नाइमा अटो शोले काट्यो नाडाको नाक, नेतृत्वकै कमजोरीले संस्था टुक्रिने अवस्थामा

२१ साउन, काठमाडाैं । लामो समयदेखि अटोमोबाइल क्षेत्रको एकछत्र प्रभुत्व जमाउँदै आएको नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) यतिबेला इतिहासकै गम्भीर संकटमा छ । संगठनभित्र चर्किएको विवाद, कमजोर नेतृत्व र नाइमा जस्ता नयाँ संस्थाहरूको उदयका कारण नाडा गम्भीर संकटमा परेको हो । नाडा अध्यक्ष करण चौधरीको अक्षमताको चपेटामा नाडा थप बिखण्डनको मोडमा पुगेको छ ।

यसैबीच, बुधबार नाइमाले भव्य अटो शोको प्रदर्शनी गरेको छ । उक्त प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नाइमाको अटो शोबाट आफू उत्साहित भएको बताउँदै भर्खरै बामे सर्न थालेको संस्थाले स्थापनाको छोटो समयमै अटो शो जस्तो प्रदर्शनी आयोजना गरेकोमा नाइमाको प्रशंसा गरे ।

नाइमाका अध्यक्ष रितुसिंह वैद्यले नाइमाको स्थापना सिंगो अटोमोबाइल व्यवसायलाई व्यवस्थित गर्न र यस क्षेत्रका समस्याहरुको पहिचान गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाइन् ।

नाडाबाट टुक्रिएर गठन भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलोपटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भइसकेको छ। छोटो समयमै संगठन निर्माण गरी नाइमा अटो शो सुरु गर्नु नाडाको अटो शोमाथिको ‘सिधा चुनौती’ हो । यस शोमा भएको उपभोक्ताको आकर्षणले लामो विरासत बोकेको नाडाको नाकै काटेको छ ।

उपभोक्ताको मन जित्न नाइमाले गरेको तयारी प्रभावशाली देखिएको छ । नाइमा अटो शोमा नाडाकै पूर्व–वर्तमान पदाधिकारीहरूको बाक्लो उपस्थिति छ, जसले नाडालाई थप कमजोर बनाएको छ ।

रोचक त के छ भने, नाडाले पनि अटो शो घोषणा गरिसकेको छ । तर नाइमाको अटो शो सामू त्यो फिका छ । वर्षौँदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको नाडा अटो शोको ‘क्रम भंग’ हुने अवस्था आएको छ। आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना हुन लागेको नाडाको १६औं संस्करणको अटो शो ओझेलमा परेको छ । संस्था नै बिखण्डनको संघारमा पुगेको बेला शोमाथि संस्थागत एकता, समन्वय र चासोको अभाव स्पष्ट देखिन्छ ।

नाडाभित्र पदाधिकारीबीच चर्किएको विवादको मुख्य दोषी अध्यक्ष करण चौधरी हुन् । काठमाडौं जिल्ला प्रशासनको मध्यस्थतामा भएको संवेदनशील सहमति कार्यान्वयन नगरेको आरोप उनैमाथि छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडाका विवादित दुवै पक्ष चौधरी र आकाश गोल्छा पक्षलाई बोलाएर यथाशीघ्र सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको थियो ।

तर त्यसयता उनीहरूबीच औपचारिक वा अनौपचारिक, कुनै पनि छलफल हुनसकेको छैन । यसबाट संस्था थप विभाजित हुने अवस्था सिर्जना भएको छ । नाडाभित्रको विवादले नाडा अटो शोकमा समेत ठूलै धक्का दिने देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours