क्यान्सर उपचारमा क्रान्ति: एमआरएनए र अल्ट्रासाउन्ड प्रविधिको संयोजनमा अनुसन्धान

०५ मंसिर, काठमाडौँ । फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन्। कोभिड–१९ खोपमार्फत विश्वभर चर्चित बनेको एमआरएनए प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ।

एमआरएनए अणुहरूले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन्। फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकका अनुसार, क्यान्सरको हकमा यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ।

एमआरएनएको खोजी सन् १९६० को दशकमा भए पनि कोभिड महामारीका बेला यसले नयाँ पुस्ताका खोपहरू अत्यन्त छिटो विकास गर्न मद्दत गरेपछि विश्वव्यापी रूपमा चर्चित बन्यो र यस महत्त्वपूर्ण उपलब्धिका कारण सन् २०२३ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो। एआरटी प्रयोगशालाका प्रमुख चान्टल पिचोनका अनुसार, अहिले एमआरएनए सम्बन्धी अनुसन्धानको ठूलो हिस्सा क्यान्सरविरुद्ध खोप विकासमा केन्द्रित भए पनि यो प्रविधिसँग प्रतिरक्षा प्रणाली सुदृढ पार्न, क्षतिग्रस्त कोषहरूको पूर्ति गर्न, आनुवंशिक तथा दुर्लभ रोगहरू लक्ष्य गर्न वा एलर्जी नियन्त्रणमा पनि उपयोग हुन सक्छ। विश्वका अग्रणी संस्थाहरूले हाल २०० भन्दा बढी एमआरएनए क्लिनिकल परीक्षण सञ्चालन गरिरहेको उनले बताए।

एआरटी प्रयोगशालाका वैज्ञानिकहरूले विभिन्न प्रकारका एमआरएनए तयार गरेर तिनीहरूको विषाक्तता र प्रभावकारिताको जाँच गरिरहेका छन्। महँगो आरएनए उत्पादनको लागत घटाउन प्रयोगशालाको अर्को टोलीले खमीर प्रयोग गरी आरएनए उत्पादन गर्ने लागत–कम विधि विकास गरिरहेको छ, जसले खर्च १० देखि ५० गुणासम्म घटाउन सक्ने अपेक्षा गरिएको छ।

उता, अर्को विशेषज्ञ टोलीले अग्नाशय (प्यान्क्रियास) क्यान्सरको उपचारमा नयाँ विधि खोजिरहेको छ। एआरटीका ग्यास्ट्रोएन्टेरोलोजिस्ट बिराने बेयेका अनुसार, परम्परागत उपचारले राम्रोसँग काम नगरेको देखाउँदै निदान भएपछि बाँच्ने दर ऐतिहासिक रूपमा अत्यन्त कम रहँदै आएको छ। फ्रान्सेली वैज्ञानिकहरूले अहिले एमआरएनए खोपलाई अल्ट्रासाउन्ड प्रविधिसँग संयोजन गर्दै नवीन उपचारप्रति आशा जगाइरहेका छन्। यस विधिमा शक्तिशाली अल्ट्रासाउन्ड मार्फत तन्तुभित्र कम्पन पैदा गरी ग्यासका साना फोका बनाइन्छ, जुन फुट्दा तिनीहरूले अग्नाशय वरिपरि रहेको कडा अवरोधलाई भत्काइदिन्छन्, जसले एमआरएनए खोपलाई ट्युमरसम्म सहजै प्रवेश गर्न मद्दत गर्छ। हालसम्मको प्रारम्भिक परीक्षणले अल्ट्रासाउन्ड प्रविधि सुरक्षित रूपमा प्रयोग गर्न सकिने र यसले मौजुदा उपचारको प्रभावकारिता सुधार गर्न सक्ने सङ्केत दिएको वैज्ञानिकहरूको दाबी छ।

यसैबीच, बिहीबार विश्व अग्नाशय क्यान्सर दिवस पनि परेको छ, जसको उद्देश्य यो अत्यन्त घातक क्यान्सरबारे विश्वव्यापी जागरण बढाउनु रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours