०३ साउन, काठमाडौँ । निद्राको समयमा शरीरले आफैं आफ्नो मर्मत गर्ने गरेको वैज्ञानिकहरूले बताएका छन्। निद्राको समयमा शरीरले राम्रा ब्याक्टेरियाहरूलाई सक्रिय राख्ने र रोग प्रतिरोधी क्षमताको विकास गर्ने उनीहरूको भनाइ छ।
सोही कारण निद्रा आनन्दमा मात्र सीमित छैन, राम्रो स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण छ। ‘लोकल सर्कल्स’को अध्ययनबाट उक्त तथ्य सार्वजनिक भएको हो।
निद्राको समयमा मानिसको शरीर अर्कै दुनियाँ अर्थात् अचेतन अवस्थामा हुन्छ- संसारबाट बेखबर, सपनाको दुनियाँमा। निद्राको समयमा शरीर र दिमागको काम गर्ने तरिका विलकुल फरक हुन्छ।
शोधकर्ताहरूको भनाइमा निद्राको समयमा शरीरले आफूभित्रको कमजोरीको लिस्ट बनाउँछ। र, धमाधम मर्मत गर्न थाल्छ। अनि जे बिग्रेको छ, शरीरले धमाधम त्यसलाई बनाउन थाल्छ। अनि सम्भावित खतराबाट लड्ने तयारी गर्छ।
राम्रो निद्राको दौरान शरीरले राम्रो ब्याक्टेरियाको ताकत बढ्छ। सोही कारण कुनै बिरामी व्यक्तिलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिन्छन्।
व्यस्त दुनियाँमा त्यसको सबैभन्दा ठूलो असर गहिरो निद्रामा पर्छ। विगतमा अनिद्राको समस्या बढी उमेरका व्यक्तिहरूमा देखिन्थ्यो। अहिले यो किशोरवयमै देखिन थालेको छ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका न्युरो साइन्टिस्ट म्याथ्यु वाकरले निद्रामाथि पुस्तक नै लेखेको छन्, ‘ह्वाई वी स्लिप’। उनको भनाइमा मानिस निद्राको कमीवाला भयानक महामारीसँग लडिरहेको छ। उनले निद्राको कमीलाई अहिलेको शताब्दीको सबैभन्दा ठूलो स्वास्थ्य समस्या बताएका छन्। उनले जलवायु परिवर्तन, मोटोपन र स्वच्छ पिउने पानीलाई सार्वजनिक स्वास्थ्यका दृष्टिमा तीन ठूला खतरा बताएका छन्। र, अनिद्रालाई चौथो गम्भीर खतरा बताएका छन्।
वैज्ञानिकहरूले निद्रालाई प्रकृतिको सबैभन्दा ठूलो वरदान बताएका छन्। राम्रो निद्राले अर्को दिन जिन्दगीका अनेक चुनौतिहरूसँग लड्न र जीवनको भरपुर आनन्द उठाउनका लागि तयार बनाउँछ। र, शरीरका अंगहरूलाई आराम दिएर दुरुस्त बनाइदिन्छ।
तथापि, धेरै मानिसले अन्जानमै निद्रासँग सम्झौता गर्छन्। र, शरीरलाई अनेकौं रोगको जिम्मा लगाउँछन्। त्यसरी भरपुर निद्रा नलिने मानिस मानसिक रोगी बन्छन्। उनीहरूमा रिस र चिडचिडापन भरिन्छ। यस्ता मानिस आक्रामक हुन्छन्। त्यसबाट विस्तारै दिमागमा असर पर्छ। अल्जाइमरजस्ता घातक रोग लाग्छन्।

राम्रो निद्राका लागि के गर्ने ?
– विद्युतीय ग्याजेट्सका साथमा कमभन्दा कम समय बिताऊँ
– बिहान र साँझपख खुला हावामा टहल्ने बानीको विकास गरौं
– साथीभाइसँग कुराकानी गरौं, उनीहरूसँग आफ्नो मनको कुरा सेयर गरौं
– हल्काफुल्का शारीरिक अभ्यास गरौं
– मदिरा र चुरोटको अम्मलबाट टाढा बसौं
– सुत्नुभन्दा एक घण्टाअघि सावर लिनु लाभदायक हुन्छ
– चिया र कफी कम पिऊँ
– सुत्नुभन्दा २ घण्टाअघि रातिको खाना खाइसकौं
– ओछ्यानमा पुगेपछि मोबाइल र अन्य ग्याजेट्स टाढा राखौं


+ There are no comments
Add yours