Advertisement

चलचित्र पत्रकार संघको स्थापना दिवसमा सम्मान एवं पुरस्कार प्रदान, चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ : तिमिल्सिना

0 30

Advertisement

०९ जेठ, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाका दिवसका अवसरमा चलचित्र पत्रकारहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउने क्रममा आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी संघले आफ्ना सदस्यहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरेको हो ।

प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो । संघका अध्यक्ष समीर बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष शान्ति प्रियलाई नगद ५५ हजार ५५५ रुपैयाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० प्रदान गरिएको थियो भने पत्रकार तुलसी गिरी ‘भावुक’ र चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० प्रदान गरिएको थियो ।

त्यस्तै, जनही ५१ हजार रुपैयाँ नगदसहित कुबेर डंगोल र दीपज्योति थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०, श्रृष्टि पोखरेललाई ल्यापटपसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० तथा संघको शाखाबाट सिफारिश भएकामध्ये २५ हजार रुपैयाँ नगदसहित चितवन शाखाका निवर्तमान अध्यक्ष रवि अधिकारीलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको थियो । संघले २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा पत्रकारिता सम्मान र पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा ६० वर्ष पार गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्नेगरी विजयरत्न तुलाधरलाई दुई महिनाको आठ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने र कार्यक्रम सम्पन्न गर्न सघाउनेहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताउनुभएको थियो । उहाँले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताउनुभएको हो ।
तिमिल्सिनाले कलाकारहरू राजनीतिक दलका संगठनहरूमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताउनुभयो । उहाँले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

तिमिल्सिनाले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रूपमा विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको सुनाउनुभयो । अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरुलाई थपमाथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

नरेश भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, संस्थापक पदाधिकारी विश्वमणि पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेता तथा निर्माता दीपकराज गिरीलगायतले चलचित्र पत्रकारिता तथा यो क्षेत्रका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । तस्वीर : सुरेन्द्र थापा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.