Advertisement

दिक्तेल रुपाकोट मझुवागढीमा निषेधाज्ञा

0 1,185

Advertisement

०२ भदाै, खोटाङ । कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि मङ्गलबारदेखि यही भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्णरूपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले जानकारीदिनुभयो । पछिल्लो समय दिक्तेल बजारमा सङ्क्रमण उच्च अधिक देखिएको छ उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाभित्रका औषधि पसल, इन्धन, तरकारी पसललगायत अत्यावश्यक कामका लागि सञ्चालन गर्नुपर्नेबाहेकका सम्पूर्ण होटल, व्यापार व्यवसाय तथा यातायातका साधन बन्द गरिएको छ ।


पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र सङ्क्रमित दर उच्च देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको जनाउँदै गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी, संस्थान, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयको सेवा स्थगन , नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजालगायतका भीडभाड हुने सबै क्षेत्र बन्द, नगरभन्दा बाहिरका शहर र अन्य क्षेत्रबाट पूर्वस्वीकृति लिएर आउने नगरवासीले अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

कोभिड अस्पतालले सिफारिस गरेका बिरामीलाई मात्र नगरपालिकाले सिफारिस गरेको अस्पतालमा गाडीमार्फत पु¥याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपरेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, मास्क र स्यानिटाइजर प्रयोग गरी भौतिक दूरीजस्ता जनस्वास्थ्यको मापदण्ड अनिवार्य परिपालना गर्ने गराउने निर्णय भएको छ । दिक्तेल बजारकै एकजना सङ्क्रमितको मृत्यु भएपछि नगरपालिकालाई गत जेठ ७ गतेदेखि केही समय बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलमा यसअघि जारी गरिएको निषेधाज्ञाका अवधिमा बैंक तथा वित्तीय संस्था र कतिपय सरकारी कार्यालयको सेवा प्रवाहलाई छुट दिएर व्यापार व्यवसाय मात्र बन्द गर्न खोजेको व्यवसायीको गुनासो थियो । नगरपालिकामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या १३४ रहेको नगर स्वास्थ्य शाखा प्रमुख तीर्थ आचार्यले जानकारी दिनुभयो ।

एक हजार २३७ मा सङ्क्रमण देखिएको यस नगरपालिकामा हालसम्म आठ जनाले कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाइसकेका छन् । नगरपालिकामा सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितमध्ये गम्भीर छ दिक्तेलस्थित कोभिड अस्पतालमा र १२८ होमआइशोलेसनमा छन् ।

नगरपालिकाले निषेधाज्ञा कार्यान्वयन भए नभएको अनुमान गर्न नगरप्रमुख रिजालसहित प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरीक्षक उमेश लम्साल, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीलगायतका टोली बजार निस्किएको थियो । पछिल्लो समय जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पुनः समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा ‘तपाईँको मास्क खोइ ?’ अभियानसमेत सुरुआत गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाखयता दुई हजार २०६ मा कोरोना सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा हालसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.