‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीतमा इभाको मादकता

१३ कात्तिक, काठमाडौँ । तिहारको अवसर पारेर कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ । अर्जुन पोखरेलले गीतमा संगीत दिएका छन् भने शब्द अधिवक्ता सशी शर्मा मजगैयाँको हो ।

क्यासिनोको सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री इभा गिरीले आइटम नृत्य गरेकी छन् । उनलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । भिडियोमा इभासँगै हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपाने पनि देखिएका छन् । क्यासिनोमा नाच्ने युवतीले आफूलाई सुहाउने केटा खोजेको प्रसंग गीतमा समेटिएको छ ।

वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेललगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours