०६ असाेज, काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेनजी आन्दोलनको एक भिडियो लिएर सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएको छ ।
सो भिडियोमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको घरको छतमा रहेको व्यक्तिले गोली हानिरहेको देखिन्छ । तर, भिडियो कम गुणस्तरको भएकाले प्रस्ट देखिँदैन । बस्नेतले उक्त भिडियोलाई लिएर फेसबुकमा पोस्ट गर्दै लेखेका छन्– “हेर्नुस्, छतबाट लुकेर गोली हान्दै सुट–बुट लगाएको मानिस को हो ?”
बस्नेतले जेनजी आन्दोलनलाई अदृश्य र अर्मूत शक्तिहरूको षड्यन्त्र भएको दाबी गर्दै जनतालाई सचेत हुन आग्रह गरेका छन्। उनले थपेका छन्– “अदृश्य र अर्मूत शक्तिहरूको ठूलो षड्यन्त्रको चाल हो यो । क्रमशः खुल्दै जानेछ। जनता सचेत रहनुपर्छ, प्रश्न उठाउनु सबैको कर्तव्य हो।”
तर नेपाल फेक्टचेकले बस्नेतको दाबी झुटो भएको पुष्टि गरेको छ । फेक्टचेकको निष्कर्ष छ– “भाइरल भिडियोमा देखिएका व्यक्तिले गोली हानिरहेका छैनन्। हाइ रेजोल्युसनको भिडियोमा उनी मोबाइल फोनमा भिडियो खिच्दै गरेको देखिन्छ।”

फेक्टचेकले अनुसार उक्त भिडियो टिकटकमा भदौ २३ गते सजना श्रेष्ठले अपलोड गरेको हो र त्यसलाई लो क्वालिटीमा राखेर गलत दाबी फैलाइएको हो ।
बस्नेतले जेनजी आन्दोलनबारे अन्य तीखा टिप्पणी पनि गरेका छन् । उनले दाबी गरेका छन् कि युवाहरूको नेटवर्क डिस्कोर्डमा अपराधीहरूको घुसपेट भएको छ र त्यहाँ व्यक्तिलाई मार्ने छलफल भइरहेको छ।
उनले लेखेका छन्– ‘युवाहरूको नेटवर्क डिस्कोर्डभित्र अपराधीहरूको घुसपेट भएको देखिन्छ। त्यहाँभित्र व्यक्तिलाई मार्ने गोली हान्ने लगायतका छलफल र योजना खुल्लम खुल्ला भइरहेको छ। नेपालको साइबर ल लगायतकाले यसलाई गम्भीर अपराध मान्दछ। जेनजीको हजुरआमा र ठूलो बुवा प्रधानमन्त्री र गृहमन्त्री जानकार हुनुहुन्छ कि हुनुहुन्न ? यस्ता आपराधिक कार्यमा रोक्न र कारबाहीको दायरामा ल्याउन सक्नुहुन्छ कि सक्नुहुन्न ? मेटालाई यो कुरा जानकारी दिइएको छ कि छैन ?’
त्यसै गरी बस्नेतले काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी आन्दोलन सुरु गराएको आरोप पनि लगाएका छन् । उनले भनेका छन्– “महोत्तरीमा बालेन शाहको घरमा तोडफोड भएको सुन्नमा आयो । यदि सत्य हो भने, राजनीतिक स्वार्थका नाममा हिंसा र तोडफोडलाई वैधानिकता दिने खतरनाक प्रवृत्ति हो। यस्तो प्रवृत्ति बढे देश दीर्घकालीन द्वन्द्वतिर धकेलिनेछ।”
अर्कोतर्फ, जेनजी आन्दोलनका अगुवाहरूले बस्नेत र उनको समूहले आफूहरूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएका छन्। ‘हामी नेपाल’का संयोजक सुदन गुरुङका अनुसार, मंगलबारदेखि नै उनीलाई एक अपरिचित समूहले पछ्याइरहेको थियो। बुधबार रानीबारीदेखि नयाँ बानेश्वरसम्मका विभिन्न स्थानमा पल्सर र होन्डा बाइकमा सवार समूहले उनलाई पछ्याएको उनले दाबी गरेका थिए ।
बस्नेतले सुदनलाई विदेशी दलालको संज्ञा दिँदै सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । केही दिनअघि उनले लेखेका थिए– उनले लेखेका थिए– ‘यो केटो त ठूलो ठूलो कुरा गरेर दलका नेतालाई घरमै थुन्ने धम्की दिन पो थालेछ ! अरे ओरिजिनल बाउको छोरा हस् भने,आमाको दूध खाको छस् भने गरेर देखाऊ’ उनै बस्नेतले सुदनलाई कुनै हैसियत नभएको जनाउँदै लेखेका छन्,‘दलका नेता थुन्ने त के हाम्रो पछाडि लागेर झिँगा धपाउने हैसियत पनि छैन,बाबु तिम्रो ’


+ There are no comments
Add yours