१४ असाेज, काठमाडौँ । नयाँ लुगा अनि मासु अझै पनि दशैंको पर्याय हुन्। फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेय पदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाइरहेका हुन्छन्।
मासुको निरन्तर सेवनले स्वास्थ्यमा विकार उत्पन्न हुन्छ। कतिपय दीर्घरोगी तथा विशेष रोग भएकाहरूका लागि थोरै मात्रामा सेवन गरिने मासु पनि निकै हेक्कासाथ स्वास्थ्यबर्धक रूपमा खानुपर्छ। यद्यपि, उक्त नियम बिरामी तथा रोगी व्यक्तिहरू मात्र नभई सबैका लागि आवश्यक छ।
यी हुन् स्वास्थ्यबर्धक मासु सेवनमा रेसिपी
खसी, च्यांग्राको लेदोबेदो
आवश्यक सामग्री : एक किलो खसी या च्यांग्राको मासु, दुईवटा प्याज, मध्यम आकारका दुईवटा गोलभेडा, दुई चम्चा अदुवा लसुनको पेस्ट, एक चम्चा गरम मसला (ल्वाङ, सुकमेल, जाइफल, मरिच, दालचिनी), एक चम्चा धनियाँ, बेसार, खुर्सानी, जिराको धुलो, तीन चम्चा तोरीको तेल, एक मुठो धनियाको पात, आधा चम्चा टिमुरको धुलो, एक चम्चा मेथी, स्वादअनुसार नुन।
तयारी विधिः कराइ, प्रेसर कुकर या हुन्डीमा तोरीको तेल तताउनूस्। त्यसमा मेथी दाना पड्काएर प्याजलाई खैरो हुने गरी भुट्नूस्। त्यसपछि तेजपत्ता हाली चलाउनूस् र एक चम्चा बेसार हालेर मासु केही समय भुट्नुपर्छ। विस्तारै अन्य मसला, अदुवा लसुनको पेस्ट हाली मन्द तापक्रममा पकाउनुपर्छ। त्यसपछि मसिनो गरी काटेको गोलभेडा हालेर केही पकाउने र अन्तिममा धनिया राखेपछि खसीको लेदोबेदो तयार हुन्छ।
तावा फिस
आवश्यक सामग्रीः बोनलेस फिस फिल्लेट आधा किलो, मस्टर्ड पाउडर आधा चिया चम्चा, कागतीको रस एक चिया चम्चा, नुन स्वादअनुसार, अदुवा लसुन पेस्ट एक चिया चम्चा, चप गरेको हरियो खुर्सानी २ पिस, जिरा पाउडर आधा चिया चम्चा, तोरीको तेल २ चिया चम्चा, गरम मसला पाउडर-पिन्च, मसिनो गरी काटेको धनियाँ दुई चिया चम्चा।
तयारी विधिः रातो भएपछि फर्काउने र दुवैतर्फ पाक्न दिने। एकै रूपमा सबै स्लाइस पिसलाई डामेर निकाल्ने र दशैंको समयमा स्वादिस्ट मानेर परिवारका साथ खाने। अन्य मासुभन्दा माछा खानु स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ। किनकि, माछा पचाउन पनि सहज छ र यसमा धेरै किसिमको प्रोटिन, भिटामिन र मिनरल्स प्राप्त हुन्छ।
माछालाई पातलो स्लाइसमा काट्ने र माथिका सम्पूर्ण सामग्री हालेर हलुका तरिकामा मिक्स गर्ने र १५ देखि २० मिनट रेस्टमा राख्ने। मधुरो आचमा ननस्टिक प्यान या तावामा डाम्ने।
बँदेल, बंगुर डामेको
बँदेल र बंगुरका मासु उसिनेर, डामेर, ग्रेभी, भुटेर, पोलेर, सेकुवा धेरै किसिमका परिकार बनाउन सकिन्छ। यहाँ हामीले चर्चा गर्न लागेको भने बँदेल डामेको हो।
आवश्यक सामग्रीः जंगली बँदेलको मासु एक किलो (छाला, बोसो, फलमासु तीन लियर भएको), हिमाली नुन स्वादअनुसार, बेसार आधा चिया चम्चा, हिमाली टिमुरको धुलो आधा चिया चम्चा, सुकेको अकबरे खुर्सानीको च्याँख्ला खालको धुलो आधा चम्चा, ताजा जिराको धुलो आधा चिया चम्चा, ताजा धनियाँको धुलो आधा चिया चम्चा, भुटेको तोरीको तेल, नेपाली लसुन पेस्ट एक चिया चम्चा, अदुवा पेस्ट आधा चिया चम्चा, ताजा गरम मसलाको धुलो आधा चिया चम्चा।
तयारी विधिः सर्वप्रथम तीन लियर बँदेलको मासुलाई थोरै नुन र बेसार हालेर उसिन्ने र चिस्याउने। चिसो हुनासाथ पातलो स्लाइसमा काट्ने र एक साइड लगाउने। यसरी काटेको बँदेलको मासुलाई तोरीको तेलमाथि दिएको सबै मसलाहरू आधा हालेर मोल्ने र छोपेर कम्तिमा आधा घण्टा रेस्ट गराउने।
आधा घण्टापछि प्यान या ग्रिलरमा मज्जाले तताएर थोरै तेल हालेर रातो हुने गरी डाम्ने। दुवै साइड रातो हुने गरी डामेपछि तात्तातै सर्भ गर्ने। डामेको बँदेलसँग धुलो मसला साइडमा दिने गरिन्छ। धुलो मसला बनाउन हिमाली नुन, खुर्सानीको धुलो, टिमुरको धुलो, जिरा धनियाको धुलो मिक्स गरिएको हुन्छ।
जुसिलो बफ सुकुटी साँधेको
सामग्रीः बफको फल मासु आधा किलो, बेसार आधा चिया चम्चा, नुन स्वादअनुसार, कागतीको रस या भिनेगर २ चिया चम्चा, खुर्सानीको च्याँख्ला एक र आधा चिया चम्चा, मसिनो गरी काटेको धनियाँ एक चिया चम्चा, तोरीको तेल ३ चिया चम्चा, मसिनो गरी काटेको प्याज एक पिस, मसिनो गरी काटेको अदुवा लसुन एक र आधा चिया चम्चा, हिमाली टिमुरको धुलो आधा चिया चम्चा।
तयारी विधिः बफलाई राम्ररी सफा गरेर पातलो स्लाइसमा काट्ने र पानी सुक्खा पार्ने। थोरै बेसार, नुन, खुर्सानीको धुलो, तोरीको तेल र कागतीको रस हालेर मोल्ने अनि २ घण्टा रेस्ट गराउने। मासुलाई तार या मोटो धागोको सहायताले दुई दिन दुई रात घाम या अँगेनोको माथि सुकाउने।
तयार हुनासाथ फलाम या ढुंगाको ओखलमा कुट्ने। माथि दिएका सम्पूर्ण सामग्री, अदुवा, लसुन, खुर्सानी, नुन, पोलेको सानो खालको गोलभेडा, प्याज, कागतीको रस हालेर मज्जाले मोल्ने र तोरीको तेल तताएर बेसार हाली तड्का दिने। केही समय रेस्ट गराएर धनियाँ हाली स्न्याक्सको रूपमा सर्भ गर्ने।
मासुसँगै हरिया सागपातलाई पनि स्थान दिने

मासुका विभिन्न थरिका परिकार बनाउनुभन्दा पनि हरियो सागपातलाई स्थान दिनुपर्छ। जसले मासुले गर्ने सक्ने सम्भावित विकारलाई न्यून गर्छ। यसका साथै मासुसँगै सलाद, मुला, गाँजरलाई पनि सन्तुलन गरेको अझ स्वस्थ र उपयोगी हुन्छ। यसका साथै अचारलाई पनि भोजन परिकारमा स्थान दिनुपर्छ।
खसीका रेड मिट मानिसको शरीरलाई पचाउन कम्तीमा पनि ३६ घण्टा लाग्छ। यसकारण पनि मासुअन्तर्गतकै माछा, कालिज, कुखरा, बट्टाइको हल्का मासुअन्तर्गत पर्छन्। यस्ता मासु शरीरले चाँडै पचाउन सक्ने कारण पनि मटनको सट्टा यस प्रकारका मासु सेवनमा जोड दिनु उचित हुन्छ।
मासु र मदिरा
मासुजस्तै मदिरा पनि चाडपर्वमा अधिक सेवन गरिन्छ। साथै, प्रायः सितनको रूपमा मदिरासँग मासु खाने बानी नेपाली जीवनशैलीमा चल्दै आएको छ। मासु र मदिरा दुवै एकदम हेभी खानेकुरा भएका कारण मदिरा अनि मासु सेवनको समयमा थोरै मात्रामा बदाम तथा फलफूल पनि खान सकिन्छ।
मेवा, खर्बुजा, बदाम, काजु, भुइँकटहर आदिको सलादसँगै थोरै मासु र मदिरा सेवन गर्नु उचित हुन्छ।
यस्तै, दशैंमा मासु धेरै भित्रिने कारण लामो समय मासुलाई स्टोर गर्दा त्यसमा रहेको पोषण र स्वाद हराउन सक्छ। यसका लागि माइनस १८ देखि माइनस २२ डिग्री सेल्सियसको तापक्रममा मासुलाई फ्रिज गर्नु उपयुक्त हुन्छ।



+ There are no comments
Add yours