०३ असार, काठमाडौँ । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा मंगलबार बिहानसम्म समूह चरणका १६ खेल सम्पन्न भएका छन् । पहिलो पटक ४८ टोलीको सहभागिता रहेको इतिहासकै सबभन्दा ठूलो विश्वकपमा १६ खेल सकिँदा पनि सहभागी सबैले आफ्नो पहिलो खेल खेल्न भ्याइसकेका छैनन् ।
विश्वकप राम्ररी सुरु भइसकेकै छैन । आजको दिनसम्म विश्वकप अत्यन्तै प्रारम्भिक चरणमा छ । तर एउटा नयाँ संकेत चाँही देखिइसकेको छ । त्यो हो, एडिडास गोल्डेन बुटको दौडमा प्रतियोगिता सुरु हुनुपूर्व अनुमान गरिएका भन्दा नयाँ खेलाडीको बलियो दाबेदारी ।
प्रतियोगितामा १६ खेल सकिँदा ३९ फरक खेलाडीले २.८८ को औसतमा ४६ गोल गरिसकेका छन् । जहाँ प्रतियोगिता सुरु हुनुभन्दा अगाडि कसैले ध्यान नदिएका नाम पनि २ गोलका साथ अग्रस्थानमा छन् । प्रतियोतिगामा अहिलेसम्म ४ खेलाडीले २ गोल गर्दा ३५ जनाले १ गोल गरेका छन् । ३ गोल आत्मघाती भएका छन् ।
मंगलबार बिहान इरानसँग २–२ को बराबरी नतिजा निकालेको खेलमा न्युजिल्यान्डका इलिजा जस्टले २ गोल गरे । जस्टअघि नै प्रतियोगिताको पहिलो खेलमा २ गोल गर्ने सफलता जर्मनीका काइ हार्भाट्ज, स्विडेनका यासिन अयारी र अमेरिकाका फ्लोरियन बालोगनले हासिल गरिसकेका छन् ।
एएस मोनाको एफसीका २५ वर्षे बालोगनले लस एन्जलसमा भएको समूह डी को पहिलो खेलमा पाराग्वेमाथि अमेरिकाले ४–१ को जित हासिल गरेको खेलमा मध्यान्तरअघि नै २ गोल गरिसकेका थिए । सन् १९३० मा सम्पन्न पहिलो विश्वकपपछि प्रतियोगिताको पहिलो खेलमा अमेरिकाका लागि २ वा त्योभन्दा बढि गोल गर्ने उनी पहिलो खेलाडी बनेका थिए ।
बालोगनलगत्तै जर्मनीका हार्भाट्जले विश्वकपको पहिलो खेलमा २ गोल गर्ने सफलतामा नाम लेखाए । समूह इ को खेलमा विश्वकपमा पहिलो पटक सहभागिता जनाइरहेको नवप्रवेशी कुराकाओलाई प्रतिद्धन्द्धीका रुपमा पाउँदा जर्मनीका लागि त्यो खेल सहज बनेको थियो । ७–१ को फराकिलो जित हासिल गरेको उक्त खेलमा आर्सनलका स्ट्राइकरले २ गोल गरेका थिए ।
त्यो खेल हार्भाट्जसँगै चार पटकको विश्व च्याम्पियन जर्मनीका लागि पनि विशेष बन्यो । यसपाली विश्वकपमा खासै चर्चामा नरहेको जर्मनीले सन् २०१४ मा पछिल्लो पटक उपाधि जित्दा सेमिफाइनलमा आयोजक ब्राजिलमाथि पनि ७–१ कै अन्तरमा जित हासिल गरेको थियो ।
हार्भाट्जले २ गोल गरेकै दिन स्विडेनका अयारीले पनि ट्युनिसियामाथि ५–१ को जित हासिल गर्दा व्यक्तिगत २ गोल गरेर एडिडास गोल्डेन बुटको दाबेदारका रुपमा आफूलाई उभ्याएका थिए । न्युजिल्यान्डका जस्टले मंगलबार बिहान लस एन्जलसमा २ गोल गरेपछि जारी विश्वकपको २ गोल क्लबमा नाम लेखाउने खेलाडीको संख्या ४ पुगेको छ ।
विश्वकपमा अधिकांश मुख्य दाबेदार देश तथा शीर्ष स्ट्राइकरहरुले पहिलो खेल नै खेल्न नभ्याइसकेको अवस्थामा गोल्डेन बुट कसले जित्ला भन्ने अनुमान कठिन हुन सक्छ । प्रतियोगिताका आगामी खेलहरुले पक्कै पनि यो दौडलाई थप रोमाञ्चक बनाउने नै छन् ।
२ गोल गर्नेहरु
फ्लोरियन बालोगन (अमेरिका) – एसिस्ट ०
यासिन अयारी (स्विडेन) – एसिस्ट ०
काइ हार्भाट्ज (जर्मनी) – एसिस्ट ०
इलिजा जस्ट (न्युजिल्यान्ड) – एसिस्ट ०
१ गोल गर्नेहरु
डेनिज उन्डाभ (जर्मनी) – एसिस्ट २
एलेक्जेन्डर इसाक (स्विडेन) – एसिस्ट २
नाथानियल ब्राउन (जर्मनी) – एसिस्ट १
ह्वाङ इन बियोम (दक्षिण कोरिया) – एसिस्ट १
भिक्टर ग्योकर्स (स्विडेन) – एसिस्ट १
रामिन रेजाइन (इरान) – एसिस्ट १
मिकाइल स्याङबर्ग (स्विडेन) – एसिस्ट ०
जियोभानी रेइना (अमेरिका) – एसिस्ट ०
काइल लारिन (क्यानाडा) – एसिस्ट ०
ह्योङ ग्यु (दक्षिण कोरिया) – एसिस्ट ०
अमाद दियालो (आइभोरी कोष्ट) – एसिस्ट ०
माउरिसियो (पाराग्वे) – एसिस्ट ०
इरानकुन्डा (अस्ट्रेलिया) – एसिस्ट ०
लुकिच (बोस्निया हर्जगोभिना) – एसिस्ट ०
जमाल मुसियाला (जर्मन्ी) – एसिस्ट ०
क्रिसेन्सियो समरभिल (नेदरल्यान्ड्स) – एसिस्ट ०
इमाम अशहोर (इजिप्ट) – एसिस्ट ०
फेलिक्स एनमेचा (जर्मनी) – एसिस्ट ०
जिमेनेज (मेक्सिको) – एसिस्ट ०
क्विनोनेस (मेक्सिको) – एसिस्ट ०
अराउजो (उरुग्वे) – एसिस्ट ०
जोन म्याकघिन (स्कटल्यान्ड) – एसिस्ट ०
इस्माइल साइबारी (मोरक्को) – एसिस्ट ०
डाइची कामाडा (जापान) – एसिस्ट ०
केइटो नाकामुरा (जापान) – एसिस्ट ०
भर्जिल भान डाइक (नेदरल्यान्ड्स) – एसिस्ट ०
लाडिस्लाभ क्रेज्की (चेकिया) – एसिस्ट ०
कोनोर मेटकाल्फ (अस्ट्रेलिया) – एसिस्ट ०
ओमार रेकिक (ट्युनिसिया) – एसिस्ट ०
मोहम्मद मोहेबी (इरान) – एसिस्ट ०
अब्दुल्लाह अल अमिरी (साउदी अरेबिया) – एसिस्ट ०
लिभानो कोमेनेन्सिया (कुराकाओ) – एसिस्ट ०
निको सटरब्रेक (जर्मनी) – एसिस्ट ०
ब्रेल इम्बोलो (स्विट्जरल्यान्ड) – एसिस्ट ०
भिनिसियस जुनियर (ब्राजिल) – एसिस्ट ०
विश्वकपमा सबभन्दा बढि गोल गर्ने खेलाडीले एडिडास गोल्डेन बुटको पुरस्कार पाउनेछन् । प्रतियोगिता सकिँदा दुई वा त्योभन्दा बढि खेलाडीको गोलसंख्या बराबर भएको अवस्थामा फिफाको प्राविधिक टोलीले निर्णय गरेअनुसार गोलका लागि साथीलाई अवसर सिर्जना गरेको आधारमा गोल्डेन बुट विजेता निर्धारण गरिन्छ । गोलसँगै एसिस्ट पनि बराबर भएमा चाँही ति खेलाडीले प्रतियोगितामा खेलेको कुल समयको मुल्यांकन गरिन्छ । जहाँ कम मिनेट खेलेर बढि गोल र एसिस्ट गर्नेले प्राथमिकता पाउने फिफाले जनाएको छ ।


+ There are no comments
Add yours