कालो सिसा राख्ने २१८ गाडी ट्राफिक कारबाहीमा तीव्रता, साढे ७ हजारदेखि १५ हजारसम्म जरिवाना !

२० असार, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत राखिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिएको छ । अभियान सुरु भएयता हालसम्म उपत्यकाका विभिन्न स्थानमा नियमविपरीत कालो सिसा प्रयोग गर्ने २१८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार १४ असार आइतबारदेखि सुरु भएको यस अभियानअन्तर्गत पहिलो दिन १० वटा, १५ गते ९९ वटा, १६ गते ८७ वटा र १७ गते बुधबार २२ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार अनुमतिबिना गाडीमा कालो सिसा राख्नु कानुनको उल्लंघन हो । “सवारी साधनको कालो सिसाका सम्बन्धमा कारबाही गर्ने अधिकार यातायात व्यवस्था विभागले प्रदेश यातायात कार्यालयलाई हस्तान्तरण गरिसकेको छ,” एसएसपी काफ्लेले भने, “त्यसैले अहिले ‘बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५’ को दफा १३६ बमोजिम कारबाही भइरहेको हो । जरिवाना तथा कारबाहीको थप प्रक्रिया एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमार्फत अगाडि बढ्छ ।”

ट्राफिक प्रहरीका अनुसार यो कुनै नयाँ नियम नभई वर्षौँदेखि कायम कानुनको कार्यान्वयन मात्र हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १२ मा यसबारे व्यवस्था छ ।

साथै, सर्वोच्च अदालतबाट २६ माघ २०६७ मा भएको आदेश र बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३६ ले पनि सवारी साधनमा बिनाअनुमति रङ्गीन वा कालो सिसा प्रयोग गर्न निषेध गरेको छ ।

सवारी साधनमा विशेष कारणवश रङ्गीन सिसा प्रयोग गर्नुपरेमा यातायात व्यवस्था विभागबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमविपरीत कालो सिसा लगाउने सवारी साधनलाई कसुरको अवस्था हेरी ७ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ ।

एसएसपी काफ्लेले थपे, “हाम्रो चाहना सडक र समाजको सुरक्षा व्यवस्थापन चुस्त होस् भन्ने हो । कालो सिसाको आवरणमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न, सडक सुरक्षा कायम राख्न र समाजमा त्रास फैलिन नदिन यो अभियान चलाइएको हो । धेरै नागरिकले आफैँ सिसा सफा गरिरहनुभएको छ, जुन सराहनीय छ ।”

जरिवाना रकम चर्को भएको जनगुनासोका सम्बन्धमा एसएसपी काफ्लेले जरिवानालाई नियम मिच्नेसँग तुलना गर्न नमिल्ने बताए । उनले भने, “हाम्रो उद्देश्य सडकमा अराजकता कम गर्नु र अनुशासन कायम गर्नु हो । सडक प्रयोग गर्दा नियम पालना गर्नुपर्छ र मेरो कारणले अरूको ज्यान जोखिममा पर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु जरुरी छ ।”

You May Also Like

More From Author

+ There are no comments

Add yours