‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

३० चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेकाले सेवाग्राही मर्कामा परेका भन्दै नियमित सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो ।

“स्वास्थ्य अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई थप सहजता बनाउनुपर्ने आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यही भएर बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबारको दिन पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने आग्रह गरिएको हो ।”

सहप्रवक्ता डा अधिकारीले आइतबार पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा केही सेवा प्रदायक अस्पतालले राखेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक एवं प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले चाँडै नै सार्वजनिक बिदाको दिन आइतबार स्वास्थ्य सेवा सञ्चालन गर्ने कार्यविधि जारी गर्ने जानकारी दिनुभयो ।

“नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवाजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु हामी सबैको प्रमुख दायित्व हो भन्ने तथ्य पनि उत्तिकै महत्वपूर्ण छ”, सहप्रवक्ता डा अधिकारीले भन्नुभयो, “सबै सरोकार भएकाहरूको सहकार्य र समन्वयमा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरिरहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ ।”

सहप्रवक्ता डा अधिकारीले कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ–आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत अनुरोध गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours