Advertisement

४ महिनामै संक्रमण गत वर्षको भन्दा दोब्बर

0 973

Advertisement

०१ भदाैँ, काठमाडाैँ । गत वर्ष साढे २६ हजार संक्रमित भएकामा यस वर्षको ४ महिनामै झन्डै ६० हजार थपिए, मृत्युदर पाँच गुणा धेरै

कोरोना महामारीको पहिलो लहरमा गत वर्षको चैतसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या २६ हजार ६ सय ३३ थियो । दोस्रो लहर सुरु भएपछि वैशाखयता यो संख्यामा ५९ हजार ३ सय ७६ थपिएर ७६ हजार ३ सय ४२ पुगेको छ । चार महिनाको अवधिमा थपिएको संक्रमितको संख्या गत वर्षको कुल संख्याको दोब्बरभन्दा बढी हो ।

गत वर्षको तुलनामा संक्रमितको मृत्युको संख्या ४ महिनामै ५ गुणा वृद्धि भएको छ । गत वर्ष २ सय ७ जनाको मृत्यु भएकोमा यस वर्षको वैशाखदेखि साउनसम्म थप ९ सय ९५ ले ज्यान गुमाएका छन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १ हजार २ सय २ पुगेको छ । चैतमा संक्रमण घटेर संक्रिय संक्रमितको संख्या प्रदेशभर ४ सय १६ मात्रै थियो ।

वैशाखमा ९ हजार ६ सय ६७ संक्रमित थपिए । वैशाख १५ बाट निषेधाज्ञा जारी भए पनि संक्रमणको दर घटेन । जेठमा झनै संक्रमण बढ्दै एक महिनामै २४ हजार १४ संक्रमित थपिए । वैशाखमा १ सय ३४ ले ज्यान गुमाएकामा जेठ महिनामा मात्रै ५ सय १६ संक्रमितको निधन भयो । असारमा संक्रमणको दर केही मात्रामा घट्यो । उक्त महिनामा ९ हजार ८ सय ७२ थपिए भने १ सय ५७ को ज्यान गुम्यो । साउनमा संक्रमणको दर फेरि उकालो लाग्यो । यो महिनामा १५ हजार ८ सय २३ नयाँ संक्रमित थपिए भने १ सय ८८ ले ज्यान गुमाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.रामबहादुर केसी पहिलेभन्दा परीक्षण दर बढेकोले संक्रमितको संख्या वृद्धि भएको देखिएको बताउँछन् । ‘पहिला घरमै रोग लुकाएर बस्ने धेरै थिए उनले भने अहिले लक्षण देखिनेबित्तिकै जँचाउन आउनेको संख्या बढेकोले पनि धेरै संक्रमित फेला परेका हुन् ।’ निषेधाज्ञा खुकुलो हुने वित्तिकै बजारमा आवतजावत बढ्नु, स्वास्थ्य मापदण्डको ख्यान नगर्नु पनि संक्रमण वृद्धिको कारण भएको उनले बताए ।

‘खोप लगाएको छु भनेर निस्फिक्री हिँडेको देखियो,’ उनी भन्छन्, ‘खोप केन्द्रकै भीडबाट पनि कोरोना फैलिन मद्दत पुग्यो ।’ प्रदेशमा ३ लाख २२ हजार ३ सय २७ ले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाएका छन् । साउन ३१ सम्म ५ लाख ५१ हजार ८ सय ५० ले पहिलो मात्रा लगाएका छन् ।

हाल प्रदेशभर ६ हजार १ सय ६८ सक्रिय संक्रमित छन् । सबैभन्दा धेरै कास्कीमा मात्रै २ हजार १ सय १५ सक्रिय संक्रमित छन् । कास्कीमा हालसम्म ३० हजार ४ सय ३३ संक्रमित हुँदा मृत्यु ५ सय १७ ले ज्यान गुमाएका छन् । अधिकांश संक्रमित तथा मृतक पोखरा महानगरपालिका भित्रका हुन् । ठूलो संख्यामा सक्रिय संक्रमित हुँदा प्रदेशको तयारी भने सुस्त छ । सरकारी अस्पतालमा बेड संख्या नबढ्दा संक्रमितले निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन् ।

प्रदेशकै ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड उपचारका लागि २ सय बेड संख्या थप गर्ने भने पनि अहिलेसम्म थपिएको छैन । ५ सय बेडको स्वीकृति लिएको यो अस्पतालमा हाल जम्मा ३ सय ५० बेड छन् । तीमध्ये ८० बेड मात्रै कोभिड संक्रमितका लागि छुट्याइएको छ । २५ बेड आईसीयू सबै भरिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.केसीले संघअन्तर्गतको अस्पताललाई पटकपटक ताकेता गर्दा पनि बेड नथपिएको बताउँछन् । प्रदेश सरकारले बेड बिस्तार गर्न अक्सिजन पाइपलाइन विस्तारका लागि ३५ लाख रुपैयाँ अस्पताललाई दिएको उनले बताए ।

अस्पतालका निर्देशक प्राडा.भरतबहादुर खत्रीले २ सय बेड एकैपल्ट बिस्तार गर्न नसकेको स्विकारे । ‘पाइपलाइन विस्तारमा हामीले भनेको गुणस्तरको सामग्री ल्याउने ठेकेदार भेटिएनन त्यसैले पुन टेन्डर आह्वान गर्नुपर्‍यो,’ उनले भने प्रक्रियागत रूपमा केही ढिलो भएकै हो ।’ उनले सुरुमा ३५ बेड थप्ने र त्यसपछि थप्दै जाने बताए ।

प्रदेशद्वारा पोखराको लेखनाथमा सञ्चालित संक्रामक तथा सरुवा रोग अस्पतालका ५७ बेड नै भरिएका छन् । प्रदेशभर सरकारी, निजी तथा सामुदायिक अस्पतालमा ५ सय ८१ आइसोलेसन, २ सय १४ आईसीयू, ४ सय ६७ एचडीयू बेड र ८३ भेन्टिलेटर छन् । यी अस्पतालमा ३ सय ६९ संक्रमितको उपचार भइरहेको छ । बाँकी संक्रमित होम आइसोलेसनमै छन् ।

सरकारीमा बेड नपाइने र निजीमा चर्को शुल्क तिर्नुपर्ने डरले जटिल संक्रमितसमेत होम आइसोलेसनमा बसेको हुन सक्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.डेभिड श्रेष्ठ बताउँछन् । ‘यति धेरै सक्रिय संक्रमित हुँदा अस्पताल भर्ना भएकाको संख्या तुलनात्मक रूपमा थोरै हो,’ उनी भन्छन्, ‘अस्पतालमा उपचार गर्दा पैसा पनि सकिने र संक्रमितको ज्यान पनि नरहने डर धेरैमा देखिन्छ ।’

मन्त्रालयका प्रवक्ता डा.केसीले प्रदेशमा बेडको अभाव नरहे पनि उपचार महँगो भएको स्विकार्छन् । अहिले बेड नपाएको गुनासो सुनिएको छैन, उपचार महँगो भयो भन्ने छ उनले भने निजी अस्पताललाई नियमन गर्नेतर्फ ध्यान दिन्छौं ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.