डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

संस्थानलाई १२ करोडभन्दा बढी हानि पुर्‍याएको आरोप

१४ कार्तिक, काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिने गतिविधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार  जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरूले पूर्वयोजनाअनुसार विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याएको प्रारम्भिक रूपमा पुष्टि भएको छ। उक्त गतिविधिबाट रु. १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको आरोप छ।

पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जिव झा रहेका छन्। त्यसैगरी तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पनि पक्राउ परेका छन्।

यसैगरी डीडीसीका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सीआईबीले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ‘आपराधिक विश्वासघात गर्न नहुने कसुर’ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेकाहरू

  • जिल्ला सर्लाही बलरा नगरपालिका वडा नं. ३ स्थायी वतन भई जिल्ला काठमाडौं कागेश्वरी मनहरा न.पा. वडा नं. ६ बस्ने बर्ष ४५ को संजिव झा, तत्कालीन महाप्रबन्धक तथा हाल दुग्ध विकास संस्थान लैनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको रुपमा कार्यरत, पक्राउ स्थान: कामनपा वडा नं. २६ लैनचौर, काठमाडौं ।
  • जिल्ला सिराहा सिराहा न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाडौं तार्केश्वर न.पा. वडा नं. ०४ बस्ने बर्ष ४६ को बिजय कुमार यादव, तत्कालिन सिम्ले चिस्यान केन्द्र ईञ्चार्ज हाल काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत, पक्राउ स्थान: कामनपा वडा नं. १६ बालाजु, काठमाडौं ।
  • जिल्ला पर्वत मोदी गाउँ पालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला काठमाडौं तार्केश्वर न.पा. वडा नं. ०६ बस्ने वर्ष ५५ को मनहरी शर्मा, तत्कालिन भक्तपुर चिस्यान केन्द्रको ईञ्चार्ज हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट को रूपमा कार्यरत, पक्राउ स्थान: पोखरा मनपा वडा नं. १४, कास्की ।
  • जिल्ला सर्लाही मोहनपुर गा.वि.स. वडा नं. ०५ स्थायी वतन भई हाल जिल्ला चितवन भ.म.न.पा. वडा नं. ०५ कल्याणपुर बस्ने बर्ष ४९ को रामकेवल राय, तत्कालीन चनौलि चिस्यान केन्द्र ईञ्चार्ज हाल काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत, पक्राउ स्थान: चन्द्रनगर गाउपालिका वडा नं ५ मोहनपुर, सर्लाही ।
  • जिल्ला सर्लाही चन्द्रनगर गाउँ पालिका वडा नं. ०५ घर भई हाल जिल्ला चितवन भ.म.न.पा.वडा नं.०५ कल्याणपुर बस्ने बर्ष २८ को जितेन्द्र कुमार यादव, भरपाई पदका कर्मचारी, बागमती धुलो दुध कारखाना, हेटौडामा कार्यरत, पक्राउ स्थान: भरतपुर नपा वडा नं. ५ आनन्दपुर, चितवन । 
  • जिल्ला सर्लाही चन्द्र नगर गाउँ पालिका वडा नं. ०२ घर भई बस्ने बर्ष ३२ को नविन राय यादव, डेरी ब्वाई पदका कर्मचारी, नवलपुर/गरुडा चिस्यान केन्द्र ईन्चार्ज, पक्राउ स्थानः लालबन्दी नपा वडा नं. ५ मेजरगञ्ज, सर्लाही ।
  • जिल्ला सर्लाही चन्द्र नगर गाउँ पालिका वडा नं. ०५ घर भई हाल जिल्ला चितवन माडी न.पा. वडा नं. ०२ बस्ने वर्ष ४६ को शिव नन्दन राय, दैनिक पारिश्रमिक पदका कर्मचारी, माडी चिस्यान केन्द्रमा कार्यरत, पक्राउ स्थान: माडी नपा वडा नं. १ भरुवा, चितवन ।
  • जिल्ला सिन्धुपाल्चोक कालिका गा.पा. वडा नं.७ बस्ने बर्ष ४८ को विख बहादुर भण्डारी, जुनियर टेक्निकल असिस्टेन्ट, चिस्यान केन्द्र ईन्चार्ज माडि चितवन, पक्राउ स्थान: माडि नपा वडा नं. १, चितवन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours