‘पेड्डी’ विवादमा निर्देशकले मागे माफी, जान्हवीको कथित च्याट बाहिरियो

२४ जेठ, काठमाडाैँ । दक्षिण भारतीय फिल्म ‘पेड्डी’ प्रदर्शनमा आएको केही समयमै अभिनेत्री जान्हवी कपूरको भूमिकालाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

फिल्ममा उनको ‘अचियम्मा’ पात्रलाई कथाको आवश्यकताभन्दा बढी बोल्ड रूपमा प्रस्तुत गरिएको, महिलाको वस्तुकरण गरिएको र उनको शरीरमा अनुपयुक्त जुम-इन गरिएको भन्दै दर्शकहरूले निर्देशक बुची बाबू सनाको आलोचना गरेका थिए। जुन ४ मा रिलिज भएको यस स्पोर्ट्स एक्सन ड्रामा फिल्ममा जान्हवीको पात्रको खासै योगदान नभएको र उनी केवल पुरुष पात्रहरूलाई आकर्षित गर्ने माध्यम बनेको आरोप छ।

विवाद बढेपछि निर्देशक बुची बाबु सानाले एक्स (ट्विटर) मार्फत माफी माग्दै विवादास्पद दृश्यहरू परिमार्जन गर्ने निर्णय गरेका छन्। उनले लेखेका छन्, ‘एक फिल्म निर्माताका रूपमा मेरो विश्वास छ कि सिनेमाले दर्शकको मनोरञ्जन गर्नुपर्छ, उनीहरूलाई प्रेरित गर्नुपर्छ र भावनात्मक रूपमा जोड्नुपर्छ। यसले कहिल्यै कसैलाई असहज वा अपमानित महसुस गराउनु हुँदैन। पेड्डीका केही दृश्यबारे प्राप्त प्रतिक्रिया हामीले गम्भीरतापूर्वक लिएका छौँ।’

पर्दाभित्र वा बाहिर महिलाप्रति आफ्नो सधैँ उच्च सम्मान रहेको बताउँदै उनले थपे, ‘यदि फिल्मको कुनै भागलाई त्यस्तो दृष्टिकोणबाट हेरिएको छ भने, हामी ती भावनाको सम्मान गर्छौँ, उठाइएका चिन्तालाई बुझ्छौँ र त्यसका लागि इमानदारितापूर्वक माफी माग्छौँ।’

यसैबिच, जान्हवीका फ्यान क्लबहरूले केही कथित च्याट र स्क्रिनसटहरू सार्वजनिक गरेका छन्, जसको प्रामाणिकता पुष्टि हुन बाँकी छ। ती च्याटअनुसार जान्हवीले छायांकनका क्रममा क्यामेरा एंगल र दृश्यहरूबारे असन्तुष्टि र चिन्ता व्यक्त गरेकी थिइन्।

एउटा सन्देशमा जान्हवीले लेखेकी छिन्, ‘मैले उनलाई स्तन र कम्मरको सट नलिन भनेँ। र राम सर यति प्यारा छन् कि उनले उनलाई कराउँदै भने-तिमीले फेरि कहिल्यै उनको यस्तो कोण लिने छैनौ। त्यसैले उनी रिसाएका थिए।’

जान्हवीकी मेकअप आर्टिस्ट सावलीन कौर मनचन्दा र अभिनेत्री आशिका रंगनाथले पनि जान्हवीको बचाउ गरेका छन्। आशिकाले अभिनेत्रीलाई नभई यही कुरा बिक्छ भन्ने सोच्ने निर्माता र प्रणालीलाई दोष दिनुपर्ने बताएकी छिन्।

यो विवादका बाबजुद पनि फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै भारतमा १२६ करोड (भारतीय रुपैयाँ) र विश्वभर १९० करोड (भारतीय रुपैयाँ) भन्दा बढी कमाइसकेको छ। फिल्ममा राम चरण, बोमन इरानी, दिव्येन्दु र शिव राजकुमार मुख्य भूमिकामा छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours