०८ असाेज, काठमाडौँ । शिक्षा मन्त्री महावीर पुनलाई मन्त्रालयमै खाने/बस्ने व्यवस्था गरिएको छ । योसँगै हिजोदेखि केशरमहलमा रहेको शिक्षा मन्त्रालयमा बस्न थाल्नुभएको छ । मन्त्री पुनको कार्यकक्षसँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ ।
गएको भदौ २४ मा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी र तोडफोड भएपछि शिक्षा मन्त्रालयलाई अस्थायी रूपमा केशरमहलमा सारिएको हो । केशर पुस्तकालयसँगैको भवनको पहिलो तलामा शिक्षामन्त्रीको कार्यकक्ष स्थापना गरिएको छ । कार्यकक्षमा जोडिएकै कोठामा मन्त्री पुनको आवासका लागि व्यवस्था गरिएको हो ।
हिजो कर्मचारीसँगको ब्रिफिङ र आगन्तुकसँग भेटपछि विभिन्न विषयलाई समेटेर उहाँले तीनबुँदे निर्देशनसमेत सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक निर्देशनमा हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दीका लागि व्यवस्था गरिने उल्लेख छ । यस्तै, विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन उहाँले निर्देशन दिनुभएको छ ।
यदि समयमै परीक्षाफल ननिकाले विश्वविद्यालयको अनुदान रोक्का गरिदिने समेत चेतावनी दिनुभएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने निर्णय समेत भएको छ ।


+ There are no comments
Add yours