दसैँको टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

०६ कार्तिक, काठमाडौँ । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ पुग्नेहरूको चहलपहल जारी छ ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेकाहरू मान्यजन र आफन्तको घरमा पुगेर टीका लगाउँदै दसैँको खुसी साटिरहेका छन् ।

नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु हुने टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ ।

लामो समयदेखि भेट हुन नपाएका आफन्त तथा परिवारजनसँगको पुनर्मिलनले दसैँलाई पारिवारिक सम्बन्ध र आत्मीयता बलियो बनाउने अवसरसमेत बनाएको छ ।

मान्यजनको आशीर्वाद लिने र आपसमा शुभकामना साट्ने यस पर्वले सद्भाव, विश्वास र भाइचारालाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।

टीका लगाउन आफन्तकहाँ जानेहरूको आवागमनसँगै सडक तथा सहरबजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।

यसैबीच, दसैँ मनाउन सहर तथा सदरमुकामबाट घर गएकाहरू आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रमसमेत सुरु भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours