पप कल्चर र मिम्सको दुनियाँमा अक्टोबर २ तारिखको अर्को अर्थ हो- ‘दृश्यम’।
१९ असाेज,काठमाडौँ । २ अक्टोबरमा विजय सालगाउँकर आफ्नो परिवारसँग स्वामी चिन्मयानन्दजीको आश्रममा सत्संगमा गएका थिए, त्यहाँ पावभाजी खाएका थिए र ३ अक्टोबरमा फर्केका थिए भन्ने कुरा अहिलेसम्म तपाईंले थाहा पाइसक्नुभएकै होला!
चलचित्रको रिलिज मिति पनि कथाको हिस्सा बनिसकेको छ। अजय देवगन र तब्बु अभिनित हिन्दी चलचित्र ‘दृश्यम’ को तेस्रो तथा अन्तिम भाग त्यही ऐतिहासिक मिति अर्थात् अक्टोबर २ मा रिलिज भएको छ।
सन् २०२२ मा कोभिड महामारीपछि जब सिनेमाघरहरू पुनः खुल्न थाले, तब एउटा प्रश्न बारम्बार सोधिँदै थियो- के दर्शक फेरि सिनेमाघरमा फर्किनेछन्?
ओटीटीको बढ्दो प्रभाव, दर्शकको बदलिएको बानी र महामारीको लामो चरणले चलचित्रको व्यापारलाई गहिरो धक्का दिएको थियो। त्यतिबेला ‘दृश्यम २’ नै त्यो महत्त्वपूर्ण चलचित्र थियो, जसले दर्शकलाई हलसम्म तानेर सिनेमाको सास फर्काएको थियो।
३४५ करोड रुपैयाँ कमाइ गर्दै ‘दृश्यम २’ त्यो वर्षको दोस्रो धेरै कमाउने चलचित्र बनेको थियो।
आखिर एउटा साधारण परिवारको यो असाधारण कथामा के जादु छ? किन मानिसहरू बारम्बार यो सस्पेन्सको चक्रव्यूहमा तानिन्छन्?
यो प्रश्नको जवाफ आउन लागेको ‘दृश्यम ३’ मा मात्र होइन, करिब १३ वर्षअघि मलयालम सिनेमाबाट सुरु भएको पूरै कथामा लुकेको छ।
अनौठो पटकथा
‘दृश्यम’ को मूल मलयालम चलचित्र सन् २०१३ मा आएको थियो। लेखक-निर्देशक जितु जोसेफले मलयालम सुपरस्टार मोहनलाललाई जर्जकुट्टीको भूमिका दिएका थिए।
यो पात्र र यसको सस्पेन्ससँग दर्शक यसरी जोडिए, जसका कारण ‘दृश्यम’ त्यस समयसम्मकै सबैभन्दा सफल मलयालम चलचित्र बन्न पुग्यो।
पछि हिन्दी, तमिल, तेलुगु र कन्नड जस्ता भारतीय भाषाहरूका अलावा श्रीलंका, चीन र इन्डोनेसियामा पनि यसका सफल रिमेकहरू बने। अर्थात्, कथाले भाषा र क्षेत्रको सीमा सजिलै पार गर्यो।

हिन्दी संस्करण ३१ जुलाई २०१५ मा आयो र निकै सफल रह्यो। यसको निर्देशन निशिकान्त कामतले गरेका थिए। हिन्दी दर्शकका लागि अजय देवगन विजय सालगाउँकर बने भने तब्बु आईजी मीरा देशमुख।
तर हरेक भाषामा ‘दृश्यम’ को असली हिरो यसको पटकथा नै रह्यो। त्यो अनौठो पटकथा, जहाँ आँखाले देखेको कुरा सधैँ सत्य हुँदैन।
हामी त्यही मान्छौँ, जुन हामीलाई देखाइन्छ र यहीँबाट ‘दृश्यम’ को खेल सुरु हुन्छ। विजयले प्रमाण मेटाएनन्, उनले अरूको सम्झनालाई नै बदलिदिए।
हरेक पटक दर्शक सोच्छन्, ‘अब त विजय फस्यो!’ र हरेक पटक कथाले उनीहरूलाई चकित पार्छ। गज्जबको सस्पेन्सका साथै पात्रहरूको अत्यन्तै सादगीले पनि चलचित्रलाई विशेष बनाउँछ।
नयाँ जनरा: फ्यामिली थ्रिलर
सिनेमा र ओटीटीमा निकै सफल जनरा मानिन्छ- थ्रिलर। हत्या, रहस्य, प्रहरी अनुसन्धान र अपराध जस्ता विषयमा चलचित्र तथा वेब सिरिजको कुनै कमी छैन।
तर सामान्यतया थ्रिलर चलचित्रहरूलाई पारिवारिक मनोरञ्जन मानिँदैन। अक्सर त्यसमा हिंसा, अपराध, गालीगलौज वा बोल्ड दृश्यहरू हुन्छन्, जसलाई आम परिवारले सँगै बसेर हेर्दा असहज महसुस गर्न सक्छन्।
‘दृश्यम’ ले यो समीकरणलाई बदलिदियो र एउटा नयाँ जनरा खडा गर्यो- फ्यामिली थ्रिलर।
दर्शकलाई बारम्बार चकित पार्नु नै थ्रिलरको सबैभन्दा ठुलो चुनौती हो। ‘दृश्यम’ ले यो नियमलाई पनि परिवर्तन गरेको देखियो। यहाँ सबैभन्दा ठुलो रोमाञ्च अपराध कसले गर्यो भन्ने कुरामा छैन। दर्शकलाई यो कुरा पहिल्यै थाहा हुन्छ।
के यो परिवार बच्न सक्ला? के विजयले बनाएको योजनामा कुनै गल्ती होला? रोमाञ्च यही कुरामा लुकेको छ। अर्थात्, चलचित्रले रहस्य लुकाउनुको सट्टा रहस्य खुल्ने डर पैदा गर्छ।
यसको नायक बारम्बार जितेर पनि राहत महसुस गर्दैनन्, यो नै यस शृङ्खलाको एउटा कम चर्चित खुबी हो।

एउटा सामान्य थ्रिलरमा ‘रहस्य खुल्ने’ डर दर्शकका लागि रोमाञ्च हुन्छ। ‘दृश्यम’ मा त्यही डर पात्रहरूका लागि मानसिक बोझ हो। यही फरकले चलचित्रलाई सस्पेन्सभन्दा अघि बढाएर एउटा मनोवैज्ञानिक कथा बनाइदिन्छ।
कुनै पनि चलचित्रलाई लामो समयसम्म याद राख्नका लागि राम्रो कथा मात्र पर्याप्त हुँदैन। दर्शकको भावनात्मक लगाव पनि जरुरी हुन्छ।
‘दृश्यम’ मा यो लगाव निकै बलियो छ। यो कुनै यस्तो व्यक्तिको कथा होइन, जससँग धेरै पैसा, शक्ति वा राजनीतिक पहुँच छ। यो एउटा यस्तो आम परिवार हो, जुन असाधारण सङ्कटमा फसेको छ।
यही भावनाले दर्शकलाई यस कथा र पात्रहरूसँग जोडिदिन्छ।
कथा यति धेरै ‘भारतीय’ किन लाग्छ?
‘दृश्यम’ को सफलताको एउटा ठुलो कारण यो पनि हो– यो केवल भारतीय भाषामा बनेको चलचित्र मात्र नभई पूर्ण रूपमा त्यहाँको समाज र संस्कृतिमा भिजेको कथा हो। तर, यसका भावनाहरू सबैका आफ्ना हुन्।
हाम्रो समाजमा परिवारको भूमिका धेरै ठुलो हुन्छ। आमाबुवाका लागि छोराछोरी केवल सन्तान मात्र हुँदैनन्। उनीहरूको सुरक्षा, भविष्य र सम्मानलाई लिएर भावनाहरू निकै गहिरा हुन्छन्।
यस्तो अवस्थामा जब कथाले एउटा बुवालाई आफ्नो परिवारको रक्षाका लागि कानुनसँग भिड्दै गरेको देखाउँछ, तब दर्शक ऊसँग भावनात्मक रूपमा जोडिन्छन्।
यो थ्रिलरमा ठुला ग्याजेट्स, खतरनाक स्टन्ट वा मसला चलचित्रको जस्तो ग्ल्यामर पनि छैन। विजय सालगाउँकर कुनै धेरै धनी वा शक्तिशाली मानिस होइनन्।

उनी न त प्रहरी हुन्, न जासुस, न त मारधाड गर्ने हिरो नै हुन्। उनी चौथो कक्षा फेल भएका एक केबल अपरेटर हुन्।
उनी त्यही मानिस हुन्, जसलाई हामी आफ्नो गल्लीमा बिहान दूध लिँदै गरेको, बच्चाहरूलाई स्कुल छोड्दै गरेको र टोलमा सबैसँग हाँसेर बोल्दै गरेको देख्छौँ। एक बिलकुलै साधारण व्यक्ति।
उनको शक्ति भनेको उनको दिमाग हो, जसले प्रहरीभन्दा दुई कदम अगाडि सोच्छ। उनले आफ्नी श्रीमती र छोरीहरूलाई बचाउने मात्र होइन, उनीहरूलाई आफ्नो योजनाको हिस्सा पनि बनाउँछन्। सङ्कटको घडीमा पूरै परिवार एकअर्कालाई विश्वास गर्दै एकजुट भएर उभिन्छ।
चलचित्रले यही नैतिक उल्झनलाई निकै प्रभावकारी ढङ्गले प्रयोग गर्छ।
‘दृश्यम’ ले दर्शकसँग एउटा नैतिक प्रश्न पनि सोध्छ- विजयले जे गरे, त्यो सही हो वा गलत?
हत्याबाट सुरु हुने यो चलचित्र अन्ततः परिवारको कथा बन्न पुग्छ। यो प्रहरी र एक अपराधी बुवाबिचको युद्ध हो, तर दर्शकको मन भने एउटा बुवाको साथमा हुन्छ।
‘दृश्यम’ को सफलता सायद यही प्रश्नमा टिकेको छ- यदि तपाईंको परिवारसामु यस्तो परिस्थिति आयो भने तपाईं के गर्नुहुन्छ?
यही प्रश्नले चलचित्रलाई सामान्य क्राइम थ्रिलरभन्दा माथि उठाएर एउटा पारिवारिक चलचित्र बनाइदिन्छ।
‘सिनेमा’ नै विजयको हतियार
‘दृश्यम’ को सबैभन्दा सुन्दर पक्षमध्ये एक हो यसका नायकको मसला चलचित्रप्रतिको प्रेम। यहाँ नायक चलचित्रको पागल प्रेमी छ। जर्जकुट्टी वा विजयले जिन्दगीको पढाइ कुनै कलेजबाट होइन, बरु चलचित्रहरू हेरेर गरेका हुन्। यही कुराले ‘दृश्यम’ लाई एउटा रोचक सन्दर्भ पनि दिन्छ।

जुन लोकप्रिय सिनेमालाई प्रायः गम्भीर बुद्धिजीवीहरू ‘हल्का’ मनोरञ्जन मान्छन्, ‘दृश्यम’ ले त्यही सिनेमालाई आफ्नो नायकको सबैभन्दा ठुलो हतियार बनाइदिन्छ।
चलचित्रबाटै उनले मानिसहरूको व्यवहार बुझ्छन्, प्रहरी अनुसन्धानको बारेमा जानकारी हासिल गर्छन् र कुनै अपराधपछि अनुसन्धान कसरी अगाडि बढ्न सक्छ भन्ने कुरा पनि बुझ्छन्।
‘दृश्यम २’ सम्म आइपुग्दा विजय आफैँ चलचित्र निर्माता पनि बन्छन्। आफ्नो यो नयाँ पहिचानको प्रयोग पनि उनले आफ्नो योजनामा निकै कुशलतापूर्वक गर्छन्।
हरेक पटक नयाँ गोटी र दाउ
‘दृश्यम’ चाल र मातको एउटा नयाँ दिमागी युद्ध हो, जहाँ हरेक पटक गोटी र दाउ बदलिन्छन्। फेरि त्यही रोमाञ्च कसरी पैदा गर्ने भन्ने चुनौती ‘दृश्यम २’ सामु थियो।
चलचित्रले यसको प्रभावकारी ढङ्गले जवाफ दियो। यसपटक प्रश्न थियो- के विगत कहिल्यै पूर्ण रूपमा गाडिन सक्छ? अन्त्यमा लास लुकाउनेदेखि त्यसलाई ठेगान लगाउनेसम्मको योजना अत्यन्तै रोमाञ्चक थियो।
तर ‘दृश्यम ३’ सम्म आइपुग्दा अवस्था फेरियो।
मलयालममा बनेको ‘दृश्यम ३’ मे २०२६ मा रिलिज भइसकेको छ। चलचित्रले बक्स अफिसमा ठुलो सफलता हासिल गर्यो, तर समीक्षकहरूको नजरमा ‘दृश्यम ३’ पहिलो दुई चलचित्र जस्तो अब्बल ठहरिएन।
‘दृश्यम ३’ (मलयालम) को समीक्षा गर्दै ‘मिड-डे’ अखबारले लेखेको छ, ‘पहिलो नजरमा हेर्दा तेस्रो चलचित्रका ट्विस्ट र मोडहरू अघिल्ला भागहरूमा जत्तिको जेलिएका वा प्रभावकारी नलाग्न सक्छन्। तर मुख्य कुरा यही हो! अघिल्ला चलचित्रहरूको विपरीत, दृश्यम ३ मा जर्जकुट्टीले कहिल्यै पनि कथाको नियन्त्रण पूर्ण रूपमा आफ्नो हातमा राख्न सक्दैनन्।’

त्यस्तै, ‘हिन्दुस्तान टाइम्स’ ले ‘दृश्यम ३’ लाई ‘जितु जोसेफको यस सुपरहिट फ्रेन्चाइजीको सबैभन्दा कमजोर कडी’ भनेको छ।
अजय देवगनको हिन्दी ‘दृश्यम’ का पहिलो दुई भागमा जितु जोसेफको मूल मलयालम चलचित्रहरूकै कथालाई पूर्ण रूपमा अपनाइएको थियो।
त्यसपछि हिन्दी ‘दृश्यम ३’ को कथामा परिवर्तन गरिएको खबर बाहिर आयो। चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अजय देवगनले पनि यस कुराको पुष्टि गर्दै ‘दृश्यम: द कन्क्लुजन’ लाई बिलकुलै नयाँ पटकथाका साथ तयार पारिएको बताएका छन्। यो वर्तमान कथामा सामान्य परिवर्तन गर्ने जस्तो विषय बिलकुलै होइन। हिन्दी संस्करण मलयालम ‘दृश्यम ३’ भन्दा पूर्ण रूपमा फरक छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, ‘दृश्यम: द कन्क्लुजन’ यस शृङ्खलाको अन्तिम चलचित्र हुनेछ। हरेक राम्रो कथाको एउटा यस्तो बिन्दु हुन्छ, जहाँ त्यो रोकिनुपर्छ।
हिट चलचित्रको नाममा यसको कथालाई बिनाकारण तन्काउनुको सट्टा सही समयमा विश्राम दिइएको कारणले गर्दा पनि ‘दृश्यम’ सधैँ याद रहनेछ।
तेह्र वर्षको यात्रापछि कथाको पर्दा खस्नेछ। आशा छ, ‘दृश्यम’ को तिलिस्ममा चाल अन्तिम हुनेछ र अन्त्य सदाका लागि याद रहनेछ।


+ There are no comments
Add yours