Advertisement

एमाले पूर्व सांसद ईच्छाराज तामाङ ९ अर्ब घोटालामा ईच्छाराज तामाङ नै समलग्न

1 1,249

Advertisement

२३ चैत, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सोल्टीमोडमा रहेको सिभिल लिमिटेडका सदस्यहरूले खाइनखाइ बचत गरेको झण्डै नौ अर्ब रुपैयाँ अपचलन गरेको पाइएको छ र एक दशक अघिदेखि उनले सहकारीको सिद्धान्तविपरीत बचतकर्ताले बचत गरेको रकम त्यसरी मनपरी ढंगले आप्mनो स्वार्थअनुकूल आफैँले सञ्चालन गरेका कम्पनीहरूमा लगानी गरेर अनियमितता गर्दा पनि सम्बन्धित सरोकारवाला सबै सरकारी निकायहरूले अनदेखा गरेर दिन कटाउँदै आएका छन् ।

सिभिल ग्रुपकै अध्यक्ष रहेका पूर्वएमाले सांसद तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् र बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता माग्दा समेत सहकारीले रकम फिर्ता गरेको छैन, त्यसको नेतृत्व उनीहरूसँग लुक्दै र भाग्दै आएको छ ।

आफूले बचत गरेको रकम पटक–पटक माग्दा नपाएपछि बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिँदा पनि अध्यक्ष तामाङले बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । पीडित बचतकर्ताले गरेको आन्दोलनको जानकारी सरकारका सो सम्बद्ध सरोकारवाला निकायहरू सहकारी विभाग, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, सहकारी मन्त्रालयलगायत सबैले पाए पनि अध्यक्ष तामाङको अनियमितताविरुद्ध कसैले पनि चासो दिएर छानबिन गरेका छैनन् र उल्टै देखेको नदेख्यै गरेर उक्त अनियमितताको मौन संरक्षण गरेका छन् ।

२०५७ सालदेखि कारोबार गरेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका प्रमुख सञ्चालक इच्छाराज तामाङ काठमाडौंका स्थानीय बासिन्दा होइनन् । उनी रामेछापका हुन् । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएसँगै सुरु भएको आर्थिक उदारीकरणको सदुपयोग गर्दै रामेछापबाट राजधानी आएका तामाङले आफन्त र मन मिल्ने मानिसहरूलाई समेटेर सिभिल सहकारी सञ्चालन गरेका थिए ।

सर्वसाधारण जनतासँग बचत संकलन गर्दै सदस्यता वितरण गरेका थिए । त्यसरी जनतासँग उठाइएको रकम उनले तिनै बचतकर्ता सदस्यहरूलाई लगानी पनि गरेनन् र रकम फिर्ता माग्नेहरूलाई फिर्ता पनि दिएनन् तर उनले उक्त रकम आफैँले खोलेको अरु कम्पनीहरूमा लगानी गरेका छन् । उनले सिभिल सहकारीमा जम्मा भएको जनताको बचत अपचलन गरी सिभिल होम्स, सिभिल स्टेट, सिभिल अपार्टमेन्ट, सिभिल मललगायत नौवटा कम्पनीमा लगानी गरेका छन् ।

सिभिल मल उनको आफ्नो हुँदै होइन, उनले लालकाजी गुरुङको सम्पत्ति सत्ता र शक्तिको आडमा जबर्जस्ती कब्जा गरेर राखेका छन् । अरु कम्पनी उनी आफैँले खोलेको भए पनि कुनै पनि नाफामा गएका छैनन्, सधैँ घाटामा रहेका छन् । घाटामा रहेका उनका ती कम्पनीलाई कुनै पनि बैंकले कर्जा दिने अवस्था नरहेकोले उनले आफैँले खोलेको सिभिल सहकारीको रकम खुलेआम रुपमा अपचलन गर्दै आएका छन् । सिभिल सहकारीको अध्यक्ष केशवलाल श्रेष्ठ नाताले सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङका मामा ससुरा हुन्, उनी सिभिल सहकारीका अध्यक्ष केशवलालका भाञ्जी ज्वाइँ हुन् ।

सहकारीको रकम अपचलनकारी तामाङ सिभिल ग्रुपका अन्य कम्पनीसँगै सिभिल बैंकको समेत अध्यक्ष रहेका छन् । सिभिल सहकारीको सञ्चालक समिति सिभिल ग्रुपका अध्यक्ष तामाङको लाचार छायाँ बन्दै आएको छ र सहकारीले उनको अनुमति विना कुनै निर्णय गर्ने हैसियत देखाउनसकेको छैन ।

सिभिल सहकारीको सञ्चालक समिति र व्यवस्थापन समितिमा अरु नै व्यक्ति भए पनि अहिलेजस्तो विकाराल अवस्था आउनु अघिसम्म जनताको बचत दुरुपयोग गरेर आफ्नो व्यक्तिगत फाइदाका कम्पनीमा लगानी गर्ने र जनतालाई रकम फिर्ता नगरेर रुवाबासी गराउने तामाङ सोल्टी मोडमा रहेको सिभिल सहकारीको भवनमा अड्डा जमाएर बस्ने गर्दथे, तर केही समययता सहकारीबाट रकम फिर्ता नपाउने पीडित बचतकर्ताहरूले सहकारी परिसरमा धर्ना, जुलुस र नाराबाजी गर्न थालेपछि साँझ अबेरसम्म सिभिल बैंकको केन्द्रीय कार्यालयमा आफ्नो कार्यकक्ष खडा गरेर त्यहीँ लुकेर बस्ने गरेका छन् र साँझ परेपछि सिभिल सहकारीको अखडामा पुगेर दिनभरको रिपोर्टिङ लिने गरेको सम्बद्ध समाचार स्रोतले जनाएको छ । तर उनले अपचलन गरेको झण्डै नौ अर्ब रुपैयाँ सहकारीलाई फिर्ता नगर्दा सहकारीका बचतकर्ताहरूको रुवाबासी मात्र मच्चिएको छैन, कतिपय बचतकर्ताको घरवार उठिवास लागेको छ ।

जनतामाथि यसरी खुलेआम रुपमा यति ठूलो अनियमितता हुँदा पनि सरकारीपक्ष देखेको नदेख्यै गरेर इच्छाराज तामाङ र सहकारीको मिलेमतोमा ठगीको घटनालाई आँखा चिम्लिएर संरक्षण गरिरहेको छ । आर्थिक दैनिकमा खबर छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] परिसर काठमाडौंका एसएसपी अशोक सिंहले “निगरानी ब्युराे” लाई बताए […]

Leave A Reply

Your email address will not be published.