‘देवदास’ र ‘मिसन कश्मीर’ खिच्ने प्रमोद प्रधान बनाउन चाहन्छन् नेपाली फिल्म

१७ चैत, काठमाडौँ । बलिउडका स्थापित छायाकार प्रमोद प्रधान यतिबेला काठमाडौँमा छन् । फिल्म ‘जुवा’को छायांकन सम्हाल्न १५ दिनअघि उनी नेपाल आएका हुन् । ‘जुवा’का लागि उनलाई निर्देशक प्रकाश कर्णले मुम्बई पुगेरै प्रस्ताव राखेका थिए । नेपाल आएलगत्तै उनी फिल्मको वर्कसपमा व्यस्त छन् ।

बलिउडमा थुप्रै अनुभव सँगालेका उनी ‘जुवा’सँग जोडिनुको मुख्य कारण निर्देशक प्रकाश कर्णको फिल्मप्रतिको ‘भिजन’ हो । नयाँ निर्देशक कर्णको तयारी र एआईको प्रयोग गरी देखाइएको ‘प्रेजेन्टेसन’बाट प्रभावित भएर फिल्ममा काम गर्न राजी भएको उनी बताउँछन् । नयाँ पुस्तासँग काम गर्दा आफू पनि अपडेट भइने उनको विश्वास छ ।

‘निर्देशक कर्णले मुम्बईमै आएर फिल्मको अफर गर्नुभयो,’ प्रधानले भने, ‘सुरुमा काम गर्ने इच्छा थिएन, तर छलफलका क्रममा उहाँको उत्सुकता र तयारी देखेपछि जोडिन मन लाग्यो ।’ उनले फिल्मप्रतिको भिजन र तयारी नौलो पाएको सुनाए ।

लामो समयदेखि बलिउडमा क्रियाशील प्रधानले गत वर्ष वरिष्ठ निर्देशक तुलसी घिमिरेको प्रदर्शनोन्मुख फिल्म ‘पहाड’ छायांकन गरेका थिए । नयाँ वर्ष २०८३ को पहिलो दिन (वैशाख १ गते) प्रदर्शनमा आउन लागेको ‘पहाड’ मार्फत उनले ३० वर्षपछि नेपाली फिल्ममा पुनरागमन गरेका हुन् ।

तुलसी घिमिरेसँग उनको पुरानै सम्बन्ध छ । सानैदेखि सँगै हुर्किएका उनी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ बाटै नेपाली फिल्मको छायांकनमा भित्रिएका थिए, जसका निर्माता विश्व बस्नेत थिए । ‘अन्याय’ पछि उनले घिमिरेकै ‘दक्षिणा’, ‘त्रिशूली’, ‘चिनो’ र ‘कोसेली’ जस्ता चर्चित फिल्म क्यामेरामा कैद गरे ।

नेपाली फिल्ममा लामो समयको ‘ग्याप’ भएको प्रश्नमा उनको उत्तर छ- ‘अफर नआएरै हो । अफर आएको भए म फिल्म गर्थें । पैसा भनेजस्तो नहोला, तर नेपाली फिल्मसँग मेरो भावनात्मक सम्बन्ध छ ।’

लामो समयपछि नेपाली फिल्ममा फर्किएका उनी यहाँको पछिल्लो अवस्थाबाट निकै सन्तुष्ट देखिन्छन् । नेपालका नयाँ छायाकारहरूले गरिरहेको काम र प्रयोग भइरहेका उपकरणहरू अन्तर्राष्ट्रिय स्तरको रहेको उनको ठम्याइ छ ।

दार्जिलिङको कालिम्पोङस्थित १० माइलमा सन् १९५९ मा जन्मिएका प्रमोदको क्यामरासँगको नाता सानैदेखिको हो । उनका बुबाले ‘होम स्टुडियो’ खोलेका थिए । फोटोग्राफी र स्टुडियोकै वातावरणमा उनको बाल्यकाल बित्यो । क्यामराका लेन्स र रिलहरूसँग खेल्दै हुर्किएका उनी एक दिन यस क्षेत्रको एउटा बलियो खम्बा बन्नेछन् भन्ने कुरा त्यतिबेला सायदै कसैले सोचेका थिए ।

‘भर्खरै मैले पछिल्लो समयका ‘कौसीद’ लगायत केही नेपाली फिल्म र तिनका टिजर हेरेको थिएँ,’ उनले भने, ‘निकै राम्रो काम भएको छ । यहाँका भाइहरू निकै अपडेटेड छन् ।’ प्रधानका लागि छायांकन केवल प्राविधिक काम मात्र होइन, बरु एउटा कला हो ।

प्रधानले नेपाली फिल्म छायांकनको त्यो समय पनि देखेका छन्, जहाँ सीमित स्रोत र साधनका बिच काम गर्नुपर्थ्यो । ‘अन्याय’ को सम्झना गर्दै उनी भन्छन्, ‘त्यतिबेला जम्मा ३–४ वटा रिफ्लेक्टर हुन्थे । १६ एमएमको रिलमा फिल्म खिच्नुपर्थ्यो । एउटै लेन्स हुन्थ्यो र नतिजा हेर्न ल्याबको रिपोर्ट कुर्नुपर्थ्यो ।’

अहिले प्रविधिले ठुलो फड्को मारिसकेको छ । उनी ‘जुवा’ का लागि अत्याधुनिक ‘एलेक्सा एलएफ मिनी’ क्यामेरा प्रयोग गर्दैछन्, जुन हाल बलिउडका ठुला बजेटका फिल्ममा प्रयोग गरिन्छ । ‘अहिले त मनिटरमा तुरुन्तै हेर्न सकिन्छ, के बिग्रियो र के बन्यो भन्ने कुरा सबैले देख्छन्,’ प्रविधिको सहजता सुनाउँदै उनी भन्छन्, ‘तर डिजिटलमा काम गर्न जति सजिलो छ, त्यति नै चुनौती पनि छ । पहिले सेटमै प्रकाश र रङ मिलाउनुपर्थ्यो, अहिले धेरै कुरा पोस्ट-प्रोडक्सनमा मिलाउन सकिन्छ ।’

सानैदेखि क्यामरामा लगाव

दार्जिलिङको कालिम्पोङस्थित १० माइलमा सन् १९५९ मा जन्मिएका प्रमोदको क्यामरासँगको नाता सानैदेखिको हो । उनका बुबाले ‘होम स्टुडियो’ खोलेका थिए । फोटोग्राफी र स्टुडियोकै वातावरणमा उनको बाल्यकाल बित्यो । क्यामराका लेन्स र रिलहरूसँग खेल्दै हुर्किएका उनी एक दिन यस क्षेत्रको एउटा बलियो खम्बा बन्नेछन् भन्ने कुरा त्यतिबेला सायदै कसैले सोचेका थिए ।

प्रमोदको बलिउड यात्रा निकै लोभलाग्दो छ । शाहरुख खानको ऐतिहासिक फिल्म ‘देवदास’ मा दाजुसँगै काम गरेका उनले सलमान खानको ‘हिरोज’ र ऋतिक रोशनको ‘मिसन कश्मीर’ जस्ता ठुला फिल्ममा आफ्नो सीप प्रदर्शन गरिसकेका छन् ।

उनका दाजु विनोद प्रधान बलिउडका लेजेन्डरी सिनेमाटोग्राफर हुन् । दाजुको सफलता र कामको प्रभाव उनीमा पर्नु स्वाभाविक थियो । दाजु मुम्बईमा बस्ने भएकाले वि. सं. २०४१/०४२ (सन् १९८४/८५) तिर उनी मुम्बई घुम्न गएका थिए । त्यहाँ दाजुको संगत, काम गर्ने शैली र फिल्मी माहोलले उनलाई यसरी तान्यो कि उनी त्यहीँ बसेर सिनेमाटोग्राफी सिक्ने निर्णयमा पुगे ।

सुरूमा उनले औपचारिक शिक्षाका लागि फिल्म इन्स्टिच्युट जाने सोच बनाएका थिए । तर भारतकी प्रख्यात फिल्म सम्पादक रेणु सलुजाले उनलाई एउटा यस्तो सुझाव दिइन्, जसले उनको करिअरको बाटो मोडिदियो । ‘तिम्रो दाजु आफैँमा बलिउडको एउटा ठुलो इन्स्टिच्युट हो, बाहिर कहाँ सिक्न जान्छौ ? आफ्नै दाजुसँग सिक,’ रेणुको भनाइ उद्धृत गर्दै उनले भने । त्यसपछि उनले दाजु विनोदकै छत्रछायामा सिनेमाटोग्राफीको ‘कखरा’ सिके । धेरै फिल्ममा सहायक भएर काम गरेपछि उनले ‘चोर और चाँद’ बाट स्वतन्त्र छायाकारका रूपमा बलिउडमा डेब्यु गरे, जसमा आदित्य पञ्चोली र पूजा भट्ट मुख्य भूमिकामा थिए ।

लोभलाग्दो बलिउड यात्रा

प्रमोदको बलिउड यात्रा निकै लोभलाग्दो छ । शाहरुख खानको ऐतिहासिक फिल्म ‘देवदास’ मा दाजुसँगै काम गरेका उनले सलमान खानको ‘हिरोज’ र ऋतिक रोशनको ‘मिसन कश्मीर’ जस्ता ठुला फिल्ममा आफ्नो सीप प्रदर्शन गरिसकेका छन् ।

फिल्म र सिरियल मार्फत बलिउडका सुपरस्टारहरूसँग काम गरेका उनी बलिउड र नेपाली कलाकारको कार्यशैलीमा केही भिन्नता पाउँछन् । ‘कलाकार त कलाकार नै हुन्, चाहे मुम्बईका हुन् वा नेपालका । तर काम गर्ने शैली फरक छ,’ उनी भन्छन्, ‘बलिउडमा स्केल ठुलो भएकाले अलि बढी रवाफ हुन्छ ।’ नेपालका कलाकारमा अर्कै किसिमको आत्मीयता, सरलता र शालीनता पाएको उनी बताउँछन् । मुम्बईमा व्यावसायिकता र समयको पाबन्दी कडा भए पनि नेपालमा काम गर्दा छुट्टै शान्ति र पारिवारिक वातावरण महसुस हुने उनको अनुभव छ ।

नेपाली फिल्म निर्माणको सोच

करिब चार दशक क्यामरासँग बिताएका प्रमोदको अबको सपना नेपाली निर्माता बन्ने छ । त्यसका लागि उनले एउटा स्तरीय नेपाली फिल्म निर्माण गर्ने योजना बनाएका छन् । किन नेपाली फिल्म नै ? ‘मुम्बईको व्यस्तताभन्दा नेपालको आत्मीयताले मलाई बढी तान्छ,’ उनी भन्छन्, ‘नेपालमा आफ्नै भाषामा गफ गर्दै काम गर्न पाइन्छ, जुन मुम्बईमा सम्भव छैन ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours