Advertisement

वर्षकै ठूलो वर्षा

0 1,676

Advertisement

१३ भदाै,काठमाडौँ । दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्ष भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् ।

उहाँले दिनुभएको जानकारीअनुसार दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापनकेन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

एक साता अझै वर्षा

सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुलाई र अगस्ट महिना मनसुन उच्च रूपमा सक्रिय रहने महिना हो । सोही कारण पनि अगस्ट महिनाभर र सेप्टेम्बरको पहिलो सातासम्म पनि यो वर्षको मनसुन सक्रिय नै रहने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार शनिबारसम्म तराई केन्द्रित रहेको मनसुनी वर्षा अब नेपालको पूर्वी भेग र सुदूूरपश्चिम भेगमा थप सक्रिय बनेको छ । जसअनुसार अबको दुई दिन प्रदेश १ र सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भारी वर्षा हुने आँकलन गरिएको छ ।

तराई छोएका जिल्लामा पनि वर्षा हुँदै रोकिँदै गरेर मनसुनले आफ्नो सक्रियता जनाउने भएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली भेगका पहाडी इलाकाको केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ । अबको एक सातापछि मात्र मौसममा हल्का सुधार हुँदै जाने अनुमान गरिएको छ ।

बाढीपहिरोमा थप तीनको मृत्यु

बाढीपहिरोमा परेर शनिबार तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता र तीन जना घाइते भएका छन् । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका हस्तबहादुर पुलामीको घर पहिरोले पुरिँदा परिवारका तीन सदस्य बेपत्ता भएकामा उनीहरूको शव शनिबार भेटिएको हो । हस्तबहादुर भने घाइते अवस्थामा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बाढीपहिरोका कारण १७ घर क्षतिग्रस्त भएका छन् । साथै ३२७ स्थानीयलाई जोखिमपूर्ण स्थानबाट अन्यत्र स्थानान्तरण गरिएको छ । थप उद्धार राहत व्यवस्थापनका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सिन्धुलीको गोलन्जोर गाउँका पूर्णबहादुर कार्की बाढीमा बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजतलास जारी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.