काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेका छन् ।
उनी यसअघि कांग्रेसबाटै रास्वपामा गएका थिए । रास्वपा मकवानपुरले आज विशेष भेला राखेको छ । त्यसअघि जिल्ला सभापति सर्लाही पुगेर गगन थापासँग भेट गरेका थिए ।
पराजुलीले भने, “म अहिले गगन थापासँगै छु । कांग्रेसमा फर्किएँ । बाँकी कुरा पछि गरौँला ।”
उनले सामाजिक सञ्जालमार्फत् रास्वपा छाडेको प्रतिक्रिया दिएका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका धारणा
सबैमा नमस्कार।
म विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा समर्पित रहँदै आएको थिएँ। त्यसपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरेँ।
जहाँ रहे पनि म सधैं भुईँमान्छेको सेवकका रूपमा जनताको सेवामा समर्पित रहन प्रयासरत थिएँ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ जस्तो बिकट क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गर्नु मेरो लागि जनविश्वासको प्रमाण थियो।
तर समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो। सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो। मैले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ। कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग म सहमत हुन सकिनँ।
यस निर्णयलाई कसैले अन्यथा अर्थ लगाउन सक्लान्, तर मेरो लागि मूल कुरा पार्टी स्थापना गर्दा अघि सारिएको उद्देश्य र व्यवहारबीचको अन्तर हो। जब आदर्शभन्दा फरक बाटो समातिएको महसुस भयो, तब आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको छु।
रास्वपामा मलाई माया, साथ र विश्वास गर्ने सम्पूर्ण साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। म पार्टीमा नरहँदा केही सीमित व्यक्तिहरूलाई सुखानुभूति हुन सक्ला, तर भविष्यमा कसैले पनि मेरो जस्तो नियति भोग्न नपरोस् भन्ने कामना गर्दछु।
रास्वपा पार्टीको जिल्ला सभापति पदमा रहँदा विभिन्न कोणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरू, शुभेच्छुकहरू तथा कार्यकर्ताहरूमा हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरूको साथ, समर्थन र विश्वास नै मेरो राजनीतिक यात्राको बलियो आधार रहनेछ।
हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको छ। साथै, यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसक्ने अवस्था देखिएकाले स्थापना कालदेखि आबद्ध रहेको पार्टीबाट आजकै मितिदेखि अलग रहने निर्णय गरेको सम्वन्धित सबैमा जानकारी गराउँदछु।
आगामी दिनहरूमा पनि म सदाझैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।


+ There are no comments
Add yours