तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजाआजा गरीपर्व मनाउने वैदिक सनातनी परम्परा
०४ मंसिर, काठमाडाैँ । कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधीय गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने विश्वासका साथ तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजाआजा गरी यो पर्व मनाउने वैदिक सनातनी परम्परा छ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना (चतुर्मास) भर विष्णुका भक्तले तुलसीको व्रत बसी विशेष आराधना गर्छन्। विष्णु शयन गरेको अवधि मानिने भएकाले यी चार महिना विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य रोकिने परम्परा छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई शुक्रबार गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर तुलसी विवाह गरिन्छ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गर्ने चलन छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय मान्यता छ।
धार्मिक आस्थासँगै तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ। तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ भने यसको सुगन्धले वातावरण शुद्ध बनाउनुका साथै विषालु कीटाणु र लामखुट्टे नष्ट गर्ने वैज्ञानिक तथ्य छ। तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि महाऔषधि मानिन्छ। धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले गरुड पुराणको प्रसङ्ग उल्लेख गर्दै कार्तिक महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्ने शास्त्रीय व्याख्या रहेको बताए।
ठूलो एकादशीसमेत भनिने आजको दिन रात्रिमा शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने तथा रथयात्रा गराउने प्रचलन छ। किसानहरूले तुलसीको मठमा उखुको बोट गाड्ने र आज अन्न नखाई सखरखण्ड, पिँडालु तथा वनतरुल उसिनेर फलाहार गर्ने गर्छन्। आजको व्रतले हजार अश्वमेध तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने धार्मिक विश्वास छ।
हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका चार नारायण— भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ। चार नारायण जान नसक्ने भक्तजनले बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा बराबर फल पाइने विश्वासका साथ बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। बूढानीलकण्ठमा शुक्रबारदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने मठका मठाधीश स्वामी निगमानन्दले जानकारी दिए। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म साइत नहेराई तुलसीको हवन (होम) गरी चारमहिने पूजा उद्यापन गर्न सकिने धार्मिक मान्यता छ।


+ There are no comments
Add yours