Advertisement

वीरगन्जमा फेरि कोरोना संक्रमण बढ्दै, नाकामा छैन निगरानी

0 1,072

Advertisement

०९ चैत, वीरगन्ज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेकै दिन वीरगन्जमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। लामो समयपछि वीरगन्जमा एकै दिन १० जनामा कारोना संक्रमण भेटिएको हो।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सरोज रोशन दासका अनुसार पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका ५० जनाको स्वाब परीक्षण गर्दा पर्साको वीरगन्ज महानगरका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको हो।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ का २७ वर्षीया महिला, वडा नम्बर १० का २८ वर्षीय पुरुष र वडा नम्बर ३१ का २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ की २७ वर्षीया महिला, वडा नम्बर ३ का ३८ वर्षीय पुरुष र २८ वर्षीया महिला, वडा नम्बर ५ का २० वर्षीय पुरुष, वडा नम्बर ८ का २४ वर्षीय पुरुष, वडा नम्बर ९ का ३१ वर्षीय पुरुष तथा झापाको मेची नगरपालिका १२ का २५ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको डाक्टर दासले जानकारी दिए।

५० जनाको परीक्षण गर्दा ती मध्ये १० जनामा संक्रमण भेटिनुले वीरगन्जमा फेरि संक्रमण बढेको भन्न सकिने अवस्था भएको उनले बताए। उनले भने,‘संक्रमण नियन्त्रणमा आएपछि विगत ३-४ महिनादेखि दिनहुँ फाट्ट फुट्ट रुपमा २ वा ३ जनामा मात्र संक्रमण भेटिने गरेको थियो तर आइतबार ५० जनामध्ये १० जनामै संक्रमण भेटिनु चिन्ताको विषय हो। यसले फेरि संक्रमण बढ्न थालेको संकेत भन्ने सकिने अवस्था छ।’

आइतबार संक्रमण पुष्टि भएका पर्सा र अन्य जिल्लाका स्थायी घर भएर पर्सामा बस्दै आएका सबै १० जना होम आइशोलेनमा बसेका डाक्टर दासले जानकारी दिए। उनले भने, ‘सबैमा सामान्य ज्वरो र खोकीको लक्षण मात्र छ। गम्भीर अवस्थाको कोही पनि छैनन्। त्यसैले होम आइशोलेनमा बस्न सुझाएका छौं।’

स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा आइतबारसम्म संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ३० पुगेको छ। तीमध्ये ५३ जनाको मृत्यु भएको छ ।

यस्तै अहिलेसम्म पर्सामा कोरोना संक्रमण मुक्त हुनेको संख्या भने ३ हजार १ सय २० रहेको स्वासथ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

उनका अनुसार पर्सामा अहिले ५७ जना संक्रमित होम आइशोलेनशमा छन्। संक्रमण बढे पनि वीरगन्जमा संक्रमितको उपचार गर्ने अस्पताल छैन। यता वीरगन्जमा फेरि संक्रमण बढ्न थाले पनि संक्रमितको उपचार गर्ने आइशोलेसन कक्ष वा कोभिड अस्पताल भने छैन।

कोरोनाको पहिलो लहर सुरु भएका बखत वीरगन्जमा नारायणी अस्पताल तथा त्यस मातहतमा गण्डक हस्पिटल, वीरगन्ज हेल्थ केयर हस्पिटल र नेशनल मेडिकल कलेजको बाबा होटलमा अस्थायी कोभिड अस्पताल सन्चालन गरी संक्रमितको उपचार गरिएको थियो। तर अहिले ती सबै अस्थायी कोभिड अस्पताल ४ महिना पहिले नै बन्द भइसकेका छन्।

त्यसैले अब गम्भीर अवस्थाका संक्रमित भेटिए उनीहरुलाई राखेर उपचार गर्ने स्वास्थ्य संस्था अहिले वीरगन्जमा छैन। वीरगन्जका चिकित्सकले २ दिन अघि मात्र खुल्ला सीमा जोडिएको छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा केहि दिन यतादेखि फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकाले वीरगन्ज र यस आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक भएको बताएका थिए।

यहि बेला होली लगायतका चाडपर्व पनि नजिक आइरहेका कारण स्वास्थ्य सतर्कता नअपाएको खण्डमा वीरगन्ज लगायत आसपासका क्षेत्रमा पुन जेठ–साउनको जस्तै भयावह स्थिति फर्किने जोखिम रहेको डाक्टर उदयनारायण सिंह बताउँछन्। वीरगन्जकै नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहका अनुसार गत बिहीबार भारतको कोलकत्ता र मुम्बइबाट हालै वीरगन्जमा आएका ३ जनामा गम्भीर प्रकारको कोरोना संक्रमण भेटिएको थियो।

नाकामा छैन निगरानी

भारतमा कोरोनाा माहामारी बढेपछि गत वर्षको चैत ११ गतेदेखि बन्द गरिएको वीरगन्ज नाकामा अहिले भारतीय निजी र यात्रुवाहक सवारी साधनलाई मात्र नेपाल भित्रिन रोक लगाइएको छ। तर दुई तथा तीन पाङग्रे सवारी साधन र मानिसको सहज आवगमन भने सुचारु नै छ।

भारतमा केही दिन यता पुन संक्रमण तीव्र रुपमा फैलिरहेको भए पनि नेपालकै प्रमुख स्थल नाका वीरगन्जमा भने राज्यको तर्फबाट कुनै निगरानी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन। कोरोनाको पहिलो लहर सुरु भएका बेला कोरोना महामारीको इपिसेन्टर नै बनेको वीरगन्जमा पहिलो पटक गत चैत ३० मा ३ जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो। उनीहरु भारतबाटै आएर वीरगन्जमा बसेको अवस्थामा शंका लागेर वीरगन्जको नारायणी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी असमान तमाङगले भारतमा संक्रमण बढिरहेको र खुल्ला सीमा जोडिएका कारण वीरगन्ज उच्च जोखीममा रहेको बताए।

तराईबासीको ठूलो पर्व होली नजिकिइरहेका कारण पर्व मान्ने भारतबाट फर्किनेहरुको संख्या बढ्ने भएकाले त्यसलाई पनि मध्यनजर गरेर नाकाको व्यवस्थापन आवश्यक रहेको उनले बताए।

आइतबार नै जिल्लाका चार वटै सुरक्षा प्रमुखहरुको बैठक बसेर एक चरणाको छलफल गरिएको जानकारी उनले दिए। सम्भवत सोमबार नेपाल सरकारले नाका व्यवस्थापनाका विषयमा निर्णय गर्ने र त्यही निर्णयको पर्खाइमा आफूहरु रहेको पनि उनले बताए।

सरकारको निर्णय आएपछि त्यसै अनुसार वीरगन्ज नाकामा स्थानीय प्रशासनले नाकाको निगरानी र व्यवस्थापन गर्ने उनले बताए।
यसका साथै वीरगन्जमा संक्रमितको उपचारका लागि अस्थायी कोभिड अस्पताल र आइशोलेशन कक्ष पुन सन्चालनका विषयमा पनि निर्णय गरिने उनले बताए।

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज। तस्बिर : क्रान्ति शाह।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.