१२ भदाै, नयाँदिल्ली । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीको एक अध्ययनअनुसार ‘सेन्स अफ ह्युमर’ भएका युवकले आफ्नो सम्भावित पार्टनरलाई छिटो आकर्षित गर्न सक्छन्। र, त्यस्ता युवक घर, अफिस र साथीहरू माझ पनि लोकप्रिय रहन्छन्।
सन् २०१४ मा टाइम म्यागेजिनमा प्रकाशित एक सर्वेका अनुसार जुन युवकमा राम्रो ‘सेन्स अफ ह्युमर’ हुन्छ, पहिलो कुराकानीमै युवतीले फोन नम्बर उपलब्ध गराउने सम्भावना ४२.९ प्रतिशत हुन्छ। र, जुन युवकमा ‘सेन्स अफ ह्युमर’ हुँदैन, युवतीबाट नम्बर पाउने कुरामा रिजेक्सनको मात्रा ८४.६ प्रतिशत हुन्छ।
अर्थात्, सम्बन्ध कति लामो समय टिकिरहन्छ भन्ने विषय ‘सेन्स अफ ह्युमर’मा निर्भर हुन्छ। जो जति मिजासिलो हुन्छ, हाँस्न र हँसाउन सक्छ, सम्बन्ध पनि त्यति नै लामो समय रहन्छ।
साइकोलोजी टुडेको रिपोर्टअनुसार हाँस्ने-हँसाउने सम्बन्ध गहिरो हुन्छ। तर, त्यस्तो त्यतिबेला हुन्छ, कसैमाथि हाँस्ने होइन, कसैसँग हाँस्नुले अर्थ राख्छ। जस्तो- अफिसमा २ सहकर्मी मिलेर तेस्रोको हँसी उडाइरहेका छन् भने त्यस्तो सम्बन्ध बन्ने नभई बिग्रिने सम्भावना ज्यादा हुन्छ।
त्यसको साटो कुनै जोक सुनाएर तीनैजना हाँस्न सके भने तीनजनाकै सम्बन्ध लामो समय जान्छ। र, सम्बन्ध पनि मजबुत रहन्छ। त्यो हेल्दी ह्युमरको उदाहरण हुन सक्छ।
युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाकी साइकोलोजिस्ट सारा एल्गो कुनै रोमान्टिक सम्बन्ध तोडिनुका तीन ठूला कारण उल्लेख गर्छिन्। त्यसमध्ये पहिलो सम्बन्धमा मजाक र हँसीको अवसर नै नहुनु हो।
उनले गरेको अध्ययनमा सम्बन्धमा हँसी मजाकमा कमी भयो भने पार्टनर्स एकअर्काबाट टाढा हुन पुग्छन्। उनीहरू बीच आपसी समझदारी कम हुन्छ र सम्बन्ध भित्रैदेखि कमजोर हुन्छ।
यस्तै, मजाक गर्नुको उद्देश्य एकअर्कालाई होच्याउनु र हतोत्साहित गर्नु पनि हुनु हुँदैन। त्यसले सम्बन्धमा नकारात्मक असर पार्छ।
साइकोलोजी टुडेको रिपोर्टअनुसार हाँस्दा पार्टनरबीच एकजस्तो दृष्टिकोण बनाउन मौका मिल्छ। एकअर्काले सुनाएका जोक सम्झिन सक्दा उनीहरूमा दुनियाँलाई एउटै नजरले हेर्ने भाव विकसित हुन्छ।
कुनै टपिक्स या मजाकले दुवै पार्टनरलाई हँसाउन सकोस्। त्यसको अर्थ हुन्छ- दुवै त्यस मामिलामा सहमत छन्। झट्ट हेर्दा यो सामान्य कुरा लाग्न सक्छ तर यस्ता स-साना सहमतिले नै सम्बन्धलाई मजबुत बनाउँछन्।
त्यसका लागि साझा ह्युर टपिक्स ठम्याउन र आपसको ‘सेन्स अफ ह्युमर’ सम्झिन साइकोलोजी टुडेले सुझाएको छ।
समग्रमा हाँस्न र हँसाउन जरुरी छ। त्यसबाट सम्बन्धहरू मजबुत हुन्छन्। साथै, स्वास्थ्यका लागि हाँस्नु अत्यन्तै लाभदायक छ। कुनै पनि मजाक कसैको इगोमा हर्ट गर्ने प्रकारको हुनु हुँदैन भन्ने कुरा पनि ख्याल गर्नु अत्यावश्यक छ। कसैमाथि हाँस्नु र कसैलाई मजाकको विषय बनाउनु ब्याड जोकको उदाहरण हो।


+ There are no comments
Add yours