१४ कार्तिक, बार्सिलोना । बालोन डी’अर अवार्ड ह्यारी केनले जितेपछि निराश बनेका बार्सिलोनाका फरवार्ड लामिन यामलले त्यसलाई राम्रोसँग सामना गरेको प्रशिक्षक हान्सी फ्लिकले शुक्रबार बताएका छन् ।
क्याटलन क्लब बार्सिलोनासँग ला लिगाको उपाधि जित्नुका साथै स्पेनबाट विश्वकप उपाधिसमेत उचालेका १९ वर्षीय विंगर यामल सोमबार विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’अरको मतदानमा तेस्रो भएका थिए । उनी इंग्ल्यान्डका केन र फ्रान्सका केलियन एमबाप्पेभन्दा पछि परेका हुन् ।
ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु मैदानमा अलाभेससँग खेल्नुअघि प्रशिक्षक फ्लिकले भने, ‘ह्यारी केन यो अवार्डका हकदार थिए । तर, लामिनका बारेमा मेरो धारणा के छ भन्ने तपाईंहरूलाई पहिल्यै थाहा छ । उनी यो अवार्ड जित्ने स्तरका खेलाडी हुन् ।’
उनले थपे, ‘म लामिनप्रति निकै गर्व गर्छु । उनले निराशालाई राम्रोसँग सामना गरेका छन् र प्रशिक्षणमा पूर्ण रूपमा केन्द्रित छन् । प्रतिक्रिया जनाउने सही तरिका यही हो । उनको मानसिकता टोलीका लागि निकै राम्रो छ ।’
शनिबार अलाभेसविरुद्ध खेल्दा यामललाई बालोन डी’अर जित्न नसकेको निराशालाई पछाडि छाड्ने अवसर छ । पछिल्ला दुई महत्त्वपूर्ण खेलमा पराजित भएपछि बार्सिलोना घरेलु मैदानमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
सबै प्रतियोगितामा लगातार पहिलो ११ खेल जितेपछि बार्सिलोना उत्कृष्ट लयमा थियो । तर, गत मंगलबार च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) को मैदानमा पुगेपछि टोलीको प्रदर्शन कमजोर बन्यो । उक्त खेलमा बार्सिलोना ४–२ गोलले पराजित भएको थियो ।
त्यसको केही दिनपछि ला लिगाअन्तर्गत घरेलु मैदानमा केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले हराएको थियो । फ्लिकले भने, ‘शनिबारको खेलमा सबैभन्दा महत्त्वपूर्ण पक्ष जित्नु हो । टोलीले राम्रो खेलिरहेको छ र हामीलाई आफ्नो क्षमतामाथि विश्वास छ । प्रशिक्षण सत्र राम्रो भएको मैले देखेको छु र खेलाडीमा सकारात्मक माहोल छ । हामीले मैदानमा पनि त्यही प्रदर्शन देखाउनुपर्छ ।’
‘अलाभेस राम्रोसँग रक्षात्मक खेल खेल्न जान्ने टोली हो । तर, हामी बार्सिलोना हौं र हामी आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन चाहन्छौं,’ उनले थपे । अलाभेससँगको खेलअघि बार्सिलोना ला लिगाको शीर्षस्थानमा छ । दोस्रो स्थानको टोलीभन्दा २ अंकले अगाडि छ । त्यसपछि बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
आफूलाई हार मन नपर्ने स्वीकार गरे पनि जर्मन प्रशिक्षक फ्लिकले यो सिजन लामो यात्राजस्तै रहेको बताए । उनले भने, ‘उपाधि जित्ने वा नजित्ने कुरा सिजनको अन्त्यमा तय हुन्छ । हामीले परिस्थितिको सामना गर्नुपर्छ । हामीले जित्न सक्थ्यौं, तर हार स्वीकार्दै त्यसबाट पाठ सिक्नुपर्छ ।’ एएफपी


+ There are no comments
Add yours