कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सुरु
०७ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरूद्धको पहिलो चरणको खोप लगाएकालाई मंगलबारदेखि दोस्रो चरणको खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइनेछ।
यसअघि माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो। यस्तै मन्त्रालयले दोस्रो चरणको खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो परिचय खुल्ने कुनै अनिवार्य लिएर जान सुझाएको छ।
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते, माघ १८, १९, २०, २१, र २७ गते लगाएकालाई वैशाख ८ गते र माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकालाई वैशाख ९ गते लगाउन मिति तोकेको छ। यस्तै माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।
खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाइनेछ। मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई आफू पायक पर्ने खोपकेन्द्रमा गइ खोप लगाउन आग्रह गरेको छ।
पहिलो खोप अभियानअन्तर्गत सरकारले भारत सरकारले अनुदानमा दिएको र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिएको थियो। खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।