२४ फागुन, काठमाडौँ । टी–२० विश्वकप २०२६ को फाइनलमा साविक विजेता भारत र न्युजिल्यान्ड प्रवेश भएका छन् । यी दुई राष्ट्रबीचको फाइनल खेल ८ मार्चमा भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुका ७: १५ देखि सुरु हुनेछ । भारत इंग्ल्याण्डलाई तथा न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश भएका हुन् ।
टी–२० विश्वकप २०२६ को उपाधि हात पार्दै दुवै टोली इतिहास बनाउने लक्ष्यमा हुनेछन् । भारत तेस्रो ट्रफीको खोजीमा हुनेछ भने न्युजिल्यान्ड पहिलो । न्युजिल्यान्डले अहिलेसम्म पनि टी–२० होस् वा वानडे दुवैमा विश्वकप ट्रफी चुम्न सकेको छैन । यसपालि भने उसलाई राम्रो मौका छ ।
न्युजिल्यान्डले बुधबार भएको दक्षिण अफ्रिकासँगको सेमिफाइनल खेलमा सानदार प्रदर्शन गर्यो, जहाँ उसले उत्कृष्ट लयमा रहेको दक्षिण अफ्रिकालाई ध्वस्त पार्यो । दक्षिण अफ्रिकाले दिएको १ सय ७० रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो । न्युजिल्यान्डका लागि ओपनिङ ब्याटर फिन एलनले कीर्तिमानी ३३ बलमै शतक पूरा गरे ।
जारी विश्वकपमा न्युजिल्यान्ड पाकिस्तानसँग राम्रो रन रेटका आधारमा सेमिफाइनलमा प्रवेश भएको थियो । उसको लक्ष्य अब भारतलाई जिल्ल पार्दै पहिलो पटक विश्वकप उपाधि जित्ने हुनेछ । न्युजिल्यान्ड आफ्नो टी–२० विश्वकप इतिहासमा दुई पटक फाइनलमा प्रवेश भएको छ । ऊ पहिलो पटक सन् २०२१ को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।
तर, उक्त फाइनल खेलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । तर, यसपालि भने न्युजिल्यान्ड मौका गुमाउने पक्षमा छैन । त्यस्तै, भारत पनि इतिहास रच्ने लक्ष्यमा छ । उसले सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको थियो । भारत टी–२० विश्वकपको सबैभन्दा सफल टिममध्येका एक हो ।
उसले इंग्ल्याण्ड र वेष्ट इण्डिजसँगै सर्वाधिक समान दुई पटक विश्वकप उपाधि उचालेको छ । टी–२० विश्वकप इतिहासमा भारतले हालसम्म चार पटक फाइनलमा स्थान बनाएको छ । ऊ चार पटक फाइनलमा पुग्ने एक्लो टोली पनि हो । पहिलो पटक सन् २००७ मा आयोजना भएको टी–२० विश्वकपको ट्रफी भारतले उचालेको थियो ।
भारतले फाइनल खेलमा पाकिस्तानलाई ५ रनले पराजित गर्यो । त्यस्तै, दोस्रो पटक सन् २०१४ को टी–२० विश्वकप फाइनलमा प्रवेश भएको भारत श्रीलंकासँग पराजित भयो । भारतले दिएको १ सय ३१ रनको लक्ष्य श्रीलंकाले ४ विकेट गुमाएर सजिलै पूरा गर्यो । त्यसपछि भारतले सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना भएको टी–२० विश्वकप उपाधिमा कब्जा गर्यो ।
भारतले फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो । त्यस्तै, भारत यसपालि पनि उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्ने लक्ष्यमा छ । टी–२० विश्वकपमा अहिलेसम्म ट्रफी विहीन न्युजिल्यान्डको भारतमाथि भने दबदबा छ । यी दुई टोली अहिलेसम्म विश्वकपमा तीन पटक आमनेसामने भएका छन्, जहाँ तीनै खेलमा न्युजिल्यान्ड विजयी भएको छ ।


+ There are no comments
Add yours