२६ साउन, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासका डिपो तथा विक्रेतालाई आएको र बिक्री गरेको सबै विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले सोमबार उपत्यकाका विभिन्न ठाउँका ग्यास डिपो र विक्रेताको पसल तथा गोदाम अनुगमन गर्दा अधिकांशमा खरिद र बिक्रीको यथार्थ विवरण आउन नसकेकाले यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार १४ वटा फर्ममा अनुगमन गरेको थियो । महिनौँसम्म कुर्दा पनि ग्यास लैजाने पालो नआएको, महँगो लिएको, नसाट्ने तर नयाँ किन्नेलाई ग्यास दिएको भन्ने उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन गर्दा त्यस्तो तथ्य प्रमाण नभेटिएको पनि विभागले स्पष्ट पारेको छ ।
विभागका निर्देशक अनिल राईले ग्यास डिपो र विक्रेताको पसलमा अनुगमन गर्दा एउटा मात्रै ग्यास हुने, वृद्धवद्धा र साना बालबालिका हुने परिवारलाई पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउन र त्यसको विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।
विभागले गत सातादेखि नै खाना पकाउने ग्यासलाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरिरहेको र बजारमा ग्यासको अहिलेको अभाव कायम रहँदासम्म निरन्तर अनुगमन गरिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
ग्यास लुकाउनेलाई पचास हजार जरिबाना
नेपालगन्ज समाचारदाताका अनुसार बजार अनुगमन समिति बाँकेले नेपालगन्ज उपमहानगरपालिका–११, त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसललाई ग्यास लुकाएको आरोपमा कारबाही गरेको छ । अनुगमन समितिका संयोजक तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले नेपालगन्ज–११, त्रिभुवनचोकस्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरले ग्यास लुकाएर उपभोक्तालाई नबेचेको पाइएपछि ५० हजार रुपियाँ जरिबाना गरिएको बताउनुभयो । उहाँले सो पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको बताउनुभयो । उपभोक्ताले ग्यास माग्न जाँदा पसल सञ्चालकले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो । लुकाएर राखिएको ग्यास सिलिन्डर भेटिएपछि ५० हजार रुपियाँ जरिबाना गरिएको बजार अनुगमन समितिले जनाएको छ ।


+ There are no comments
Add yours