Advertisement

निर्मला हत्यामा फेरि अनुसन्धान समिति

0 124

Advertisement

१६ पुस, काठमाडौं । सरकारले कञ्चनपुर उल्टाखामकी किशोरी निर्मला पन्तको हत्याबारे छानबिन गर्न फेरि पाँच सदस्यीय समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा छुट्टै समिति बनाइएको हो।

‘नयाँ बनेको समितिले विशेष ढंगले अनुसन्धान गर्छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने । पहिलादेखि भइरहेको अनुसन्धान कार्य पनि जारी नै रहने उनले बताए। नयाँ बनेको पाँच सदस्यीय समितिमा फरेन्सिक चिकित्सक र मनोचिकित्सकसमेत सहभागी रहेको प्रवक्ता राईले जानकारी दिए। समितिमा ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धीरेन्द्र रोकायालगायत छन्।

गृहमन्त्री लामिछानेले शुक्रबार निर्मलाबार हालसम्मको अनुसन्धानका विषयमा प्रहरीसँग जानकारी पनि लिएका छन्। प्रहरी प्रधान कार्यालय नक्साल निरीक्षणमा गएका गृहमन्त्री लामिछानेले नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहसहितको टोलीसँग हालसम्मको अनुसन्धानको प्रगतिबारे जानकारी लिएका हुन्। ‘उपप्रधान एवं गृहमन्त्रीज्यूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा नै निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाउन अधिकतम प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ गृह स्रोतले भन्यो, ‘सोहीअनुसार आज (शुक्रबार) नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षणमा आएका बेला जानकारी लिनुभएको छ।’ त्यसक्रममा आइजिपी सिंहसहितको टोलीले गृहमन्त्री लामिछानेलाई उक्त घटनाको अनुसन्धान र प्रगतिबारे जानकारी गराएका थिए। प्रहरी टोलीले हालसम्म घटनाको अनुसन्धान जारी रहे पनि कुनै निष्कर्ष निकाल्न नसकेको जानकारी गराएको छ।

गृहमन्त्री लामिछानेले हालसम्म प्रहरी अनुसन्धान निर्मला हत्याबारे निष्कर्षमा पुग्न नसकेकै कारण संगठनको प्रतिष्ठामा समेत आँच आएको बताउँदै गम्भीर भएर अनुसन्धानमा जुट्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

२०७५ साउन १० गते १३ वर्षीया निर्मला पन्त साथीको घर गएका बेला बेपत्ता भएकी थिइन्। दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो। यो घटनाको राष्ट्रिय स्तरमै व्यापक रूपमा चर्चा भएको थियो। तर घटनाको साढे चार वर्ष बित्दा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले प्रमाणहरू नष्ट गरेको सार्वजनिक आरोप छ। अनुसन्धानकै क्रममा निर्दोष व्यक्तिलाई फसाएर उम्कन खोजेको आरोप पनि प्रहरीमाथि लागेको छ। यही घटनामा सञ्चारकर्मी रहेकै बेला गृहमन्त्री लामिछानेले सार्वजनिक बहससमेत छेडेका थिए। तर त्यतिबेला उनी विवादमा परेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.