Advertisement

भासियो मस्र्याङ्दी नदीको झोलुङ्गे पुल

0 679

Advertisement

१८ असार, दमौली । केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिनुभयो । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे । पुल भासिएको अनुगमनका लागि आँबुखैरेनीका जनप्रतिनिधिलगायत कर्मचारीको टोली त्यसतर्फ जान लागेको पोख्रेलले बताउनुभयो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले पनि पुलको अनुगमन गर्ने तयारी गरेको छ । पोखराबाट प्राविधिक टोली पनि आउने तयारीमा रहेको जानकारी पाएको पोख्रेलले बताउनुभयो ।

अनाथ बालबालिका पढाउन समता विद्यालय

अनाथ, असहाय, विपन्न बालबालिका पढाउन व्यास नगरपालिकाले व्यास नगर समता विद्यालय स्थापना गर्ने भएको छ । नगरभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाको शिक्षाका लागि नगरपालिकाले नगर समता विद्यालय स्थापना गर्न लागेको हो ।

व्यास–७ शेशमटारमा रहेको व्यास नगर क्यामिन कोट प्राथमिक विद्यालयमा आवासीय विद्यालय स्थापना गर्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । “माध्यमिक तहसम्मको शिक्षा लिन कठिन भएका बालबालिकालाई मध्यनजर गर्दै आवासीय विद्यालय स्थापना गर्ने नीति नगरसभाबाट पारित भएको छ”, सिग्देलले भन्नुभयो ।

नगरपालिकाले वडा नं १ मा अवस्थित आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने भएको छ । नमूना विद्यालयका रुपमा छनोट भएका निर्मल र सत्यवती माविको पूर्वाधार विकासका लागि सहजीकरण, कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यार्थीलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्धलाई निरन्तरता दिने नीति पारित गरिएको छ ।

नगरपालिकाभित्रका धार्मिक विद्यालयहरु, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सहयोग, यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम र माविका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था, ‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने विश्वासका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी सम्मान एवं पुरस्कृत गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा छुट

नगरपालिकाले छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति अवलम्बन गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।

छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायत सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । नगरपालिकाले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने प्रबन्ध मिलाउने भएको छ ।

दलित, बोटे, दरै, कुमाल, चेपाङका छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाइने उपप्रमुख जोशीले बताउनुभयो । नगरपालिकाले महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउन ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान, स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग, ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीको पोषणमा सहयोग गर्ने नीति पारित गरिएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति, दलित, सीमान्तकृत, लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुण्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवं जीवन उपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

दलितसँग नगरप्रमुख कार्यक्रम

नगरपालिकाले ‘दलितसँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । दलितका परम्परागत पेशालाई आधुनिकीकरण गरी उत्पादकत्व वृद्धिका लागि यो कार्यक्रममार्फत परम्परागत आरनहरुको आधुनिकीकरण, सिलाइ पेशामा आबद्ध व्यक्तिहरुलाई तालीम एवं मेशिन खरीद अनुदान, छालाको काम गर्नेलाई मेशिन खरीद अनुदान तथा अन्य परम्परागत पेशामा अनुदान दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.