मुस्ताङको पर्यटनमा बाढीको धक्का

०४ मंसिर, मुस्ताङ । मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्येको मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । मुस्ताङ भ्रमणका लागि उपयुक्त मानिने साउन–कात्तिकको अवधिमा ४२ प्रतिशतले पर्यटक घटेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटक आगमन अभिलेख अनुसार उक्त अवधिमा विदेशी र स्वदेशी गरी एक लाख १२ हजार ४८ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा एक लाख ९२ हजार ५५१ जना पर्यटकले भ्रमण गरेको कार्यालयले जनाएको छ । यस हिसाबले गत वर्षभन्दा ८० हजार ५०० पर्यटक कम पाइएको छ ।

कुल पर्यटकमध्ये यस पटक ५४ हजार २१७ जना विदेशी पर्यटक सडक, हवाई र पदमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका थिए । गत वर्षको सोही अवधिमा ४१ हजार ४३० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको तथ्याङ्क छ ।

विदेशी पर्यटकको आगमनमा सुधार आए पनि स्वदेशी पर्यटकको सङ्ख्यामा ठुलो गिरावट आएपछि समग्र पर्यटक आगमन घटेको हो ।

कालीगण्डकीमा आएको बाढीका कारण सडकसमेत अवरुद्ध भएपछि पर्यटक आगमन घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।

तथ्याङ्क अनुसार चार महिनामा ५७ हजार ८३१ जना आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा एक लाख ५१ हजार १२१ जना स्वदेशी पर्यटक आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ९३ हजार २९० जना अर्थात् ६१.७ प्रतिशत कम स्वदेशी पर्यटक मुस्ताङ पुगेका छन् ।

मुस्ताङका पर्यटन व्यवसायी सुरज तुलाचनले भोटेकोशी बाढीले स्वदेशी पर्यटक त्रसित हुँदा पनि मुस्ताङको पर्यटन क्षेत्रमा असर गरेको बताउनुभयो । त्यस्तै गत असोजमा कालीगण्डकी नदीमा आएको बाढीले सडकमा क्षति पुगेपछि दुई पाङ्ग्रे सवारीसाधनमा आउने पर्यटकको आगमन पनि घटेको उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुविन श्रेष्ठले प्राकृतिक विपत्तिको नकारात्मक असरका कारण पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभयो । हिमाली क्षेत्रमा घुम्न जाने स्वदेशी तथा बुकिङ गरी नेपाल आउने तयारीमा रहेका विदेशीलाई बाढीका नकारात्मक भिडियो, तस्बिरसहितका भ्रमपूर्ण सूचनाले समेत असर गरेको उहाँको भनाइ छ । भ्रमणका लागि मुस्ताङ सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उहाँको धारणा छ ।

प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आकर्षक पर्यटकीय गन्तव्य मुस्ताङका प्रमुख आकर्षण हुन् । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा जाने पर्यटक बढेका छन् । लेतेदेखि माथि लोमान्थाङसम्म करिब तीन सय सानाठुला होटेल सञ्चालनमा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours