Advertisement

॥ शिवजीको वरदान ॥

0 534

Advertisement

बच्चुराम वाग्ले

बच्चुराम वाग्ले

१६ फागुन, काठमाडौं । काशीमा एक ब्राह्मण दम्पती थिए । उनीहरूको घरमा ऐश, आराम थियो, तर, निःसन्तान थिए । अतः ती बडा दुखी थिए । अचानक, एकदिन विश्वनाथको साक्षात् दर्शन मिल्यो । दम्पतीलाई भगवान शिवले सोध्नुभयो, – तिमी दुवै दुखी देखिन्छौ । भन, के पीडा छ? माग के चाहियो ?

  • भगवन! हजुरको कृपाले ऐश आराम छ, तर, पुत्रसुख छैन ।
  • तिमीहरूको भागमा एउटा पुत्र छ। कुपुत्र लामो अायुको, सुपुत्र पाँच वर्षे, छोटायुर्दार, भन, कुन पुत्र दिऊँ ?
  • भगवानको यो पनि एक विचित्र माया हो । कुपुत्र हुनु भन्दा सुपुत्र नै सही । जन्मेर मोतीरामले झैं नाम राखेछ भने अपुतो भइएन । हामी दम्पतीले सुपुत्र स्वीकार गर्यौं ।
  • तथास्तु ।
    भगवान अन्तरध्यान हुनुभयो ।
    समयको गति अनुसार पुत्र पैदा भयो । परिवार सुखी पनि, दम्पतीको उमेर असी काटेको, बालक भरखर पैदा भएको, एक एक गर्दै चार वर्षको भएको, बालकको उमेर केही दिन शेष बाँकी रहेको, परिवार दुखी पनि।

सहरमा एक अनौठा ज्योतिष ब्राह्मणको दर्शन भयो ।
ब्राह्मणसँग राय लिए, – केही उपाय छ?

  • कुनै सिद्ध सन्त भेटिएछन् र उनको आशीर्वाद मिल्यो भने चमत्कार हुनेछ ।
  • सिद्ध सन्त कहाँ भेटिन्छन्? र कसरी परिचय लिने?
  • तिम्रा दृष्टिमा को सन्त, को दुष्ट? जसलाई पनि सन्त ब्राह्मण मान्न सक्छौ । यो झन्झटमा नपर । सन्त सन्त नै हुन्छन् र यदा कदा दर्शन दिन्छन् ।

सन्त पुरुषको कृपा प्राप्ति हेतु पुत्र साथमा लिएर काशी विश्वनाथको द्वार वारुण र असी गंगातट वाराणसीमा कुटी खडा गरे । तदन्तरं, नौला र आगन्तुक सिद्ध पुरुष ठानेर कर जोरीकन आशीर्वादको याचना गर्दै रहे । दुवै हात खडाका खडा, दुवैको नजर आउने र जाने पथिकका नजरमा मिल्ने चाह बड्न लागे, कोही सिद्ध पुरुष भेटिन्छ कि झैं तिक्ष्ण यत्नमा लागे।

अन्त्य दिन नजिकिंदै थियो, तीन दिन आयु शेष रह्यो, सन्त पुरुष कस्ता विचित्र हुन्? भाग्यले सप्तर्षिको दर्शन मिल्यो । पिता-पुत्र उनै तर्फ प्रवेश भए । एक नजर हुने बित्तिकै पुत्र सातैजनाका पाउमा पर्यो ।

सप्तर्ऋषिले एकैसाथ भने, – चिरञ्जीवी भव! चिरञ्जीवी भव! चिरञ्जीवी भव!
पिताका आँखामा अाँसु आयो ।भोलि छाडी पर्सीसम्मको शेष आयु रहेको पुत्रले चीरायुको आशिष् पाएपछि उसका पिताले ऋषिहरूलाई शिवद्रोह र निन्दाको दोषबाट बच्ने उपाय गर्नुहोस् भने । तपाईंहरू जान्नुस् कि तपाईंको आाशीर्वाद।
ऋषिहरूले भने, – यो त सन्तहरूको प्रतिष्ठाको विषय भयो । उसै त यो बच्चा पर्सि मृत्यु हुन्छ । आजै हामीलाई देउ ।

सन्तहरूले बालकका पितालाई आश्वस्त पारेर आाफुसँग राख्नु भयो।

अर्को दिन बालक लिएर सप्तर्षि ब्रह्माका सामुन्ने उपस्थित भए । सन्तहरूले ब्रह्मालाई प्रणाम गरे । जसै त्यो बालकले पनि प्रणाम गर्यो, ब्रह्माजीले बालकलाई -चिरञ्जीवी भव! चिरञ्जीवी भव! चिरञ्जीवी भव!भन्नुभयो । त्यो सुनेर सन्तको मुखमण्डलमा हर्ष छायो । ब्रह्माजीले कारण सोध्नुभयो । ब्रह्मः वचन सुनेर सन्तहरूको हर्षको सीमा रहेन र उहाँहरूले आफूलाई नियन्त्रण गरेर एकैसाथ भन्नुभयो -अब के बताअौं? तपाईका चारै मुखले यस बालकलाई चिरञ्जीवीको अाशीर्वाद दिनुभयो, हाम्रो समस्या टल्यो । यस बालकको आयु केवल दुईदिन शेष छ, समाधान गर्नुहोस् ।

  • यसलाई आशीर्वाद दिएर म फन्दामा परें ।
  • हिजो यसरी आशीर्वाद दिएर हामी पनि फसेका थियौं र विचार गरि तपाईंका शरण आयौं । अब तपाईं जान्नुस् कि तपाईंको आाशीर्वाद, तर, आज हामी मुक्त भयौं ।
  • किन?
  • दुनियाँले के भन्लान्? उनीहरू भन्लान् सप्तर्षि फटाहा रहेछन्, तर, हामी भन्नेछौं ब्रह्माजी फटाहा हुनुहुन्छ ।
  • मैले भनें, हो, यसलाई सच्याउनु पर्यो ।
  • तपाईं जीवका देवता हुनुहुन्छ, उपाय गर्नुहोस् ।
  • परिवर्तन हुन सक्छ । भावी वहाँ एक कालका पनि काल महाँकाल महादेव शंकर हुनुहुन्छ, वहीं जाअौं ।

अन्तिम दिन सबेरै बालक लिएर कैलाश प्रवेश, प्रातःकाल, शिवदर्शन, ब्रह्माजीको प्रणाम अर्पण, सप्तर्षिको पनि प्रणाम पछि बालकले भूमिमा लेटेर दण्डवत् प्रणाम गर्यो । भगवान भोलेभण्डारी मुस्कुराउदै उसलाई आशीर्वाद दिनुभयो -चिरञ्जीवी भव! चिरञ्जीवी भव! चिरञ्जीवी भव! त्यो सुन्ने याचकमा एकाएक हर्ष उदय भयो । शिववचनले सबैको बोझ हलुका भयो । शिवजीले कारण सोध्नुभयो र मुनीजनका नायक ब्रह्माले भन्नुभयो -अब के बताऊँ? यस बालकको आयु हाम्रो समस्या थियो, केही मिनेटमा सकिने यसको आयु बढाएर तपाईंले चिरञ्जीवीको आशीर्वाद दिनुभयो, हाम्रो समस्या टल्यो ।

  • यो कसको पुत्र हो?

ब्रह्माले सन्त तर्फ हेरे ।

  • काशीस्थित हजुर विश्वनाथको द्वारका सामुन्ने कुटीमा रहने एक दम्पतीलाई पुत्रलाभको वरदान बकस भएको स्मरण होस् । आजसम्मको पाहुना यो बालकले हामीबाट चिरञ्जीवीको वरदान पाएर खडा भएको समस्याको भार हजुरबाट ग्रहण भयो ।
  • यसलाइ त मैले नै आयु दिएको थिएँ । उसको जन्म मेरै वरदान हो ।
    ब्रह्मा, – झन् खुशीको कुरा भयो ।
    सप्तर्षि, – तपाईंबाट बकस भएको यसको आयु सकिन केही सेकेण्ड मात्र बाँकी होला ।
    ब्रह्मा, – म ढुक्क भएँ ।
    ब्रह्मा, – म ढुक्क भएँ । तपाईं करालं महाकाल कालं कृपालं ।
    देवाधिदेव महादेव, – यस बालकलाई यहीं छोडिदेउ ।
    बालकलई भन्नुभयो, – ॐ नमः शिवाय जप गर्दै रहनु, शिवलिङ्गमा बील्व पत्र चढाउँदै रहनु, निश्चिन्त रहनु ।

बालक आज्ञापालन गर्दैरह्यो । उसका आँखा चिम्म थिए । शिवजीमा ध्यानधरेको । साँझ परेको मात्र थियो, बालकका गर्दनमा यमपास पर्यो, बालक शिवलिङ्गलाई अङ्कमाल गर्न पुग्यो । शिवजीले त्रिशूल उज्याएर यमराज उपर जाईलाग्नु भयो । यमराज हात जोरेर,- हे देवाधिदेव महादेव! यो मैले सह्मालेको हजुरकै विभागको कार्य हो । संहारकर्ता तपाईं स्वयं हुनुहुन्छ । तपाईंकै विभागमा गडबडी किन?

  • कसरी मेरो विभागमा गडबडी भयो?
  • यस बालकको आयु पाँच वर्ष तपाईंको वरदान थियो, अहिले सकियो, मेरो काम शुरु गर्न पाऊँ ।
  • यो बालकलाई पाँच वर्ष उमेरको वरदान कसले दिएको?
  • वरदानका मालिक सरकार तपाईं स्वयं देवाधिदेव महादेव हुनुहुन्छ ।
  • युगको आयु, ब्रह्माको आयु कति हो? व्याख्या गर ।
  • सृष्टिक्रम र विकासको गणनाका लागि ‘कल्प’ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूका निमित्त एउटा प्रसिद्ध मापदण्ड हो। जसरी सामान्य मानव जीवनको साधारण आयु सय वर्ष मानिन्छ, त्यसरी नै सृष्टिकर्ता ब्रह्माको आयु पनि सय वर्ष नै मानिन्छ, तर मानव र ब्रह्माको आयुको गणनामा भिन्नता छ। ब्रह्माको एक दिन बराबरको समयलाई ‘कल्प’ भनिन्छ र ब्रह्माको प्रत्येक दिनको समाप्तिमा प्रलय हुन्छ, यसको अर्थ हो सृष्टिकर्ता ब्रह्माको रात्रीकाल प्रलय हो, रात बितेपछि ब्रह्माले पुनः सिर्जना गर्दछन् वा फेरि नयाँ सृष्टि हुन्छ।

मनुष्यलोकमा आजको सूर्योदयदेखि भोलि बिहानको सूर्योदयसम्मको अवधिलाई एक दिन(२४ घण्टा वा ६० घडी) भनिन्छ। ३६५ दिनको एकवर्ष हुन्छ। ४३२००० वर्ष वर्तमान कलि युगको समय सीमा हो। कलि युगभन्दा दोब्बर ठूलो द्वापर युग, तीनगुणा ठूलो त्रेता युग र चारगुणा ठूलो सत्य युगको समय मानिन्छ। त्यसैले द्वापर युगको समय ८६४००० वर्ष, त्रेता युगको समय १२९६००० वर्ष र सत्ययुगको समय १७२८००० वर्ष हुन्छ। यी चारै युगको संयुक्त अवधि, अर्थात् ४३२०००० वर्षको एकाइलाई एक चतुर्युगी भनिन्छ। यस्ता १‚००० वटा चतुर्युगीको समयावधिलाई एउटा कल्पको समय मानिन्छ। त्यसैले ब्रह्माजीको एक दिन बराबर ४,३२,००,००,०००(चार अरब बत्तीस करोड) वर्ष हुन्छ । ब्रह्माको एक महिनामा तीस वटा कल्प हुन्छन्, तिनलाई श्वेतवाराह कल्प, नीललोहित कल्प आदि भिन्नभिन्न नामद्वारा सङ्केत गरिएको हुन्छ। प्रत्येक कल्पलाई १४ वटा बराबर भागमा विभाजन गरिएको हुन्छ, त्यस विभक्त खण्डको नाम हो- मन्वन्तर। एक मन्वन्तरमा एक कल्प (४,३२,००,००,००० वर्ष)को १४ भागको एक भागमा पर्ने समयावधि (लगभग ३०८५७१४२९ वर्ष) हुन्छ। प्रत्येक मन्वन्तरमा एक एकजना मनुले सृष्टिस्थितिको जिम्मा पाएका हुन्छन्, यही मनु शब्दबाट मानिसलाई सङ्केत गर्ने मनुष्य, मनुवा, मान्छे, मानिस आदि शब्द बनेका हुन्। ती चौधजना मनुको नाम यस प्रकार छ – स्वायम्भु, स्वरोचिष, औत्तमी, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्म सावर्णि, धर्म सावर्णि, रुद्र सावर्णि, रौच्य या देव सावर्णि र भौत अथवा इन्द्र सावर्णि। अहिलेको समय वैवस्वत मनुको हो। प्रत्येक मन्वन्तरमा बेग्लाबेग्लै सप्तर्षि, इन्द्र/इन्द्राणी आदि हुने गर्छन्। अहिले ब्रह्माको ५० वर्ष व्यतीत भएको कल्पना गरिएको छ। उनको ५१औं वर्षको पहिलो कल्प अर्थात्‌ श्वेतवाराह कल्प चल्दैछ र यस कल्पका २७ वटा चतुर्युगी बितेर २८औं चतुर्युगीको तीन युग पनि समाप्त भैसकेका छन्, हामी अहिले कलियुगको पहिलो चरणमा छौं।

ब्रह्माको आायु निम्नानुसार बुझ्न सकिन्छ
१ मानव वर्ष = एक दिव्य दिवस
३० दिव्य दिवस = १ दिव्य मास
१२ दिव्य मास = १ दिव्य वर्ष

४,००० वर्ष +४०० युगसन्ध्या +४०० युगसन्ध्यांश = ४,८०० दिव्यवर्ष = १ सत युग
३,००० + ३०० युगसन्ध्या + ३०० युगसन्ध्यांश = ३,६०० दिव्य वर्ष = १ त्रेता युग
२,००० + २००युगसन्ध्या + २००युगसन्ध्यांश= २,४०० दिव्य वर्ष = १ द्वापर युग
१,०००+ १००सन्ध्या+ १००सन्ध्यांश= १,२००दिव्य वर्ष = १ कलि युग
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब एक चतुर्युगी हुन्छ । हजार चतुर्युगीको ब्रह्माको एक दिन हुन्छ । त्यस पछि प्रलय हुन्छ । रात पनि हजार चतुर्युगीकै हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिनसँगै नयाँ सृष्टि पनि सुरुहुन्छ । ब्रह्माको दिनलाई कल्प पनि भनिन्छ । मत्स्यपुराणमा श्वेतवाराह आदि ३० वटा कल्पको वर्णन छ । यी श्वेतवाराहादि कल्पहरू हप्ताका वारहरू झैँ घुमिरहन्छन् । यसरि नै ब्रह्माको दिन बित्छ । धर्म शास्त्रमा १०० वर्ष ब्रह्माको आयु मानिएको छ, हाल ब्रह्मा ५० वर्ष पुगेर पहिलो वर्ष , पहिलो अयन , पहिलो ऋतु , पहिलो मास , पहिलो पक्ष र पहिलो तिथि प्रतिपदा तिथिको मध्यान्ह समयका भएका छन् ।

  • अन्त्यमा तिमीले मलाई चिनेको मध्ये अलिकति वयान गर ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्य एक ईश्वरको रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्। शि+व= शिव मिलेर बनेको शिवको नामको “ि” लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

शिवका विशेषताहरू:
तेस्रो आँखा भएका (त्र्यम्बकम्)
निलो घाँटी भएका (नीलकण्ठ)
जटा परेको कपाल (जटाधारी)
शिरमा गंगा भएका (गङ्गाधर)
शरीरमा खरानी धस्ने (भष्मांगर)
बाघको छाला ओढ्ने (बाघम्बर)
शरीरमा सर्पहरूको माला बेर्ने (नगेन्द्र हार)
डमरू तथा त्रिशुल बोक्ने (डमरुहस्त )
धनुस हस्त (पिनाकधारी)
साँढे (नन्दी) चढ्ने
कैलासमा बस्ने (कंलासवासी)
पार्वतीका पति (उमापति)
तृनेत्र (त्रिलोचन)
वृषभध्वज
शीघ्र प्रसन्न (आसुतोष)

शिवमा परस्पर विरोधी भावहरूको सामञ्जस्य हेर्न पाइन्छ। शिवको टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महाविषधारी सर्प पनि उनको घाँटिमा माला छ। उनी अर्धनारीश्वर भएर पनि कामजित छन्। गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी छन्। सौम्य, आशुतोष भएर पनि भयङ्कर रुद्र छन्। शिव परिवार पनि यसले अछूता छैनन्। उनको परिवारमा भूत-प्रेत-पिशाच-प्रमथज्वर-नंदी-भृङ्गी-चौंसठी योगिनी, सिंह, सर्प, मयूर तथा मूषक सबैको समभाव देख्न सकिन्छ। उनी स्वयं द्वन्द्वहरूदेखि रहित सह-अस्तित्वको महान विचारका परिचायक छन्। यस्तो महाकाल शिवको आराधनाको महापर्व शिवरात्री हो।

शिवरात्रि व्रतको पारणा चतुर्दशीमा नै गर्नु पर्छ। जुन चतुर्दशीमा पारणा गर्दछ, त्यो समस्त तीर्थहरूको स्नानको फल प्राप्त गर्दछ। जुन मनुष्य शिवरात्रिको उपवास गर्दैन, त्यो जन्म-मरणको चक्रमा घुम्दै रहन्छ। शिवरात्रिको व्रत गर्ने, शिव आज्ञाले बील्वपत्रले शिव आराधना गर्ने उपासक यस लोकको समस्त भोगहरूलाई भोगेर अन्तमा शिवलोकमा जान्छन्। तपाईंको महिमा अपरम्पार छ , तपाईले वयान गर भन्नुभएको हुँदा संक्षेपमा गरेको हुँ ।

  • मैले वरदान दिएको व्यक्ति तिम्रो पासमा जान सक्दैन । कुरा आयुको रह्यो, कलि, द्वापर, त्रेता र सत्य यी चार युग एक से बढा दुस्रा छन् । यी एक पटक बित्यो ब्रह्माको एकदिन जान्छ । उनले हरेक साँझ प्रलय र हरेक बिहान सृष्टि रचना गर्दछन् । कलियुगिन मानवको वैवस्वतमन्वन्तर ब्रह्माका लागि मध्याह्न चलिरहेको छ ।
    चौध मन्वन्तर ब्रह्माका दिन एक ।
    दश ब्रह्मा बिते शंकरका दिन एक ॥
  • सरकार ! यमराजको आयु कति हो?
  • तिमी एक मन्वन्तरसम्म रहन्छौ । यो बालक सप्राण शिवलोकमा आएर सोम चतुर्दशीका सबेरै मेरै आराधना गरिरहेछ । तिमी भन्छौ यसको आयु मेरो वरदान हो । पुनः भनौला, यसलाई मैंले लगाएँ । पोल्न त यसैलाई पोल्यो, चाहे मैंले लगाएँ वा आफूखुशी आगो चलायो । तिमीले वयान गरेका हौ, जुन मनुष्य शिवरात्रिको उपवास गर्दैन, त्यो जन्म-मरणको चक्रमा घुम्दै रहन्छ। शिवरात्रिको व्रत गर्ने, शिव आज्ञाले बील्वपत्रले शिव आराधना गर्ने उपासक यस लोकको समस्त भोगहरूलाई भोगेर अन्तमा शिवलोकमा जान्छन्। अब भन! के यो बालकमा यमपासको फन्दा लाग्न सक्छ? मेरो वरप्राप्त यो बाह्मणपुत्र मार्कण्डेयका नामले चीरञ्जीविमा कहलिनेछ ।

हरि:ॐ॥



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.