२१ असार, काठमाडौँ । फ्रान्सका स्टार केलियन एमबापेले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकप २०२६ अन्तर्गत आइतबार पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले बलियो चुनौती प्रस्तुत गरे पनि एमबापेले ७० औँ मिनेटमा पेनाल्टी गोल गर्दै खेलको निर्णय गरेका हुन् ।
पाराग्वेका डिएगो गोमेजले डेसिर डोएलाई लडाएपछि भिडियो सहायक रेफ्री (VAR) को निर्णयमा फ्रान्सले पेनाल्टी पाएको थियो ।
एमबापेले सोही अवसरलाई सदुपयोग गर्दै विश्वकपमा आफ्नो १९ औँ गोल पूरा गरेका हुन् ।
दोस्रो हाफको अन्त्यतिर उनले थप गोल गर्ने अवसर पाए पनि चुक्दा फ्रान्सको अग्रता १–० मै सीमित रह्यो ।
पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले एमबापेका दुई प्रहार उत्कृष्ट रूपमा बचाउ गरेका थिए । यस जितसँगै फ्रान्स लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
हारसँगै दक्षिण अमेरिकातर्फको प्रतिनिधि पाराग्वे प्रतियोगिताबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।



+ There are no comments
Add yours