटर रहेको निटा भीको मूल्य ३९ लाख रुपैयाँ रहेको छ ।

निसान : लिफ

अटो मेलामा निसान लिफ इभी प्रदर्शनीमा राखिएको छ । अरू चारवटा मोडल आइसी इन्जिनवाला कार हुन् । निसानका अरू कारमा भन्दा लिफ इभीमा बढी दर्शक तानिएका छन् । ४० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाट आवरको मोटरपावर रहेको लिफको मूल्य ६५ लाख रुपैयाँ छ ।

सेरेस : सेरेस थ्री र मिनी इभी

नाडामा सेरेसले सेरेस थ्री र मिनी इभी प्रदर्शनीमा राखेको छ । सेरेस थ्री कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा र मिनी इभी तीनवटा भेरियन्टमा उपलब्ध छ । सेरेसको स्टलमा उपभोक्ताको बाक्लै भिड लागेको देखिन्छ । मिनी इभीको मूल्य १४ लाखदेखि १८ लाख रुपैयाँसम्म रहेको छ । सेरेस थ्री कम्फर्टको ५० लाख र प्रिमियमको ५३ लाख रुपैयाँ छ ।

ग्रेटवाल : ओरा थ्री इभी

ग्रेटवाल मोटरको विद्युतीय कार ओरा थ्री अटो सोमा राखिएको छ । ग्रेटवालका आइसी इन्जिन गाडीले भन्दा उपभोक्ताको ध्यान ओरा थ्रीले खिचेको देखिन्छ । ९९ किलोवाट मोटरपावर रहेको ओराले फुल चार्जमा चार सय किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो गाडीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

मेक्सस : मिफा–९

नाडा अटो सोमा मेक्सस ब्रान्डको मिफा–९ इभी प्रदर्शनीमा राखिएको छ । प्रिमियम सेगमेन्टको यस गाडीको मूल्य एक करोड ४० लाख रुपैयाँ रहेको छ । तीन ड्राइभ मोड, सेभेन सिटर र फुल चार्जमा ५२० किलोमिटर माइलेज दिने भनिएको मिफा नाडामा राखिएको महँगोमध्येको इभी हो । यसमा ९० किलोवाट आवरको ब्याट्री प्याक रहेको बताइएको छ ।

इभीमा चार्जर उपहार इन्धन गाडीमा नगद छुट

नाडा अटो सोमा विद्युतीय गाडीमा नगद छुट दिइएको छैन । तर, इभी बुकिङ गर्दा कतिपय कम्पनीले चार्जर निःशुल्क, रोड ट्याक्सदेखि इन्स्योरेन्ससम्म तिरिदिने अफर ल्याएका छन् । आइसी इन्जिन गाडीमा भने नगद छुट नै उपलब्ध गराइएको छ । महिन्द्राले गाडीको मोडल हेरीकन एक लाखदेखि पाँच लाखसम्म नगद छुट दिएको छ ।

ग्रेटवालको ओरा इभीमा सात किलोवाटको चार्जर र एक वर्षको इन्स्योरेन्स अफर ल्याइएको छ । सिट्रोनले नाडामा गाडी बुकिङ गर्नेलाई एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स तिरिदिने योजना ल्याएको जनाएको छ । निटा भी खरिद गर्नेले फ्रिज, टिभीलगायत होमअप्लायन्स प्राप्त गर्नेछन् । मारुतीले नाडामा एक लाखसम्मको स्क्र्याच कुपनमार्फत छुट दिने अफर ल्याएको छ । कियाले नाडामै लन्च गरेको स्पोर्टेज कारमा तीन लाखसम्म डिस्काउन्ट, सेल्टोसमा एक लाख र सोनेटमा ५० हजार छुट दिइरहेको छ । एमजीले जेडएस इभीमा सात किलोवाटको चार्जर, एक वर्षको इन्स्योरेन्स र एउटा टायर उपलब्ध गराएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.