मोरक्कोको दमदार प्रदर्शन ! क्यानडालाई ३–० ले हराउँदै लगातार दोस्रोपटक विश्वकप क्वार्टरफाइनलमा प्रवेश

२१ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवाती चरणमा क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोको रक्षापंक्तिमाथि दबाब सिर्जना गरेको थियो ।

मोरक्कोका सर्वाधिक गोलकर्ता इस्माइल साइबारी मांसपेशीको चोटका कारण २२ औं मिनेटमा मैदान छाड्न बाध्य भए । उनको स्थानमा सुफियान राहिमी मैदान प्रवेश गरे ।

दोस्रो हाफपछि मोरक्कोले खेलको नतिजा आफ्नो पक्षमा मोड्यो ।

५० औं मिनेटमा असरफ हाकिमीको उत्कृष्ट पासमा अजदिन ओनाहीले पेनाल्टी बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहारले जाली चुम्दै मोरक्कोलाई १–० को अग्रता दिलायो ।

अग्रतासँगै मोरक्कोको आत्मविश्वास बढ्यो भने क्यानडाले खेलमा नियन्त्रण गुमाउन थाल्यो ।

८२ औं मिनेटमा तीव्र काउन्टर अट्याकका क्रममा ब्राहिम डियाजको पासमा ओनाहीले नै दोस्रो गोल गर्दै स्कोर २–० मा पुर्‍याए ।

इन्जुरी समयमा (९०+८ औं मिनेट) सुफियान राहिमीले ब्राहिम डियाजको उत्कृष्ट थ्रु बलमा गोल गर्दै मोरक्कोको ३–० को शानदार जित सुनिश्चित गरे ।

यो जितसँगै मोरक्को लगातार दोस्रोपटक फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कतार विश्वकप २०२२ मा सेमिफाइनलसम्म पुगेको मोरक्कोले यसपटक पनि उपाधि दौडमा बलियो दाबी प्रस्तुत गरेको छ । यता क्यानडाको विश्वकप यात्रा अन्तिम १६ मै समाप्त भएको छ ।

अब मोरक्कोले क्वार्टरफाइनलमा फ्रान्स र पाराग्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours