०९ असोज, काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
असोज १० गते (शनिवार) दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १० गते राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
असोज ११ गते (आइतबार) दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहन सक्ने जनाएको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहतका काममा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


+ There are no comments
Add yours