Advertisement

राष्ट्रियसभा निर्वाचनः १९ पदका लागि आज उम्मेदवारी

0 296

Advertisement

२० पुस, काठमाडौं । प्रमुख राजनीतिक दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि आआफ्ना उम्मेदवारको टुंगो लगाएका छन्। सत्ता गठबन्धनमा रहेका दलहरूले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने भएका छन्। सोही अनुसार सिट संख्या बाँडफाँट गर्दै गठबन्धनका सदस्यमध्ये माओवादी केन्द्र र जनमोर्चाबाहेक अन्यले उम्मेदवारको टुंगो लगाएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि उम्मेदवारको टुंगो लगाएको छ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभामा उम्मेदवार बनाउने ६ जनाको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले प्रदेश १ बाट गोपाल बस्नेत, वाग्मती प्रदेशबाट कृष्ण पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनी प्रदेशबाट युवराज शर्मा, कर्णालीबाट दुर्गाकुमारी गुरुङ पुन र सुदूरपश्चिम प्रदेशबाट नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

राष्ट्रियसभामा फागुन २० गतेबाट रिक्त हुने १९ स्थानमध्ये कांग्रेसले ६ पदमा मात्र उम्मेदवारी दिनेछ। कांग्रेसबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन्। पन्त १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महिलातर्फ सहमहामन्त्रीको उम्मेदवार थिइन्। केन्द्रीय समितिको बैठकअघि बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको थियो। त्यसलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो।

त्यस्तै नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ। सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोरा र सुदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

जनता समाजवादी पार्टीले भागमा परेका दुई पदका लागि मोहमद खालिद र रामप्रीत पासवानलाई अघि सार्ने तयारी गरेको छ। माओवादी केन्द्रले उम्मेदवार छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

त्यसअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति गरेको थियो। गठबन्धनको बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच/पाँच, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो। ५९ सदस्यीय राष्ट्रियसभामा रिक्त हुन लागेका १९ पदमध्ये एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका चार/चार र कांग्रेसका ३ सांसदको कार्यकाल सकिँदैछ। राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले माघ १२ गते मतदान मिति तोकेको छ।

राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशका ५ सय ३२ जना प्रदेशसभा सदस्य, पालिका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष १ हजार ४ सय ९३ सहित जम्मा २ हजार २५ मतदाता हुनेछन्। प्रदेश १ मा २ सय ६४, प्रदेश २ मा ३ सय ७२, वाग्मतीमा ३ सय ४६, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ९६, कर्णालीमा १ सय ९१ र सुदूरपश्चिममा २ सय २७ मतदाता छन्। मतदाताको संख्या हेर्दा यो निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेताहरू नै निर्वाचित हुने देखिन्छ।

निर्वाचन आयोगले प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशाला तथा प्रदेश २ मा महेन्द्रनारायण निधि भवनलाई मतदान केन्द्र तोकेको छ। वाग्मतीमा हेटौंडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा दाङको कर्मचारी मिलन केन्द्र भवन, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ।

एमालेले पनि तोक्यो उम्मेदवार

नेकपा एमालेले पनि राष्ट्रियसभाका रिक्त पदका लागि उम्मेदवार तय गरेको छ। एमालेको सचिवालय बैठकले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) लाई उम्मेदवार बनाएको बनाउने भएको छ। प्रदेश २ मा खुलातर्फ असर्फी यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट)लाई उम्मेदवार तय गरिएको छ। वाग्मतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) लाई उम्मेदवार बनाइएको छ।

त्यसैगरी लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई उम्मेदवार बनाएको प्रचार विभागले जनाएको छ। कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेदवार बनाइएको छ। त्यसैगरी सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश विक (बैतडी) लाई एमालेले उम्मेदवार बनाउने भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.