किसानले पाउँदैनन् समर्थन मूल्य

०४ मंसिर, उर्लाबारी (मोरङ) । मोरङका किसान वर्षभर मेहनत गरेर उत्पादन गरेको धानको उचित मूल्य नपाउने चिन्तामा छन् । खेतीमै धेरै खर्च गरेका किसानले धान भित्र्याउने बेलासम्म पनि आफ्नो लगानी उठ्ने हो वा होइन भन्ने चिन्ता बढेको छ ।

उर्लाबारी नगरपालिका–९ का किसान कृष्ण पोखरेल यतिबेला आफ्नो धानको उचित मूल्यको प्रतीक्षामा हुनुहुन्छ । सडक छेउमा त्रिपालमाथि धान सुकाएर बोरामा भरिरहनुभएका पोखरेलले भन्नुभयो, “भण्डारण गर्ने ठाउँ छैन । बिक्री गरौँ मूल्य छैन ।” सरकारले तोकेको समर्थन मूल्यसमेत नपाएको उहाँले बताउनुभयो ।

पोखरेलका अनुसार धान उत्पादन गर्न खेत जोताइदेखि बिउ, मल, सिँचाइ, रोपाइँ, गोडमेल, कटानी र ढुवानीसम्म खर्च बढेको छ । परिवारका सदस्यसँगै वर्षभरि खेतमा खटिएर उत्पादन गरेको धान बिक्री गर्ने बेला भने किसानले आफ्नो लागत र मेहनत अनुसारको मूल्य पाउन सकेका छैनन् ।

किसानले उत्पादन गरेको धानको मूल्य निर्धारणमा व्यापारीको प्रभाव बढी हुने गरेको मोरङको कानेपोखरी–३ का किसान मोहनप्रसाद पोखरेल बताउनुहुन्छ ।

धान उत्पादन बढेको बेला बजार मूल्य घट्ने र घरखर्च तथा ऋण तिर्न तत्कालै धान बेच्नुपर्ने बाध्यताले किसान थप मर्कामा पर्ने गरेको पोख्रेलको भनाइ छ । ‘भण्डारणको उचित व्यवस्था नहुँदा किसानले नचाहँदा पनि धान बेच्नु परेको छ’ उहाँले भन्नुभयो ।

किसानलाई उत्पादनको उचित मूल्य दिलाउन सरकारले हरेक वर्ष न्यूनतम समर्थन मूल्य घोषणा गर्ने गरेको छ । यो वर्ष सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल तीन हजार ६६० रुपियाँ तोकेको छ भने मध्यम धानको मूल्य तीन हजार ८६० रुपियाँ तोकेको छ । सरकारी मूल्य अनुसार मोटा धानको मूल्य प्रतिमन एक ४६४ पर्छ तर किसान किसानले मोटा धानको मूल्य प्रतिमन एक हजार दुई सय रुपियाँ भन्दा पाएका छैनन । त्यस्तै मध्यम धानको मूल्य सरकारले प्रतिमन एक ५४४ रुपियाँ तोकेको छ ।

व्यापारीले किसानलाई एक हजार तीन सय रुपियाँभन्दा बढी दिएका छैनन् । कानेपोखरी–३ का किसान हेमचन्द्र भण्डारीका अनुसार किसानले कम मूल्यमै भए पनि धान खरिद गरिदिन याचना गर्नु परेको बताउनुहुन्छ । यहाँका किसानले भने धानको मूल्य पर्खिन धानको कुन्यु लगाएर राखेका छन् ।

उर्लाबारी–९ का कृष्ण बस्नेतले भन्नुभयो, “जहिले मूल्य आउँछ, त्यतिबेलै थे्रसिङ गरेर धान बेच्ने विचार छ” उहाँले भन्नभयो तर सबै किसानले धान कुन्यु लगाएर राख्न सम्भव नहुने उहाँको भनाइ छ । खेती गर्दाको लगानी उठाउन पनि धान बेच्नैपर्ने बाध्यता हुने उहाँले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours