Advertisement

नेपालगन्जमा संक्रमण भयावह

0 1,022

Advertisement

१० वैशाख, बाकें । नेपालगन्जमा तीव्ररूपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणको प्रयास असफल भइरहेको छ। समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई बुधबार रातिदेखि ‘लकडाउन’ गरिसकेको छ। तर पनि संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। स्थानीय प्रशासनले गरेको लकडाउनलाई आम नागरिकले पूर्णरूपले पालना गरेका छैनन् । कतिपय ब्यक्तिहरू अत्यावश्यक कामका लागि भन्दै बाहिर निस्कने गरेका छन्। जसले गर्दा कोरोना संक्रमण झन् बढिरहेको सम्बद्ध सरोकारवाला बताउँछन्।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डे समुदायमा अधिकतम रुपले फैलिसकेको कोरोना संक्रमण नियन्त्रण गर्न चुनौती थपिएको बताउँछन्। ‘नेपालगन्जमा कोरोना संक्रमण बढ्ने संकेत देखिने बित्तिकै सरकारले लकडाउन गरेको भए यति धेरै संक्रमण फैलिने थिएन,’ उनले नागरिकसँग भने ‘कोरोना संक्रमणका बीच धेरै कार्यक्रम आयोजना भए, नयाँ वर्षको उत्सब मनाइयो, जसले गर्दा कोरोना संक्रमणभित्र भित्रै फैलियो।’

नेपालगन्जमा यति छिटो संक्रमण फैलिनुका पछाडी विभिन्न कारण रहेको उनी बताउँछन्। ‘पहिलो कुरा त यो विश्वव्यापी रुपमा नयाँ भेरियन्टका रुपमा देखा परेको भाईरस हो, भारतमै त्यत्रो महामारी छ, खुल्ला सिमा भएकाले यहाँ त्यसको असर देखिनु स्वभाविक हो,’ उनले भने ‘दोस्रो कुरा अहिलेको भाईरस टाढैबाट र तुरुन्तै सर्ने खालको छ, तेस्रो कुरा संक्रमण फैलिदाँ पनि लापरबाही भयो, समयमा लकडाउन गरिएन।’

नेपालगन्जमा कोरोना संक्रमण यति धेरै बढेको छ भन्ने कुराको पुष्टि दैनिक रुपमा सार्बजनिक भएका प्रयोगशाला रिपोर्टले पुष्टि गरिरहेको छ। बितेको २४ घण्टा भित्र मात्रै यहाँ ३ सय ३७ जनामा संक्रमण भएको छ। बितेको २४ घन्टाभित्र कुल ६ सय ७ वटा स्वाब परीक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन्।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका नयाँ संक्रमितमा १ सय ४७ जना पुरुष र १ सय ११ जना महिला रहेका छन्। यो सँगै बाँकेका संक्रमित संख्या ६ हजार १ सय ५४ पुगेको छ । ‘यसमध्ये पुरुष ३ हजार ८ सय ३६ र महिला २ हजार ३ सय १८ पुगेको छ,’ ओलीले भने। उनका अनुसार बाँकेमा बिहीबारसम्म ४१ पुरुष र २६ महिला गरी ६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। यस्तै बाँकेमा जिल्ला बाहिरका ७३ जना पुरुष र २५ महिला गरी कुल ९८ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। यहाँस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा अचेल दैनिक रुपमा २ देखी ४ जनासम्म संक्रमितको मृत्यु भइरहेको छ।

पछिल्लो समयमा फेला परेका संक्रमित मध्ये १ हजार २ सय ६६ जना आइसोलेसनमा बसिरहेका छन्। यसमध्ये भेरी अस्पतालमा पुरुष ७६ र महिला ६३ गरी १ सय ३९ जना रहेका छन्। यसमध्ये ३८ जना सिकिस्त छन्। संक्रमित ७ जनाको भेन्टिलेटमा उपचार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३७ पुरुष र २८ महिला गरी ६५ जनाको उपचार भइरहेको छ । यसमध्ये २० जना सिकिस्त रहेको बताइएको छ।

होटल ह्वाइट हाउस मनिकापुरमा १० पुरुष र २ महिला गरी १२ जना, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ जना पुरुष र होम आइसोलेसनमा ६ सय ६१ पुरुष र ५ सय २० महिला गरी १ हजार १ सय ८१ जना रहेका छन्। यसैगरी बाहिरी जिल्लाका ७२ जनाले पनि नेपालगन्जमा उपचार गराइरहेका छन्।

दिनहुँ संक्रमण फैलिरहँदा नेपालगन्जबासी त्रसित भइरहेका छन्। बढ्दो संक्रमण रोक्न सर्वसाधारणले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्नुपर्र्ने र स्थानीय प्रशासनले लकडाउनलाई थप कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव छ। वरिष्ठ फिजिसियन डा. पाण्डे भन्छन्, ‘पहिले एक पटकमा २० प्रतिशत जतिलाई संक्रमण पुष्टि हुँदा हामीलाई नौलो लाग्थ्यो, अहिले एकैपटक ७०/८० प्रतिशत संक्रमित भइरहेका छन्।’ अस्पतालमा धेरैभन्दा धेरै एनेस्थेसियन चिकित्सक आवश्यक रहेको बताउँदै पाण्डेले भने, ‘कोरोना संक्रमणलाई नियन्त्रण गर्न अब सबै डाक्टरले कोभिडका बिरामी जाँच्ने र सबै अस्पतालले कोभिडका बिरामी भर्ना गर्ने नीति बनाउनुपर्छ, नत्र गाह्रो भइसक्यो।’

भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ कोरोना संक्रमित भर्ना हुँदा अस्पतालको कोभिड वार्ड पूरै भरिसकेको बताउँछन्। कोभिड वार्डमा कार्यरत जनशक्ति अभाव भइरहेको उनले सुनाए। ‘कोभिड वार्डमा भर्ना भएका संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मीको अभाव भइरहेको छ, जनशक्ति थप गर्ने विषयमा आवश्यक छलफल भइरहेको छ,’ उनले भने। कोरोना संक्रमण नियन्त्रणको प्रयास असफल भइरहेको भन्दै समितिका सदस्य श्रेष्ठले सर्वसाधारण घरमै बसेर जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै उत्तम विकल्प भएको बताए। कठिन अवस्थामा पनि भेरी अस्पतालले सर्वसाधारणको उपचारमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.