क्यूआर कोडबाट भुक्तानी गर्छु भन्दै ठगी गर्ने पक्राउ

१६ जेठ, काठमाडाैँ । क्यूआर कोडमार्फत भुक्तानी गर्छु भन्दै पसलहरूबाट सामान ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सन्धिखर्क बजार आसपासका पसलहरूबाट सामान किनेर क्यूआर कोडमार्फत भुक्तानी गर्छु भनी सामान लिएर फरार हुने मालारानी गाउँपालिका-४, खनका २७ वर्षीय शुभास पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) चक्रबहादुर मल्लले बताए।

सन्धिखर्कको घिमिरे किराना पसलबाट ठगी गरेपछि पोखरेलको अपराध प्रहरीले पत्ता लगाएको हो। घिमिरे किरानाबाट ३७ हजार ७ सय रुपैयाँको सामान लिएर फरार भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले खोजतलास गर्दा मालारानीको लुटिपोखरीबाट ठगी गरेको सामानसहित उनलाई पक्राउ गरिएको हो।

पोखरेलले अन्य पसलहरूमा पनि ठगी गरेको अनुसन्धानबाट खुलेको छ। उनको साथबाट १० थान भरिएको सिलिन्डर, ८ बोरा चिनी, ९ पेटी खाने तेललगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। पोखरेलमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours