चुनावको मुखमा ट्रम्पको घोषणा : २ करोडभन्दा धेरै ज्येष्ठ नागरिकको खातामा ९० डलर आउने

१९ असाेज, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेष्ठ नागरिकहरूको स्वास्थ्य बीमा कार्यक्रम ‘मेडिकेयर’ मा आबद्ध २ करोडभन्दा बढी नागरिकहरूलाई मासिक प्रिमियम खर्च भार कम गर्न एकमुष्ठ ९० डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका हुन् । ट्रम्पले सो रकम मेडिकेयर सुधार कोषमार्फत उपलब्ध गराउने बताएका छन् । उनका अनुसार अमेरिकी संसद्ले मेडिकेयरको सेवा सुधारका लागि उक्त कोषमा दुई अर्ब डलर विनियोजन गरेको छ ।

ह्वाइट हाउसले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरणमा पनि अधिकांश योग्य जेष्ठ नागरिकहरूले अक्टोबरको सुरुआतमै ९० डलर सोझै आफ्नो बैंक खातामा प्राप्त गर्ने उल्लेख छ ।

निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्पले ल्याएको यस्तो आर्थिक सहायता कार्यक्रमको विपक्षीहरुले विरोध गरेका छन् । निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले यस्ता कार्यक्रम ल्याइएको उनीहरुको आरोप छ ।

तर, ट्रम्पले एकपछि अर्को आर्थिक सहायता कार्यक्रम ल्याइरहेका छन् । यसअघि ट्रम्प प्रशासनले अफोर्डेबल केयर ऐमार्फत स्वास्थ्य बीमा खरिद गरेका व्यक्तिहरूबाट लिइएको अत्यधिक शुल्क फिर्ता गर्ने जनाएको छ ।

जसको अर्थ स्वास्थ्य बीमा खरिद गरेका झन्डै १० लाख अमेरिकीहरूले ५०० डलर रकम रकम फिर्ता पाउनेछन् ।आगामी नोभेम्बरमा हुन गइरहेको मध्यावधि अर्थात् संसदीय निर्वाचनको पूर्व सन्ध्यामा ट्रम्पले लगातार आर्थिक सहयोग घोषणा गरेका हुन् ।

यस निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई विपक्षी डेमोक्रेटिक पार्टीले कडा चुनौती दिने अनुमान गरिएको छ । इजरायल–इरान युद्धका कारण इन्धनको मूल्यमा आएको भारी वृद्धिले अमेरिकीहरूले मूल्यृवद्धि सामना गरिरहेको छ ।

यसै विषयलाई सम्बोधन गर्न नसकेको भन्दै ट्रम्पको आलोचना भइरहेको छ । विभिन्न सर्वेक्षणहरुका अनुसार उनको कार्यसम्पादन अनुमोदन रेटिङ पनि न्यून रहेको छ। हाल अमेरिकी संसद्का दुवै सदन (सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ट्रम्पको पार्टी रिपब्लिकनको सामान्य बहुमत मात्रै छ ।

गत महिना मात्रै मध्यावधि निर्वाचनमा हाउस र सिनेटमा रिपब्लिकनहरूको बहुमत कायम रहेमा सबै वयस्क नागरिकहरूलाई ५,००० डलरको चेक प्रदान गर्ने घोषणा गरेका थिए । यद्यपि, अर्थशास्त्री, विश्लेषक र संसद्का केही रिपब्लिकन नेताहरूले समेत उक्त योजनाले चुनाव प्रभावित हुनसक्ने आशंका व्यक्त गरेका थिए । रोयटर्स

You May Also Like

More From Author

+ There are no comments

Add yours